भनिन्छ, ‘खुसी एक्लै र विपत्ति लाइन लागेर आउँछ।’
विपक्षीले अविश्वासको प्रस्ताव दर्ता गराएपछि गण्डकीका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङमाथि विपत्ति आइलागेको छ। अल्पमतमा परेका उनी समर्थन खोज्न काठमाडौं पुगेका छन्।
काठमाडौं पुगेकै दिन कर्णाली प्रदेशमा एमालेकै ४ जना सभासदले ‘फ्लोर क्रस’ गर्दै मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको पक्षमा समर्थन जनाए। त्यसको प्रभाव यहाँ पनि पर्ने देखिएको छ। कर्णाली घटनाले उनको कुर्चि झन असुरक्षित भएको छ।
गण्डकीमा एमालेका २७ जना सभासद छन्। तीमध्ये सभासद इन्द्रलाल सापकोटा माधव–झलनाथ समूहका हुन्। कर्णाली प्रकरण दोहोरिएमा इन्द्रलालले पनि ‘फ्लोर क्रस’ गर्नेछन्। उनले फ्लोर क्रस गरे ३ सभासद रहेको जनमोर्चालाई फकाएर सरकार जोगाउने मुख्यमन्त्री गुरुङको योजना थप धराममा पर्न सक्छ।
कर्णालीले ल्याएको तरंगले मुख्यमन्त्री गुरुङ थप संकटमा पर्नसक्ने देखिएको बेला सभासद इन्द्रलाल सापकोटाले भने त्यस्तो अवस्था नआएको बताए।
नेकपा बागलुङका अध्यक्षसमेत रहेका सांसद सापकोटाले अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने कि विपक्षमा अहिल्यै निर्णय गर्ने बेला नभएको बताए।
‘मुख्यमन्त्रीज्यूले विश्वासको मत लिने बेला भएको छैन, मत लिने बेला निर्णय गर्छु’ उनले भने।
एमालेभित्र अहिले देखिएको विग्रह ‘विनासकाले विपरित वुद्धि’ जस्तो भएको भन्दै उनले भने, ‘अहिल्यै विश्वासको मत लिने बेला भइसकेको छैन। यो प्रश्नको जवाफ अहिल्यै दिन सक्दिन।’
त्यसो त, प्रधानमन्त्री केपी ओली समूहले माधव–झलनाथ पक्षकालाई बाहिर राख्दै समानान्तर समितिहरु बनाए पनि बागलुङमा भने अहिलेसम्म त्यसो गरिएको छैन।
सभासद सापकोटाले फ्लोर क्रस गर्नसक्ने सम्भावनालाई ध्यानमा राख्दै त्यसो नगरिएको हो। ओली समूहले बागलुङमा समानान्तर गतिविधि अगाडि बढाउने जमर्को गरेपनि इन्द्रलालले आपत्ति जनाएपछि ओली समूह हच्केको थियो।
माधव–झलनाथ समूहमा खुलेर लागेका उनलाई कारबाही नगर्नुको कारण पनि त्यही हो। त्यसो त राष्ट्रिय जनमोर्चा सरकारको विपक्षमा उभिएको खण्डमा इन्द्रलालले पृथ्वीसुब्बालाई सघाए पनि गण्डकी सरकार ढल्छ।
गण्डकी प्रदेश सभामा नेपाली कांग्रेसका १५, माओवादी केन्द्रका १२, राष्ट्रिय जनमोर्चाका ३ जना र जनता समाजवादी पार्टीका २ जना सांसद छन्। दीपक मनाङले भने स्वतन्त्र सभासदको रुपमा रहेका छन्। यसअघि उनले सरकारलाई सघाएका थिए।
Shares
प्रतिक्रिया