गण्डकी प्रदेशको विशेष अधिवेशन वैशाख १३ गते बस्ने भएको छ। प्रदेश प्रमुख अमिक सेरचनले विपक्षीहरुको माग अनुसार वैशाख १३ गते २ बजेको लागि विशेष अधिवशेन आह्वान गरेका हुन्।
नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीका २८ जना सभासदले वैशाख २ गते बिहीबार विशेष अधिवेशन माग गर्दै प्रदेश प्रमुखको कार्यालयमा लिखित निवेदन दर्ता गराएका थिए। आफूविरुद्ध अविश्वासको प्रस्ताव आउने पक्का भएपछि बुधबार रातमै मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रदेश सभाको चालु सातौं अधिवेशन अन्त्यको सिफारिस गरेका थिए।
प्रदेश प्रमुखले मध्यरातमै मुख्यमन्त्रीको सिफारिस स्वीकृत गर्दै हिउँदे अधिवेशन अन्त्य गरिदिएपछि विपक्षीहरुले भोलिपल्ट सरकारविरुद्ध प्रदेश सभा सचिवालयमा अविश्वासको प्रस्तावसँगै प्रदेश प्रमुखसमक्ष विशेष अधिवेशन माग गरेका हुन्।
प्रदेश प्रमुखले संविधानको धारा १८३ को उपधारा ३ बमोजिम विशेष अधिवेशन आह्वान गरेका हुन्। यसअघि नेपाली कांग्रेस र जनता समाजवादी पार्टीले विशेष अधिवेशनको माग गर्दा प्रदेश प्रमुखले १५ दिनभित्रै अधिवेशन आह्वान गरेका थिए।
विशेष अधिवेशन आह्वानसँगै गण्डकीमा नयाँ सरकारको निर्माणको गतिविधि तीव्र बनेको छ। गण्डकीका मुख्यमन्त्री गुरुङ अहिले अल्पमतमा छन्। २८ सभासद रहेका उनी राष्ट्रिय जनमोर्चाका ३ सभासदलाई आफ्नो पक्षमा पार्न यतिबेला काठमाडौंमा शीर्ष तहका नेता भेट्दैछन्।
प्रतिक्रिया