आजको संसद बैठकमा नेपाली कांग्रेसको संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाणले प्रधानमन्त्री केपी शर्मा ओलीको खरो आलोचना गरेका छन्।
नेता खाणले ओली सरकारको पछिल्ला कदमहरुको आलोचना गरेका हुन्।
उनले ओली सरकारले बैठक गर्नुपर्छ भनेर संसद नै भंग गरे पनि सर्वोच्च अदालतले पुनस्थार्पना गरिदिएको बताए।
पछिल्लोपटक संसद पुनर्स्थापना भइसकेपछि सरकारले अध्यादेश समेत पेस गर्न नपाएको परराष्ट्रमन्त्री ज्ञवालीले गुनासो गरेपछि नेता खाणले त्यसको पनि खरो आलोचना गरे।
उनले भने, ‘सरकारले सदनमा बिल ल्याउँदैन, केही अध्यादेश ल्याएको छ जुन जरुरी छ तर पहिलो बैठकमा ल्याउन पाएनौं भनेर रिजर्भेसनमा राख्ने?’
सरकारले ल्याएका केही अध्यादेश राम्रो भएकाले त्यसलाई समर्थन गर्ने पनि उनको स्पष्टोक्ति थियो।
‘एसिड आक्रमणविरुद्धको अध्यादेश जरुरी छ। हामी सहयोग गर्छौँ’, नेता खाणले भने।
त्यस्तै उनले यो सरकारको पालामा सबैभन्दा बढी बलात्कार र हिंसा भएको दाबी गरे। तर उनले तथ्यांक भने पेस गरेनन्।
शान्ति सम्झौता हुँदा केही नेता मलीन थिए
यसैबीच उनले नेपाली कांग्रेस तत्कालीन विद्रोही नेकपा माओवादी र सरकारबीच भएको शान्ति सम्झौताप्रति प्रतिबद्ध रहेको बताएका छन्।
आजको संसद बैठकमा बोल्दै उनले सत्य निरुपण आयोगबारे कांग्रेस गम्भीर रहेको बताए।
‘हाम्रा आदरणीय नेता पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाकै पालामा शान्ति प्रक्रिया अगाडि बढेको हो। यसै हलमा गिरिजाप्रसाद काेइराला र विद्रोही पार्टीका अध्यक्ष कामरेड पुष्पकमल दाहाल प्रचण्डबीचमा बृहत शान्ति सम्झौतामा हस्ताक्षर भएको हो’, उनले भने, ‘त्यो शान्ति सम्झौता र शान्ति प्रक्रियामा हामी पूर्ण प्रतिबद्ध छौँ। अहिले पनि हाम्रो प्रतिबद्धता छ।’
तर, त्यतिखेर यही हलमा अँध्यारो अनुहार लगाएर, मलीन अनुहार लगाएर बसेका केही नेताहरु शान्ति प्रक्रियालाई ध्वस्त पार्न लागेको आरोप लगाए।
उनको यो आरोप प्रधानमन्त्री ओलीतर्फ लक्षित थियो।
‘उहाँहरु अहिले विभिन्न बहानामा यो शान्ति प्रक्रियालाई ध्वस्त गर्न, यसलाई अवरोध गर्न लागिरहनुभएको छ’, ओलीतर्फ संकेत गर्दै उनले भने, ‘समय आयो भने त्यो पार्टीको नाम र नेताहरुको नाम पनि भनूँला। यो विशिष्ट अवस्थामा किन भन्नु!’
अझ स्पष्ट्याउँदै उनले भने, ‘तपाईंहरुलाई पनि थाहै होला, त्यो पुरानो फोटो हेरेपछि थाहा भइहाल्छ। कसको अनुहार मलिनो थियो।’
संविधान संशोधनको प्रस्ताव लिएरै आएका थियौँ
नेता खाणले आफूहरु सरकारमा हुँदै संविधान संशोधनको प्रस्ताव लिएर आएको स्मरण गराए।
‘हामी सरकारमा हुँदा पनि संविधान संशोधनको प्रस्ताव लिएर आएकै हौँ’, उनले थपे, ‘कस–कसले मत दिए, संसदको रेकर्ड हेरे थाहा भइहाल्छ।’
यो संविधानको विकल्प नरहेको उनको भनाइ छ। ‘यसको विकल्प भनेको यही संविधान हो’, खाणले भने, ‘यसलाई बदल्छु, नेपालमा अधिनायकवाद ल्याउँछु, सर्वसत्तावाद लाद्छु, तानाशाह ल्याउँछु भन्ने नेताहरु नेपाललाई तानाशाही तालले चलाउँछु भन्ने नेताहरु नेपालमा असफल भएका छन्।’
उनले ओलीलाई पनि त्यही मार्गमा अगाडि नबढ्न सुझाव दिए।
प्रतिक्रिया