ad ad

राजनीति


बहसमा सहमतिको सरकार, बन्ला त गतिरोध अन्त्यको विकल्प?

बहसमा सहमतिको सरकार, बन्ला त गतिरोध अन्त्यको विकल्प?

सागर न्यौपाने
चैत ३१, २०७७ मंगलबार १५:८,

‘यस संकटको घडीमा सबै एक भइकन कसरी राष्ट्रिय सहमति गर्न सक्छौँ, चुनावै गर्नुअघि पनि जरुरत पर्छ भने राष्ट्रिय सहमतिको सरकार बनाउन समेत तयार होऔँ,’ सोमबार प्रतिनिधि सभा बैठकमा बोल्दै कांग्रेस सांसद प्रदीप गिरीले भने।

प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वास प्रस्ताव ल्याएर आफ्नै नेतृत्वमा सरकार बनाउनबारे नेपाली कांग्रेसले अलमल गरिरहेका बेला गिरीको यो धारणा आएको छ।

ओलीले संसदको पूर्णकार्यकाल पुरा नहुँदै जसरी पनि चुनाव गराउने रणनीतिमा अघि बढिरहेका बेला सांसद गिरीले राष्ट्रिय सरकार बनाएर भए पनि ओलीको योजना असफल पार्नुपर्ने धारणा राखेका छन्।

‘जुन भावनाले हामीले प्रधानमन्त्रीको एकमनावादी चुनाव गराउने शैलीलाई अस्तिको संविधानमा निरस्त्र गरेका छौँ, त्यसलाई ध्यानमा राख्दै संसदलाई पूरा कार्यकाल चल्न दिऔँ,’ गिरीले संसद बैठकमा भने।

संसदको दोस्रो ठूलो दल कांग्रेसका अधिकांश नेता तथा सांसदहरुले संसदको विघटन गर्ने प्रधानमन्त्री ओलीलाई सरकारबाट हटाउनै पर्नेमा जोड दिइरहेका छन्।

सोहि धारणा झल्किने गरी गिरीले संसदमा आवाज उठाएपछि ‘के राष्ट्रिय सहमतिको सरकार बन्न सक्छ त?’ भन्ने बहस सुरु भएको छ।

ओलीको बहिर्गमनका लागि कांग्रेससँग निरन्तर छलफलमा रहेको नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य हरिबोल गजुरेलले त्यसबारेमा औपचारिक छलफल नभए पनि राजनीति त्यही दिशातर्फ अघि बढेको बताए।

‘त्यसबारे दलहरुभित्र औपचारिक छलफल त भएको छैन,’ गजुरेलले नेपालखबरसँग भने, ‘ओलीलाई हटाउनुपर्छ भनेर निर्णय गरेको कांग्रेसले अविश्वास प्रस्ताव ल्याउन सकेको छैन त्यसैले अब राष्ट्रिय सहमतिको सरकारको कुरा उठ्न सक्छ।’

प्रतिनिधि सभा विघटन गर्ने आफ्नो कदमलाई सर्वाेच्च अदालतले असंवैधानिक भनेर बदर गरे पनि ओलीले पदबाट राजीनामा भने दिएनन्।

उनले नैतिकताका आधारमा सत्ता नछाडेपछि कांग्रेसले अविश्वास प्रस्ताव ल्याएर ओली हटाउनु पर्ने निर्णय गरेको थियो।

गएको बुधबार बसेको कांग्रेस केन्द्रीय समिति बैठकले आगामी सरकार आफ्नै नेतृत्वमा बनाउने निर्णय पनि गरेको थियो।

तर, प्रतिनिधि सभा पुनस्र्थापना, नेकपा विघटन र एमाले पार्टी विभाजनको स्थितिमा पुग्दा प्रधानमन्त्री ओली व्यावहारिक रुपमा निकै अल्पमत परिसकेका छन्। तर पनि राजनीतिक गतिरोध अन्त्य गर्दै कांग्रेसले मुलुकलाई नयाँ राजनीतिक कोर्समा अघि बढाउन नसक्दा अन्यौल बढेको छ।

यहि अन्यौललाई संकटको रुपमा देखेका कांग्रेस सांसद गिरीले राजनीतिक गतिरोध अन्त्यका लागि राष्ट्रिय सहमतिको सरकार बनाउनुपर्ने तर्क अघि सारेका हुन्।

कांग्रेसका सहमहामन्त्री प्रकाशशरण महतले भने कांग्रेस आफैंमा अनिर्णित भएको नभई उसले जसपाको निर्णय कुरिरहेको बताए।

‘जसपाले नयाँ सत्ता समीकरणबारे केही दिनको समय मागेको हुँदा हामी त्यो कुरिरहेका छौं,’ महतले नेपालखबरसँग भने, ‘ओलीको विकल्प खोज्ने कुरामा हामीमात्रै तातेर निकास नआउने हुँदा सबैलाई एक बनाउने प्रयास हो।’

कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले भने ओली हटाउन अन्य दललाई नेतृत्व दिन समेत तयार हुनुपर्ने बताए।

चैत २७ गते एक कार्यक्रममा बोल्दै पौडेलले प्रधानमन्त्री ओलीलाई हटाउनका लागि अन्य दलसँग जस्तोसुकै सम्झौता गरेर भएपनि वर्तमान सरकारको विकल्प खोजेरै छाड्ने दाबी गरे।

‘निरंकुशतातिर गइरहेको यो सरकारको विकल्प खोजी गर्नुपर्छ, त्यसका लागि अन्य पार्टीको नेतृत्वमा सरकार बनाउन पनि इमान्दार प्रयत्न गर्नुपर्छ,’ उनले भने।

तर, सहमहामन्त्री प्रकाशशरण महत भने अन्य दललाई सरकारको नेतृत्व दिन नहुने पक्षमा छन्।

‘रामचन्द्र पौडेल समेत सहभागी भएको केन्द्रीय कार्यसमितिको बैठकले कांग्रेसको नेतृत्वमा सरकार बनाउने निर्णय गरेको हो, अन्य दललाई स्वीकार गर्ने अवस्था छैन,’ महतले भने, ‘पार्टीकै निर्णयविपरीत कसरी जान सकिन्छ?’

यसबारेमा वरिष्ठ नेता पौडेलले भने फरक धारणा राखे।

यस्तै जोखना हेरेर ओलीलाई हटाउने एक अवसर गुमाएकोले अर्काे अवसर पनि खेर फाल्न नहुने पौडेलको भनाइ छ।

‘एउटा अवसर त हामीले पहिल्यै जोखना हेर्दाहेर्दै मिस गरिसकेका छौँ, जुनबेला एमाले र माओवादी केन्द्र बनेका थिएनन्,’ पौडेलले भने, ‘फेरि पनि जोखना हेरेर चान्स मिस गर्ने अनि टाउको समातेर रुने यो कुरा हुँदैन।’

ओली सरकारले चुनाव गराउने संभावन नभएको हुँदा राष्ट्रिय सहमतिको सरकार बन्नतिर घटनाक्रम जानसक्ने केहि नेताहरुको तर्क छ।

यदि त्यसो भएमा जसपाका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई वा जसपाकै अध्यक्ष महन्थ ठाकुरलाई अगाडि सार्नसक्ने संभावना रहेको बताइन्छ।

कांग्रेस नेता डा. शेखर कोइरालाले सोमबार कास्कीमा पत्रकारहरुसँगको कुराकानीमा महन्थ ठाकुरलाई प्रधानमन्त्री बनाउने संभावनातर्फ इंगित गरे।

उनले अहिलेको गतिरोध अन्त्यका लागि ठाकुरलाई प्रधानमन्त्री बनाउने विकल्पमा जान सकिने बताए।

त्यसमा कांग्रेसकै प्रस्ताव हुन्छ वा जसपाले नै प्रस्ताव अघि सार्छ भन्ने निक्र्यौल आगामी घटनाक्रमहरुबाट देखिने जसपाका वरिष्ठ नेता राजेन्द्र महतोले बताए।

‘राष्ट्रिय सहमतिको सरकारका लागि वातावरण बनिसकेको चाहिँ छैन किनभने वैधानिक रुपमा ओली सरकार अहिले पनि बहुमतमै देखिन्छ,’ महतोले नेपालखबरसँग भने, ‘तर गतिरोध अन्त्यको एउटा विकल्पको रुपमा सहमतिको सरकारबारे बहस भने सुरु भएको छ।’

महतोले सर्वदलीय राष्ट्रिय सहमतिको सरकार बनाउन जसपाले सबै विकल्प खुला राखेको बताए। त्यसका लागि आफ्नो पार्टीले पहल गर्ने र नेतृत्वका लागि अग्रसरता देखाउने पनि उनको भनाइ छ।

नयाँ गठबन्धनका लागि सक्रियता देखाएको माओवादी केन्द्र पनि अन्य दलको नेतृत्वमा बन्ने सरकारमा जान खुला रहेको नेताहरुको भनाइ छ।

माओवादी स्थायी समिति सदस्य हरिबोल गजुरेलका अनुसार ओली सरकारको विकल्पमा अन्य जुन पार्टीलाई पनि सहयोग गर्न माओवादी पार्टी तयार रहेको छ।

‘अहिलेको अवस्थामा चुनाव हुने संभावना पनि देखिँदैन। हामी पात्रका बारेमा खुला छौं, ओलीलाई हटाउनुपर्छ पात्र जो भए पनि समर्थन गर्छौं,’ उनले भने।

यसैबीच भारतीय सञ्चारमाध्यमहरुमा पनि नेपालमा अहिले जारी गतिराेधकाे अन्त्य राष्ट्रिय सहमतिकाे सरकार हुनसक्ने धारणाहरु सार्वजनिक हुन थालेका छन्।

सहज छैन सहमतिको सरकार गठन
राष्ट्रिय सहमतिको सरकार गठन गर्न सहज भने देखिँदैन। सो प्रस्तावमा प्रधानमन्त्री ओली समेत सहमत हुनुपर्ने भएकोले सो प्रस्तावलाई कार्यान्वयन गर्न सहज नभएको कांग्रेसकै नेताहरु बताउँछन्।

‘चुनावी सरकारलाई राष्ट्रिय सहमतिको सरकार बनाउने संभावना कम देखिन्छ किनकी प्रधानमन्त्री ओली त्यसमा सहमत नभए के गर्ने?’ कांग्रेसका सहमहामन्त्री महतले भने।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कांग्रेस, जसपाबीच ओलीविरुद्ध अविश्वासको प्रस्ताव ल्याउन सहमति जुटाउने प्रयास गरिरहेका छन्।

त्यो प्रयासमा समेत उनीहरु आपसमै एकमत हुन सकेका छैनन्। कांग्रेस, माओवादी र जसपाबीच आपसी सहमति भई ओलीलाई समेत त्यस्तो प्रस्तावमा सहमत गराउने संभावना निकै कम छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .