परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले राष्ट्रपति विद्यादेवी भण्डारीको आसन्न बंगलादेश भ्रमणबारे संसदलाई जानकारी गराएका छन्।
आजको प्रतिनिधि सभा बैठकमा बोल्दै उनले यही चैत ९ गते राष्ट्रपतिबाट हुनलागेको बंगलादेश भ्रमणबारे जानकारी दिएका हुन्।
बैठकमा मन्त्री ज्ञवालीले सरकारले गरेका कामहरुको फेहरिस्त गरे।
उनले भने, ‘अबको एक महिनाभित्र तामाकोशीको बिजुली बल्नेछ। यो भनेको देशले नयाँ उपलब्धि हासिल गरेको हो।’
त्यस्तै उनले कोभिडविरुद्ध महत्वपूर्ण सफलता प्राप्त गर्ने अवस्थामा पुगेको दाबी गरे।
उनले बाह्य सम्बन्धमा महत्वपूर्ण सफलता प्राप्त पाएको, भारतसँगको सीमा समस्या समाधान गरेको, नेपालको कालापानी, लिम्पियाधुरालाई औपचारिक रुपमा एजेण्डा बनाएको बताए।
उनले भने, ‘आफ्ना राजनीतिक मुद्दा राख्दा कहीँ पनि सम्बन्ध बिग्रिँदैन, बरु गुन्द्रीमुनि लुकाउँदा बिग्रिन्छ। वा झस्केलोबाट अघि बढाउँदा समस्या पर्छ।’
उनले केही दिनअघि मेलम्चीको पानी काठमाडौं खसालिएकोतर्फ संकेत गर्दै काठमाडौंका काकाकूल मानिसलाई पानी खुवाउन पाउनुभन्दा ठूलो अग्रगमन केही नभएको बताए।
त्यस्तै उनले सरकारले संसदमा अध्यादेश पेस गर्न नपाएकोमा संसदको आलोचना समेत गरे।
उनले भने, ‘संसद अग्रगामी एजेण्डामा केन्द्रित होस्, व्यक्तिका अतृप्त आकांक्षाहरुमा घुमेर हामीले यो मूल्यवान समयलाई खेर फाल्नुहुँदैन।’
प्रतिक्रिया