ad ad

राजनीति


माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन अझै केही दिन फिर्ता नलिने

माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन अझै केही दिन फिर्ता नलिने

नेपालखबर
चैत १९, २०७७ बिहिबार ५:५५,

नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन अझै केही दिन फिर्ता नलिने भएको छ।

बिहीबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको नेकपा माओवादी केन्द्रको स्थायी समितिको अनौपचारिक बैठकले यस्तो निर्णय गरेको हो।

बैठकपछि पत्रकारसँग कुरा गर्दै उपाध्यक्ष नारायणकाजी श्रेष्ठले एक/दुई दिनभित्रै स्थायी समितिको बैठक बसेर यसबारे निर्णय लिने बताए।

उनले बैठकमा विभिन्न पार्टीहरुसँग भएको वार्ताका बारेमा ब्रिफिङ गर्ने काम भएको बताए।

उनले अहिले पनि परिस्थिति स्पष्ट नभएको भन्दै स्थायी समिति सदस्यहरुले समय मागेका कारण आज कुनै निर्णय नभएको उपाध्यक्ष श्रेष्ठले बताए।

‘अहिले पनि परिस्थिति अझै स्पष्ट भइसकेको छैन, विभिन्न राजनीतिक पार्टीहरुसँग भएको वार्ताका क्रममा अहिलेको राजनीतिक परिस्थितिमा अगाडि कसरी बढ्ने निर्क्यौल गर्न केही समय माग गर्नुभएको छ’, श्रेष्ठले भने, ‘सबै परिस्थिति हेर्दा हामीले स्थायी समितिको बैठक एकदुई दिनभित्रमा बसेर अहिलेको राजनीतिक घटनाक्रमलाई कता लैजाने, कोर्स कसरी लैजाने भन्ने बारेमा हाम्रो भूमिकाका बारेमा आवश्यक निर्णय लिन्छौँ।’

उनले केपी ओली नेतृत्वको सरकारलाई आफूहरुको कुनै समर्थन नरहेको र प्राविधिक रुपमा पत्र लेख्न मात्रै बाँकी रहेको बताए।

उनले भने, ‘यो सरकारलाई हाम्रो समर्थन छैन। प्राविधिक रुपमा मात्र पत्र लेख्न मात्र बाँकी हो।’

उनले माओवादीले निर्णय नगर्दा कांग्रेस र जसपासमेत अनिर्णयको बन्दी भएको भन्ने पत्रकारको प्रश्नमा कांग्रेस र जसपाले आफ्नै आधारमा निर्णय गर्न आग्रह गरे।

‘हामी सबै राजनीतिक पार्टीहरुलाई आ–आफ्नो कुरा प्रस्ट ल्याउन आग्रह गर्छौं। केपी ओलीकै सरकारमा जानु छ, समर्थन छ भने गरे हुन्छ’, उनले भने।

प्रवक्ता श्रेष्ठले ओली सरकारको विस्थापन र संसद पूरा आयू चल्नुपर्छ भन्ने आफूहरुको मत रहेको बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .