ad ad

राजनीति


चुनाव जितेर शक्तिशाली प्रधानमन्त्री बन्ने यस्तो छ देउवाको रोडम्याप

चुनाव जितेर शक्तिशाली प्रधानमन्त्री बन्ने यस्तो छ देउवाको रोडम्याप

सागर न्यौपाने
चैत २०, २०७७ शुक्रबार १३:२,

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बन्न माओवादी केन्द्र र जनता समाजवादी पार्टीले अनुरोध गरे पनि उनी उत्साहित छैनन्।

आफ्नै पार्टीबाट नयाँ समीकरण बनाएर सत्तामा जानुपर्ने प्रस्ताव आउँदा समेत देउवाले रुचि देखाएका छैनन्।

प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वास प्रस्ताव ल्याउन पटकपटक तयारी भए। तर प्रमुख प्रतिपक्षी दलका नेता तथा वैकल्पिक प्रधानमन्त्रीका मुख्य दाबेदार देउवा नै अघि सरेनन्। त्यसैकारण ओलीलाई सरकारबाट हटाएर नयाँ सरकार बनाउने प्रक्रिया अघि बढ्न सकेको छैन। जसका कारण धेरैले देउवाको आलोचना गरिरहेका छन्।

सत्तालोलुप भन्ने आरोप खेप्दै आएका देउवाले यसरी प्रधानमन्त्री बन्ने अवसर आउँदा पनि अनिच्छा देखाएपछि धेरै आश्चर्यमा परे।

तर उनीनिकट नेताहरु भने पाँचौपटक प्रधानमन्त्री बन्न देउवा लालायित नहुनुका खास कारण छन्।

मुख्य कारण हो- देउवा मंसिरमै चुनाव चाहन्छन्। ओलीले नै चुनाव गराउँदा पनि उनलाई कुनै आपत्ति छैन।

उनीनिकट स्रोतका अनुसार यसपटक देउवा लामो रणनीतिका साथ काम गरिरहेका छन्। त्यसका लागि उनले दुईवटा रोडम्याप बनाएका छन्।

चुनावमा शानदार जित
उनको पहिलो योजना हो– मंसिरमा चुनाव गर्ने र शानदार जित हासिल गर्ने।

त्यसका लागि अहिले कांग्रेसका लागि अनुकूल परिस्थिति बनिरहेको उनले आकलन गरेका छन्।

मंसिरमा चुनाव गराउने गरी ओलीले माहोल बनाइरहेको र त्यसमा कांग्रेसको स्वार्थ मिल्ने देउवाको विश्लेषण छ।

देउवानिकट एक नेताका अनुसार एमाले विभाजनको संघारमा रहेको, माओवादी केन्द्र कमजोर भएको र जनता समाजवादी पार्टी (जसपा) मा पनि दुई धारबीच तीव्र संघर्ष चर्किरहेका बेला चुनावमा सफलता हात पर्ने आकलन गरिएको छ। योजस्तो अनुकूल अवस्था कांग्रेसका लागि हम्मेसी उपलब्ध नहुने उनको ठम्याइ छ।

त्यसमाथि ओली सरकारलाई दिएको समर्थन माओवादी केन्द्रले कुनैपनि बेला फिर्ता लिएपछि ओलीले विश्वासको मत पाउन नसक्ने र नयाँ सरकार समेत बन्न नसक्ने अवस्थामा चुनाव घोषणा हुने देउवाको अनुमान छ। चुनाव मंसिरमै हुने सम्भावना देखेपछि ओली फालेर नयाँ सरकार बनाउन देउवा तम्सिएनन्।

‘सभापतिको चाहना स्थानीय निर्वाचनभन्दा अगाडि मंसिरमै आम चुनाव हुनुपर्छ भन्ने छ,’ देउवाका निकै विश्वासिला एक नेताले नेपालखबरसँग भने, ‘चुनावको माहोल ओलीले बनाइरहेको उहाँले विश्लेषण गर्नुभएको छ।’

नेकपा विभाजन नभई सरकारमा जान नहुने तर्क गर्दै आएका देउवा फागुन २३ को अदालतको आदेशबाट एमाले र माओवादी केन्द्रबीचको‍ एकीकरण रद्द  भएपछि झन् चुनावतर्फ नै एकोहोरिएका छन्।

त्यसपछि उनको योजनामा साथ पुग्नेगरी एमालेसमेत दुई चिरामा विभाजित भएको छ। एमाले विभाजन भएको अवस्थामा चुनावमा जाँदा पार्टीलाई फाइदा पुग्छ भन्ने देउवाको हिसाब रहेको ती नेताले बताए।

पार्टी अनुशासन पालना नगरेको भन्दै ओलीले एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल, उपाध्यक्ष भीम रावल, उपमहासचिव घनश्याम भुसाल र स्थायी समिति सदस्य सुरेन्द्र पाण्डेलाई ६ महिनाका लागि निलम्बन गरिसकेका छन्।

सो निलम्बनपछि नेपाल समूहले देशव्यापीरुपमा समानान्तर समितिहरु बनाइरहेको छ। नेपाल पक्षले नयाँ पार्टी निर्माणको पहल सुरु गरिसकेको छ। कुनै चमत्कार नभए अबको एक महिनाभित्र एमाले औपचारिक रुपमा विभाजन हुने दिशातर्फ उन्मुख छ।

कम्युनिस्टहरु यसरी विभाजित भएकै बेला चुनावमा जाने अवसरलाई गुमाउनै नहुने देउवाको विश्लेषण छ।

‘एमालेको बलियो पक्ष भनेको संगठन हो। पुरानो संगठनका कारण एमालेले हरेक निर्वाचनमा राम्रै मत पाउँदै आएको छ। तर एमालेको संगठन अहिले अस्तव्यस्त भएको हुँदा सो पार्टीको संगठित मत छिन्नभिन्न हुने स्थिति छ। जसबाट कांग्रेसले ठूलो फाइदा लिने अवसर छ,’ हालै केही जिल्ला घुमेर फर्किएका ती नेताले नेपालखबरसँग भने, ‘सभापति देउवाजीले यो कुरा नियालिरहनुभएको छ। परिस्थिति राम्ररी बुझ्नुभएको छ।’

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मंगलबार देउवासँग निवासमै पुगेर भेट गरे।

नयाँ सरकार गठनको प्रक्रिया अघि बढाउन तयार भए ओली सरकारलाई दिएको समर्थन फिर्ता लिने प्रचण्डको भनाइ थियो। तर, देउवाले अहिले नै नयाँ सरकार गठन गर्ने परिस्थिति निर्माण नभएको बताइदिए।

त्यसपछि प्रचण्डले के गर्ने हो एकदुई दिनभित्र निर्णय गर्न समय दिए। बिहीबार बसेको माओवादी केन्द्रको स्थायी समिति बैठकले पनि कांग्रेस र जसपालाई ‘के गर्ने हो छिटो निर्णय गर्न’ आग्रह गर्‍यो।

‘देउवाले कांग्रेसका लागि अहिले निकै अनुकूल अवस्था देख्नुभएको छ, सबै कमजोर भएको बेला मिलेर चुनावमा जाँदा जितिन्छ भन्ने उहाँको रिडिङ छ,’ देउवा निकट अर्का केन्द्रीय सदस्य रमेश रिजालले भने।

उनका अनुसार मंसिरमै हुने चुनावमा जान पछिल्लो समय कांग्रेसका सबै नेता एक मत भएका छन्। यसअघि चुनावको रटान लगाएको भन्दै सभापति देउवाको आलोचना गर्ने नेताहरु समेत केही समययता उनकै लाइनमा आइपुगेको नेताहरुको भनाइ छ।

‘मंसिरमा हुने चुनावमा जानको लागि पार्टीभित्र सबै एकमत हुनुभएको छ, प्रधानमन्त्री ओली र जसपाभित्र पनि महन्थ ठाकुरहरुले चुनावमै जान चाहेकाले यो अवसरलाई कांग्रेसले सदुपयोग गनुपर्ने सभापतिको बुझाइ हो,’ रिजालले भने।

कांग्रेसका सहमहामन्त्री प्रकाशशरण महतले पनि नयाँ सरकार गठनका लागि कांग्रेससँग पर्याप्त संख्या नभएकोले चुनावको तयारीमा जुट्न लागेको बताए।

नयाँ सरकार गठन गर्न हामीसँग संख्या छैन,’ महतले नेपालखबरसँग भने, ‘संख्या नभएपछि अर्काको भर परेर सत्तामा जानुभन्दा चुनावको तयारीमा लाग्नुपर्छ र एक्लै जित्नुपर्छ, सभापति पनि यही चाहनुहुन्छ।’

उनले चुनावको कुनै निश्चित समय भने कांग्रेसले नतोकेको दाबी गरे।

‘यतिखेर चुनाव गराउनुपर्छ भनेका छैनौँ, तोकिएको समयअगावै चुनाव हुनसक्छ भन्ने विश्लेषण चाहिँ गरेका छौं,’ महतले थपे।

तर, त्यसका लागि संसदमा बन्ने समीकरण निर्णायक रहेको उनको भनाइ छ।

‘संसदमा समीकरण कसरी बन्छ भन्ने कुराले चुनावबारे निर्धारण गर्छ, अहिलेसम्मको अवस्था हेर्दा यो संसद पुरै कार्यकाल जान्छ जस्तो देखिएको छैन,’ उनले भने।

अबको चुनावमा शानदार जित हासिल गरेर अघिल्लो पटक पार्टीलाई कमजोर बनाएको आरोपको व्यवहारबाटै खण्डन गर्न चाहन्छन् देउवा।

प्रतिनिधि सभा विघटन गरेपछि ओलीको चौतर्फी आलोचना भयो। सर्वोच्च अदालतले समेत उनको कदमलाई असंवैधानिक भनेपछि उनको राजनीतिक हार भएको छ भने उनीमाथि गम्भीर नैतिक संकट उत्पन्न भएको छ। त्यसैले संसद् विघटन गर्ने आफ्नो कदम राजनीतिक रुपमा सही थियो भनी पुष्टि गर्न ओली लागिपरेका छन्। संसदबाट सरकार बन्न नसकेर फेरि विघटनकै कोर्समा लैजाँदा मात्र उनको राजनीतिक कदमको पुष्टि हुन्छ।

त्यसैगरी, पार्टीको आधिकारिकता, लोकप्रिय निर्वाचन चिन्ह सूर्य आफूसँग रहेको, माओवादी कमजोर अवस्थामा पुगेको र माधव नेपाल पक्ष संगठित नै हुन नपाएको स्थिति र आफू पार्टी संस्थापन र सरकारमै रहेको अवस्थामा ओली निर्वाचनमा जान चाहन्छन्। त्यसैले अहिले ओलीको पुरै रणनीति मुलुकलाई निर्वाचनतर्फ लानेमै केन्द्रित देखिन्छ।

यसमा ओली र देउवा दुवैको सहमति जुटेको देखिन्छ।

शक्तिशाली प्रधानमन्त्री बन्ने चाहना
देउवाको दोस्रो योजना हो– शक्तिशाली प्रधानमन्त्री बन्ने चाहना पुरा गर्ने।

चारपटक प्रधानमन्त्री बनिसकेका देउवालाई पाँचौपटक प्रधानमन्त्री बन्दा फेरि कमजोर सरकारप्रमुख होइन, शक्तिशाली प्रधानमन्त्री बनेर आफ्नो छवि सुधार गर्ने धोको रहेको उनीनिकट नेताहरुको भनाइ छ।

अहिले देउवाले देशभरको वस्तुस्थितिको रिपोर्ट लिइरहेका छन्। आफ्ना विश्वासपात्र नेताहरुलाई प्रदेश र जिल्ला खटाएका छन्।

कांग्रेसले पछिल्ला दिन प्रदेश १ मा झापाबाहेक अन्य जिल्लामा राम्रो अवस्था रहेको र प्रदेश २ का सबै जिल्लामा राम्रो संख्यामा सिट जितिने विश्लेषण भएपछि देउवा हौसिएका छन्।

‘सबैभन्दा बढी सिट जितेर शक्तिशाली प्रधानमन्त्री बन्ने सभापति देउवाको चाहना हो, त्यही भएर उहाँले जसपा र माओवादी केन्द्रसँग समीकरण बनाउनेतर्फ त्यति चासो दिनुभएको छैन,’ देउवानिकट अर्का एक नेताले भने।

प्रधानमन्त्री बनेपछि दुई वर्ष अविश्वासको प्रस्ताव ल्याउन नपाउने अहिलेको संवैधानिक व्यवस्था र राम्रो सिट जिते ५ वर्ष सरकार चलाउन पाउने देउवाले देखेका छन्।

‘१८ महिनाको लागि प्रधानमन्त्री बनेर आफ्नो जनमत घटाउनुभन्दा ८ महिनापछि हुने चुनाव जितेर बलियो प्रधानमन्त्री बन्ने सभापति देउवाको चाहना हो,’ केन्द्रीय सदस्य रिजालले भने।

कांग्रेसको १४औं महाधिवेशन भदौमा गर्नैपर्ने बाध्यता छ। मंसिरमा हुने चुनावले महाधिवेशन प्रभावित होला कि भन्ने आशंका पनि छ।

तर, सहमहामन्त्री महत भने महाधिवेशन कुनै हालतमा नसर्ने दाबी गर्छन।

देउवानिकट नेताहरुका अनुसार कांग्रेससँग अन्य केही पार्टीहरुबीच एकताको प्रयास पनि भएको छ।

पुराना नेताहरु मिलेर २०७४ कात्तिक २ गते हरिबोल भट्टराईको नेतृत्वमा नेपाली कांग्रेस (बीपी) गठन भएको थियो। सो पार्टीसँग एकताको पहल भइरहेको नेताहरु बताउँछन्।

कुनै पार्टीसँग एकता भए तत्काल महाधिवेशन गर्ने मिति सर्न सक्छ।

‘केही पार्टीहरुसँग एकताबारे छलफल भएपनि त्यसैका आधारमा महाधिवेशन सार्ने काम गरिनेछैन,’ महतले दाबी गरे।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .