ad ad

राजनीति


ठाकुर-महतोले देउवालाई चेताएः अंकको भर नपर्नुहोला, धोका हुनसक्छ

ठाकुर-महतोले देउवालाई चेताएः अंकको भर नपर्नुहोला, धोका हुनसक्छ

सागर न्यौपाने
बैशाख २६, २०७८ आइतबार ९:३३,

जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई अंकको आधारमा अघि नबढ्न सुझाव दिएका छन्।

दुवै नेता देउवालाई भेट्न बिहान ९ बजे बुढानीलकण्ठ पुगेका थिए।

‘अंकगणितका आधारमा अघि बढ्दा तपाईंहरुलाई धोका हुन्छ,’ ठाकुरले देउवालाई दिएको सुझाव उधृत गर्दै महतोले नेपालखबरसँग भने, ‘तपाईंलाई महाधिवेशनसम्म यसले असर गर्छ।’

डेढ घण्टा लामो छलफलमा देउवाले आफ्नो नेतृत्वको सरकारलाई समर्थन गर्न आग्रह गरेका थिए।

तर, जसपा तटस्थ बस्ने ठाकुरले बताएका थिए।

‘हाम्रो पार्टीले प्रधानमन्त्रीलाई विश्वासको मत दिँदैन, अब तपाईं पनि अंक गणितको खेलमा लागेर हाम्रो पार्टी फुटाउने प्रयास नगर्नुहोला,’ ठाकुरले देउवालाई भनेका थिए।

जवाफमा देउवाले आफू जसपालाई फुटाउने पक्षमा नरहेको र सिंगो जसपाको धारणा बुझ्न खोजेको बताए।

‘म जसपालाई फुटाउने पक्षमा छैन,’ देउवाले भने।

ठाकुरले देउवालाई किर्ते गणितको भरमा परेर कच्चा खेल नखेल्न पनि सुझाए।

महतोका अनुसार देउवाले बहुमत या पु¥याउने खेलमा समेत आफू नरहेको बताएका थिए।

‘मैले अंकगणितमा विश्वास गरेको छैन, त्यही भएर तपाईंहरुकै साथीहरुले नयाँ सत्ता समीकरणको लागि अघि बढ्न धेरै पटक भन्दा पनि म चुप बसिरहेको छु,’ देउवाको भनाइ महतोले उधृत गरे।

यसअघि बहुमत पुग्ने भरोसामा उम्मेदवार बनेका सुशील कोइराला र रामचन्द्र पौडेल जसरी धोका पाउनेगरी आफू पनि उम्मेदवार बन्ने पक्षमा नरहेको देउवाले बताउँदै आएका छन्।

त्यसैकारण देउवा यसपटक अन्य दलहरुले ओलीविरुद्ध अविश्वास प्रस्ताव ल्याएर प्रधानमन्त्री बन्न प्रस्ताव गर्दा महनौँदेखि आनाकानी गर्दै आएका छन्।

सोही मनस्थितिमा रहेका देउवालाई भेटेर महन्थ र महतोले अंकको प्रसङ्ग ल्याएर थप अन्योल सिर्जना गर्न खोजेको कांग्रेस नेताहरुको बुझाइ छ।

शनिबार बेलुका जसपाका अध्यक्ष उपेन्द्र यादव, वरिष्ठ नेताहरु अशोक राई र राजेन्द्र श्रेष्ठले भने देउवालाई भेटेर जसपाले सर्वसम्मत रुपमा सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए।

उनीहरुको प्रतिबद्धता, माओवादी केन्द्रको साथ र नेकपा एमालेकै माधव नेपाल पक्षले राजीनामा दिने भएपछि देउवाले आफ्नो पक्षमा बहुमत पुग्ने आकलन गरेका छन्।

शनिबार बसेको कांग्रेस संसदीय दलको बैठकले देउवालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने औपचारिक निर्णय नै गरेको छ।

यो पनिः
देउवा कार्ड ‘अर्ली इलेक्सन’ : प्रचण्डसँग छैनन् आश्वस्त, बन्न चाहँदैनन् रामचन्द्र

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .