ad ad

राजनीति


सहमतिपत्रमा हस्ताक्षर गरिसकेपछि विप्लवले के के भने? (पूर्ण पाठ)

सहमतिपत्रमा हस्ताक्षर गरिसकेपछि विप्लवले के के भने? (पूर्ण पाठ)

नेपालखबर
फागुन २२, २०७७ शनिबार ०:१७,

सरकारसँग तीनबुँदे सहमति भएपछि विद्रोही नेपाल कम्युनस्टि पार्टीका प्रमुख (महासचिव) नेत्रविक्रम चन्द ‘विप्लव’ले काठमाडौंस्थित राष्ट्रिय सभागृहको मञ्चमा उभिएर शुक्रबार (फागुन २१ गते) सम्बोधन गरे।

भूमिगत भएयता पहिलोपटक सार्वजनिक भएका उनले प्रधानमन्त्री केपी शर्मा ओलीसँग एउटै मञ्चमा उभिएर भाषण गरेका हुन्।

अघोषित रूपमा सशस्त्र संघर्ष गरिरहेको पार्टीका प्रमुख (महासचिव) विप्लवले आखिर के के भने त? प्रस्तुत छ- त्यसको पूर्ण पाठ :

नेपाल सरकार र नेपाल कम्युनिस्ट पार्टीबीच सम्पन्न सहमति र हस्ताक्षर समारोहमा उपस्थित वार्ता टोलीका कमरेडहरू, यहाँ उपस्थित सम्माननीय प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष, सम्माननीय उपप्रधानमन्त्री तथा मन्त्रीहरू, माननीयजीहरू !

हाम्रो जनप्रिय पार्टीका केन्द्रीय समितिका सहयोद्धा कमरेडहरू, यो हस्ताक्षर समारोहलाई नजिकबाट स्पर्श गर्नका लागि, यो समारोहमा आफ्नो उत्साहपूर्ण सहमति दिनका लागि उपस्थित पत्रकार बन्धुहरू, सुरक्षा निकायलगायत यो हलबाट बाहिर उपस्थित सबै मित्र र जनसमुदायमा हाम्रो पार्टीका तर्फबाट न्यानो लाल सलाम व्यक्त गर्न चाहन्छु,

आदरणीय र यहाँ सहभागी मित्रहरू ! यो एउटा नयाँ दिन, नेपाली राजनीतिको, नेपाली राजनीतिक आन्दोलनको यो एउटा नयाँ दिन, जो हाम्रो अगाडि उपस्थित छ। यसलाई सफल पार्नका लागि यो ३ बुँदे सहमतिपत्र सफलतापूर्वक तयार पार्ने र यो सहमतिपत्र तयार पार्न सफल वार्ता टोलीका मित्रहररू र कमरेडहरूलाई म हार्दिक बधाई र धन्यवाद दिन चाहन्छु।

सँगसँगै यो पहल गर्ने हाम्रो पार्टी र नेपाल सरकार, साथसाथै जिम्मेवार नेतृत्वगण र यसलाई सफलतातर्फ अग्रसर गराउन धेरै क्षेत्रबाट भूमिका पूरा गर्ने कानुनविद्, राजनीतिकर्मी, पत्रकार बन्धुहरू, साहित्यकार, बुद्धिजीवी, कलाकारहरू, सुरक्षा निकाय सेना प्रहरीका मित्रहरू,

विभिन्न क्षेत्रमा भूमिका पूरा गर्ने हाम्रा कम्युनिस्ट पार्टीका कमरेडहरू, विभिन्न तरिकाले हामीसँग आबद्ध भएर नजिकबाट सुझाव दिने मित्रहरू सबैलाई म यो अवसरमा सम्मान गर्न चाहन्छु।

किनकि यो सहमति केवल नेपाल सरकार र नेपाल कम्युनिस्ट पार्टीको मात्रै कुरा होइन। यो सहमति केवल पार्टीको मात्रै र केही नेताहरूको मात्रै कुरा होइन, यो सहमतिभित्र हाम्रो लुकेको एउटा महान् आकांक्षा छ– नेपाल देशलाई एउटा आत्मनिर्भर, स्वाधीन र सुन्दर देश बनाउने हाम्रो सपना योभित्र छ।

योभित्र देशमा दीर्घ शान्ति, स्थिरता र नेपाली जनताको अहिलेसम्म पूरा नभएको समृद्धिको सपना र नेपालका युवामा हुर्किएको एउटा समृद्ध जीवनको चाहना छ। यसलाई पूरा गर्न हामीले जसरी सम्पूर्ण क्षेत्रबाट सकारात्मक सहयोग पायौं, त्यसमा खुसी छौं र धन्यवाद दिन चाहन्छौं।

अध्याँरो परिवेशमा उज्यालोको सपना देखेर झापाको सुखानीको जंगलमा हाम्रा पाँच जना अग्रजहरूले रगत दिएका थिए। उनीहरूले आफ्नो जीवनलाई नेपाली जनता र नेपालका लागि सहर्ष समर्पित गरेका थिए। उहाँहरूले नेपाली जनताको सुखद् भविष्यका निम्ति आफ्नो जीवन दिनुभएको थियो।

त्योसँग जोडिएको यो दिन, जसलाई हामी सहिद सप्ताह भनेर मनाउने गर्छौं। जनयुद्धमा फागुन १४ मा बलिदानी गर्ने दिलबहादुर रम्तेल र झापाको जंगलमा झुन्डिन र गोली खान तयार पाँच जना अग्रजहरूको सहित जोडेर नेपाली परिवर्तनकारी सहिदहरूको स्मृतिमा हामी सहिद सप्ताह मनाउने गर्छौं।

एउटा संयोग पनि आजै प¥यो– हामी एउटा गाउँमा बस्दै गर्दा हामीलाई सहिदकी आमाले टीका लगाइदिनुभयो र उहाँले भन्नुभयो– आजसम्म धेरैका सपना पूरा भए तर सहिदको चाहना पूरा भइसकेको छैन। नेपालका जनताको चाहना पूरा भएको छैन। हामी दुःखगरी खाने नेपालीहरूको चाहना पूरा भएको छैन। त्यसैले तपाईंहरू त्यहाँ हस्ताक्षर गर्दा यो सम्झेर गर्नुहोला।

हामीलाई उहाँको कुरा सुन्दा हामीले भन्नुपर्ने हुन्छ– हामीभित्र एउटा भावना उम्लिने गर्छ, जुन उद्देश्य लिएर हामी कम्युनिस्ट आन्दोलनमा होमियौं, हाम्रा अग्रजहरू होमिनुभयो। दुःख, नपाउने कम्युनिस्ट नेता छैन। मृत्युको नजिक नपुगेर फर्केको नेता पनि छैन। सबैभन्दा कठिन परिस्थिति र कठिन समय नझेलेको हामीसँग एउटा पनि नेता छैन।

त्यसैले यो अवसरमा हामी सबै आदरणीय सहिदहरूलाई सम्मान गरौं। सहिदका परिवारहरूलाई जानकारी गराऔं कि हामी जे सपना देखेर कम्युनिस्ट आन्दोलनमा लाग्यौं, हाम्रो जीवनलाई बलिदान गर्छौं, तर सहिदका सपना मर्न दिदैंनौं।

हाम्रो त्योे एउटा प्रतिबद्धता छ मित्र, त्यो लिएर म तपाईंहरूको बीचमा उभिएको छु। बेपत्ता र घाइतेको कुरा गर्नुस्, परिवर्तनको आन्दोलनमा घाइते भएर बसेका योद्धाहरूको कुरा गर्नुस्। हामीले सबैलाई सम्झनुपर्छ र सम्मान गर्नुपर्छ र उनीहरूका चाहनालाई पूरा गर्ने प्रतिबद्धता गर्नुपर्छ।

अहिले पनि हाम्रा डेढ सयभन्दा धेरै कमरेडहरू जेलमा हुनुहुन्छ। छुट्नु पनि भएको छ। हाम्रा धेरै साथीहरू छुट्नुहुनेछ भन्ने मलाई विश्वास छ, यो वातावरण बनेको छ। यसका लागि नेपाल सरकार र नेपाल कम्युनिस्ट पार्टी हामी दुवैले एउटा जिम्मेवारी पूरा गरेको अनुभूति भएको छ।

समाजमा चार थरी मानिसहरू देखिन्छन्। एकथरी शोषक र उत्पीडक छन्। अर्को थरी, श्रमिक र उत्पीडित भए पनि बोल्न सक्दैनन्। तेस्रो थरी अलि अलि गुनगुन त गर्छन्, गुनासो त राख्छन् तर उठ्न र जाग्न सक्दैनन्। तर हामी कम्युनिस्ट जतिबेला आफ्ना मान्यताहरूमा घात भएको, आफ्नो देशमाथि अतिक्रमण वा हस्तक्षेप भएको महसुस हुन्छ, हाम्रो देशमाथि कसैले अलिकति गिद्धे दृष्टि लगाउँदा हामी विद्रोह गर्छौं।

हामी विद्रोह गर्ने मान्छेहरू हौं र विद्रोह गर्दै अहिले यहाँसम्म आएका छौं। तर कम्युनिस्टहरू विद्रोह मात्रै गर्दैनन्। जब परिस्थिति बदलिन्छ र राज्यले आफ्नो भूमिका पूरा गरेको अवस्था कम्युनिस्टहरू भनेका शान्तिका दूत पनि हुन्। विद्रोहका योद्धा मात्रै होइनन्, शान्तिका दूत पनि हुन्।

सम्पूर्ण उत्पीडिनलाई मिल्काएर न्यायपूर्ण समाज स्थापना गर्ने विचार, दृष्टिकोण र आकांक्षा कम्युनिस्ट आन्दोलनसँग छ। त्यसैले त्यो आकांक्षासहित हामीले संघर्ष गरेका छौं र आजको परिवेश बदलिएपछि हामीले ३ बुँदेमा नेपाल कम्युनिस्ट पार्टी प्रतिबद्ध छ भनेका छौं। यसलाई हामी पालना गर्छौं। यहाँ कसैले कहींबाट पनि आशंका र विभिन्न ढंगले यसलाई उत्तेजनक वा अर्को ढंगले कुतर्क गर्न जरुरी छैन।

हामी प्रतिबद्ध छौं। हामी यसलाई पालना गर्छौं। हामीलाई के लागेको छ भने नेपाली समाज रूपान्तरणको प्रक्रियामा अघि बढिरहेको छ। लामो यो प्रक्रियामा आउँदा हामीले देखेका छौं कि राज्यको रूपान्तरण, सामाजिक रूपान्तरण र जीवनको रूपान्तरण पुगेको छैन।

हामी यसबारे पहिलो पनि कुरा गर्थ्यौँ। कर्णालीतिर एउटा गीत गाइन्छ– यो कस्तो प्रेम भयो, जुनको र घामको जस्तो, कहिले भेट नहुने’ भनेजस्तो।

जुन र घामको भेट हुँदैन भनेर देउडामा गाइन्थ्यो। हामी त्यस्तै हुन लागेको जस्तो पनि मानिसहरूले अनुमान गर्थे, तर जुन र घामको पनि भेट हुन्छ।

योअगाडि पनि हाम्रो कुरा भएको थियो। मैले इमानदारीपूर्वक प्रधानमन्त्रीसँग आफ्ना कुरा राखेको थिएँ। तपाईंहरूले नेतृत्व गर्नुस्, हामी कसैलाई पीडा दिएर होइन, कसैको भाग खोसेर होइन, कसैमाथि हमला गरेर होइन, हामी नेपाली जनताको श्रममाथि उभिएर आफ्नो देश बनाउन चाहन्छौं। हामी बनाउँछौं। त्यो बनाउने नेतृत्व हामी गरौं।

हाम्रो छलफल चलेको थियो। आज हामी नयाँ परिवेशबाट आएका छौं। नेपाली समाजको रूपान्तरण हुँदै आएको छ, हामी मान्छौं। ०७ सालदेखि अहिलेसम्म खण्डखण्डमा नेपाली समाजको रूपान्तरण भइरहेको छ। तर त्यो पूर्ण भएको छैन।

आज पनि नेपालका मजदुरहरूको स्थान कमजोर छ, आज पनि किसानहरूको स्थिति बेहाल छ, आज पनि दलित, महिला, जनजाति, मधेसी अथवा उत्पीडित समुदाय सन्तुष्ट छैनन्। हामी त्यो देख्छौं। त्यो परिवेशमा हाम्रो भनाइ, जनताको प्रतिनिधि अथवा श्रमजीवी वर्गको प्रतिनिधि हुनुको आधारले जहाँजहाँ हाम्रो असहमति रह्यो, त्यो हामीले दृढतापूर्वक राख्यौं।

संविधान बन्दाको प्रक्रिया भन्नुस् वा नेपालमा व्याख्या गरिएको संसदीय व्यवस्था वा पुँजीवादी बहुदलीय व्यवस्थाको व्याख्या भयो, त्यसमा हामी सहमत छैनौं। अहिलेको सरकारसँगको कुरा होइन यो। हामी यो पूर्ण नेपालको रूपान्तरणको प्रक्रियामा जे–जति छलफल र बहस भए, त्यसमा हामी सहमत हुन सकेनौं, भएनौं र हामीले आफ्नातर्फबाट एउटा विद्रोह गर्‍याैँ।

हामी अगाडि बढ्यौं। हाम्रो भनाइ छ– नेपालमा आज कसैले पनि सुरक्षित अनुभूति गर्ने अवस्था छैन। सबै नेताहरूलाई, सबै पार्टीहरूलाई, सबै जनतालाई आफ्नो जीवनमाथि आफैं हावी भएको, आफैंले नेतृत्व गरेजस्तो अनूभूति भइरहेको छैन।

अहिलेकै भन्नुस् वा जहिलेकै हरेक घटनाक्रममा एउटा ठूलो तरंग नेपाली जनताको बीचमा छ, सायद तपाईंहरू सबैले बुझिसक्नुभएको छ, हामी त एउटा झुपडीभित्र बसेर आयौं। झुपडीमा पनि त्यो छ, सहरमा पनि छ, गाउँमा पनि छ। मेरो विचारमा अन्तर्राष्ट्रियमा पनि छ। नेपालको युवा जहाँजहाँ बेचिएको छ, वा फालिएको छ। सडकमा पुगेको छ वा मजदुरमा परिणत भएको छ, त्यहाँ पनि नेपालीको अनूभूति छ। एकचोटि देश फर्केपछि फेरि आउन नपरोस् भन्ने चाहना हामी त्यहाँ पाउछौं,

यसको अर्थ, हामी के चाहन्छौं भने एकचोटि जसरी हामी प्रयोग गर्दै आएका छौं, यो प्रयोग ठीक होला। तर नयाँ प्रयोग नेपाली इतिहासमा आवश्यक बन्दै गएको छ। हामीले भनेका छौं– जनमत, सार्वभौम सम्पन्न जनता, जनतालाई एकचोटि नयाँ फैसला गर्ने वातावरण बनाउन जरुरी छ।

के चाहन्छन् जनता? के यो दलाल पुँजीवादीहरूको चक्रमा सधैं घुम्नुपर्ने नेपाली जनताको नियति हो? के नेपाली जनताले कहिले पनि स्वतन्त्रतापूर्वक स्टेप चाल्न नपाउने? कहिलेकाहीं राज्यले चाल्दाखेरी पनि नहुने परिस्थिति छ, बन्यो नि? यो त हामीले छर्लङ्ग देखेका छौं। जनताले त सोच्न पाउने ठाँउ नै छैन, कसैले पनि नेपालको बारेमा नजिकबाट अपनत्व ठानेर निर्णय गर्छु भन्दा नपाउने स्थिति जो नेपालमा बनेको छ, यो स्थितिलाई अन्त्य गर्न नेपाली जनतालाई एकचोटि त्यो अधिकार प्रयोग गर्न दिनुपर्छ।

अहिले पनि हाम्रो त्यो दृष्टिकोण छ। नेता, दल सबैलाई हामीले चुन्यौं, आवश्यक पर्दा प्रत्यक्ष ढंगले नेपालको भविष्यको बारेमा जनमत दिने, फैसला दिने अधिकार जनताले पाउनुपर्छ।

हामी यहाँबाट हार्दिकतापूर्वक आग्रह गर्न चाहन्छौं– हामी तयार छौं। युद्धको अन्त्य विश्वमा कसैले गर्छ भने कम्युनिस्टले मात्रै गर्छ। कम्युनिस्ट जुन दिन विजयी हुनेछ, संसारमा हतियार र युद्धको अन्त्य हुनेछ। हाम्रो त्यो विश्वास छ।

हामीले एकचोटि नेपाली जनतामा त्यो आँट गर्नुपर्छ। यसको अर्थ– हामी उत्ताउलो तरिकाले जाउँ भन्ने पनि होइन। तर यसबारे गम्भीरपूर्वक छलफल गर्नैपर्ने हुन्छ। घुम्दै फिर्दै रुम्जाटार पुर्‍याउने र रुम्जाटार पुर्‍याएर घोडामा चढ्ने जो खाले परिस्थिति नेपाली राजनीतिमा देखिन खोज्यो, यसलाई हामीले बदल्न अग्रगामी हुनुपर्छ।

हामी खुला हुनुपर्छ। हामी खुला भएका छौं। हाम्रो पार्टी नेपाल कम्युनिस्ट पार्टी हामी हातेमालो गरेर अघि बढ्न तयार छौं, तर हामी यहीं पनि भन्छौं– कसैले हामीलाई हमला गर्‍याे भने कोही विदेशीले हामीलाई हेप्न खोज्यो भने हाम्रो जीवन यो धर्तीमा गाडिन्छ, तर हामी झुक्ने वा सम्झौता गर्नेछैनौं। हाम्रो यो प्रतिबद्धता छ।

त्यसैले आदरणीय कमरेडहरू, मान्यजनहरू, मित्रहरू सबैलाई विनम्रतापूवर्क आग्रह गर्न चाहन्छु– जुन अवसर आज हामीलाई प्राप्त भएको छ, यसलाई नेपाली जनता, नेपाल राष्ट्रको हितमा सार्थक पारौं। उहाँहरूको स्वर्र्णीम भविष्यका निम्ति सफल पारौं, अवश्य पनि हामी सफल हुनेछौं। हाम्रो पार्टीका तर्फबाट त्यसलाई पालना गर्ने कुरा सबैलाई आश्वस्त पार्दै आफ्ना कुरा टुंग्याउँछु।
धन्यवाद !

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .