ad ad

राजनीति


संसद् बैठकअघि नै सरकारलाई दिएको समर्थन फिर्ता लिँदै माओवादी, बन्ला वैकल्पिक सरकार?

संसद् बैठकअघि नै सरकारलाई दिएको समर्थन फिर्ता लिँदै माओवादी, बन्ला वैकल्पिक सरकार?

सागर न्यौपाने
चैत १६, २०७७ सोमबार १५:२८,

नेकपा माओवादी केन्द्रले आगामी संसद् बैठकअगाडि नै प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारलाई दिएको समर्थन फिर्ता लिने भएको छ।

प्रतिनिधि सभाको बैठक चैत १८ गते बस्दैछ। प्रधानमन्त्री केपी ओली छिट्टै संसदको चालु अधिवेशन अन्त्य गर्ने तयारीमा छन्।

त्यसैले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बैठकअघि नै समर्थन फिर्ता लिने योजनामा रहेको सोमबार उनलाई भेटेका एक नेताले जानकारी दिए।

‘उहाँले अब बस्ने संसद बैठकअगाडि नै सरकारलाई दिएको समर्थन फिर्ता लिन्छु भन्नुभयो,’ खुमलटार निवासमा प्रचण्डसँग भेटेका ती नेताले नेपालखबरसँग भने, ‘समर्थन फिर्ता लिएपछि राजनीति नयाँ कोर्समा जान्छ भन्ने उहाँको बुझाइ छ।’

माओवादी केन्द्रले समर्थन फिर्ता लिएको अवस्थामा ओलीले विश्वासको मत लिन राष्ट्रपतिबाट समय पाउँछन्। त्यसपछि वैकल्पिक सरकार गठन गर्ने बाटो पनि खुल्ने उनको बुझाइ छ।

ओली सरकारलाई समर्थन दिइरहँदा तल्लो तहमा गएर काम गर्न गाह्रो भएको कार्यकर्ताको भनाइ छ। अर्कोतिर, कांग्रेस र जसपा नयाँ सरकार बनाउन तयार छैनन्। यसले पनि समर्थन फिर्ता लिन प्रचण्डमाथि दबाब बढेको छ।

सर्वाेच्च अदालतले २०७५ जेठ ३ गते एमाले र माओवादी केन्द्र मिलेर बनेको नेकपालाई फागुन २३ गते खारेज गरिदिएको थियो। पूर्ववत् अवस्थामा पुगेको माओवादी केन्द्रले सबै तहको सांगठनिक संरचना निर्माण थाले पनि ओली सरकारलाई दिएको समर्थन भने कायमै राखेको छ।

ओली सरकारलाई दिएको समर्थन पनि कायम राख्ने र अविश्वासको प्रस्ताव पनि ल्याउन खोज्ने माओवादीको दोहोरो चरित्र भएको कांग्रेस र जसपाको आरोप छ।

चैत १४ गते प्रचण्डले सरकारलाई दिएको समर्थन केही दिनभित्रै फिर्ता गर्ने बताएका थिए।

संसदमा माओवादी केन्द्रका ५३ सांसद छन्। एमालेको १ सय २० सांसद छन्। संविधानको धारा ७६ (२) अनुसार प्रधानमन्त्री ओलीले बहुमतको सरकारको नेतृत्व गरिरहेका छन्।

कांग्रेस, जसपा र नेपाल समूहसँग वार्ता
ओली सरकारलाई दिएको समर्थन फिर्ता लिनुअघि अध्यक्ष प्रचण्डले कांग्रेस, जसपा र एमाले (नेपाल पक्ष)सँग निरन्तर छलफल गरेका छन्।

वैकल्पिक सरकार बन्ने निश्चित भएपछि समर्थन फिर्ता लिने योजनामा प्रचण्ड थिए। तर, अविश्वासको प्रस्ताव ल्याउन कांग्रेस तयार नभएपछि प्रचण्डले पहिला समर्थन फिर्ता लिएर कांग्रेसको मुड हेर्न खोजेका छन्।

‘वैकल्पिक सरकार बनाउन निर्णायक कांग्रेस र जसपा हो, उनीहरुले अहिलेसम्म ओली सरकारमा माओवादीको समर्थन रहेकाले निर्णय नगरेको भनेका छन्, उनीहरुको मुभ हेर्ने अध्यक्षको योजना छ,’ स्थायी समिति सदस्य हरिबोल गजुरेलले भने।

उनका अनुसार कांग्रेस र जसपाका नेताहरुसँग कुराकानी भइरहेको छ।

‘कतिपय नेताहरुसँग दोस्रो तहका नेताहरुले र कतिपयसँग अध्यक्ष आफैँले फोन गर्नुभएको छ,’ गजुरेलले भने।

प्रचण्डले सोमबार बिहानै जसपाका अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो र महेन्द्रराय यादव लगायतका नेताहरुलाई टेलिफोन गरेका थिए।

प्रचण्डले होलीको अवसरमा शुभकामना दिन फोन गरेको उनको सचिवालयले दाबी गरेको छ।

ठाकुर र महतो प्रधानमन्त्री ओलीतिर नजिकिएका छन्। माओवादी केन्द्रले समर्थन फिर्ता लिए जसपालाई सरकारमा लगेर बहुमत समर्थन कायम राख्ने ओलीको योजना छ। तर, जसपामा अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई ओलीसँग मिल्न नहुने अडानमा छन्।

एउटै पार्टीमा दुई धार भएपछि जसपा विभाजन हुन नदिन यादव र भट्टराईले दौडधुप गरेका छन्।

कोटेश्वरमा चार नेताको भेट
सोमबार दिउँसो माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र उपाध्यक्ष नारायणकाजी श्रेष्ठले माधव नेपाल र भीम रावलसँग कोटेश्वरमा भेट गरे।

एक नेताका अनुसार व्यवसायी टपेन्द्र तिम्सिनाको घरमा चार नेताबीच लामै छलफल भएको थियो।

त्यसको केहीबेरपछि एमाले अध्यक्ष ओलीले नेपाल र रावललाई ६ महिनाका लागि निलम्बन गरेका छन्।

जसपा शीर्ष बैठक भोलि
पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल गर्न जसपाको शीर्ष नेताहरुको बैठक मंगलबार बस्न लागेको छ। एक नेताका अनुसार शीर्ष नेताको बैठकमा पछिल्लो राजनीतिक अवस्था, जसपाले ओली सरकारसमक्ष अघि सारेको माग र सम्बोधनको लागि भएको पहल लगायतका विषयमा नेताहरुलाई ब्रिफिङ गर्ने तयारी छ।

‘भोलिको बैठकमा वैकल्पिक सरकारबारे एउटा निर्णय गर्ने सम्भावना थियो,’ कार्यकारिणी सदस्यले नेपालखबरसँग भने ‘तर, सरकारले थारु कल्याणकारिणी सभा, थरुहट/थारुवान संयुक्त संघर्ष समितिसँग वार्ता गर्न गृहमन्त्रीको संयोजकत्वमा वार्ता समिति गठन गरेपछि फेरि घटनाक्रम मोडिने भन्ने भयो।’

मन्त्रिपरिषदको बैठकले गृहमन्त्री रामबहादुर थापाको संयोजकत्वमा प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराई र पूर्वसभासद् भगवती चौधरी सदस्य रहेको तीन सदस्यीय वार्ता समिति बनाएको छ।

ओलीले जसपाका नेताहरुलाई आफ्नो पक्षमा पार्न सो समिति बनाएको उनीहरुको बुझाइ छ।

‘यो अरु केही होइन, जसपाका नेताहरुलाई इन्गेज गर्ने प्रयत्न मात्र हो, हाम्रा नेताहरुलाई निर्णय गर्न रोक्ने योजनासहित यो आएको छ,’ ती नेताले थपे।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .