पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले कोरोना संक्रमण रोकथामका लागि १३ बुँदे अपिल जारी गरेका छन्।
नेकपा एमालेका वरिष्ठ नेता नेपालले आइतबार अपराह्न ‘कोरोना (कोभिड-१९) को बढ्दो संक्रमण रोकथामका लागि अपिल’ जारी गरेका हुन्।
जसमा उनले यी १३ बुँदा उल्लेख गरेका छन् :
१. कोरोनाको भ्याक्सिन खरिदमा कमिसन नमिलेका कारण मुलुकभित्र ल्याउन अवरोध गर्नु मानवताविरोधी कार्य र अपराध हो। सरकारले त्यस्ता पक्षलाई कानुनी दायरामा ल्याएर तत्काल कारबाही गर्न जोडदार माग गर्दछु। साथै कोरोनाको भ्याक्सिनजस्तो जनताको जीवन रक्षाको कुरालाई निजी नाफा र लुटको व्यापारिक उद्देश्यसहित निजी क्षेत्रलाई दिने कार्य तत्काल बन्द गर्न अनुरोध गर्दछु। कोरोना भ्याक्सिन निःशुल्क र सर्वसुलभ हुनुपर्छ, त्यसको प्रबन्ध गर्ने योजना ल्याउन सरकारसमक्ष अनुरोध गर्दछु।
२. देशभरका अस्पतालहरूमा अक्सिजन र शय्या अभावका कारण भयावह अवस्था सिर्जना भएको छ। कोरोना संक्रमण र मृत्युदरमा भइरहेको वृद्धिले भयावह अवस्थाको प्रस्ट चित्रण गर्छ। यसबाट जनमानसमा आक्रोश बढिरहेकोतर्फ सरकारको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छु। अत्यावश्यक अक्सिजन र अन्य उपकरणको तत्काल व्यवस्था गर्न जोडदार माग गर्दछु। नयाँ अक्सिजन प्लान्ट स्थापनाका साथै बन्द अवस्थामा रहेका अक्सिजन प्लान्टहरू तुरुन्त चालु गरी अस्पतालहरूलाई आवश्यक मात्रामा अक्सिजन उपलब्ध गराउने दायित्त्व सरकारको हो।
३. कुन अस्पतालमा शय्या खाली छ, कुनमा छैन भनेर थाह पाउन मुस्किलप्रायः छ। त्यसैले एकीकृत सूचना प्रणालीका लागि बेवसाइट र एप्सलगायतका अन्य सञ्चार प्रबन्ध मिलाउन र सोहीअनुसार सेवा दिन माग गर्दछु। अहिले समाजसेवीलगायत धेरै निकाय तथा संघ/संस्थाहरूले स्वःस्फूर्तरूपमा विभिन्न सेवा प्रदान गरी एम्बुलेन्स, सवारीसाधनको व्यवस्थापन, राहतका कार्यक्रम आदि अगाडि बढाएको देखिन्छ। ती सबै सेवाहरूलाई एकीकृत रूपमा अघि बढाउन आह्वान गर्दछु।
४. कोरोनाको हाई स्पटका रूपमा रहेका क्षेत्रहरूमा कडाइ गरिनुपर्दछ। कन्ट्याक्ट ट्रेसिङलाई बढाउँदै लग्नुपर्दछ। पीसीआर, स्वाब टेस्टिङलगायत विज्ञहरूले सुझाएका पक्षहरूलाई तुरुन्तै कार्यान्वयन गरिनुपर्दछ। संक्रामक रोगका विज्ञहरूलाई समेटेर संयन्त्र बनाई महामारी रोक्ने र स्वास्थ्य सेवा मिलाउने कार्य गरिनुपर्छ।
५. अहिले अस्पतालहरूले धान्न नसक्ने गरी बिरामी बढेका छन्। अस्पताललाई आवश्यक सबैखाले स्रोत साधनहरूको पर्याप्त व्यवस्था गरिनुपर्दछ। आईसीयू, भेन्टिलेटरलगायतका बेडहरू थप्ने कार्य हुनुपर्छ। यसका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय निकाय र संघ/संस्थाहरूलाई आह्वान गर्नुपर्दछ। स्वास्थ्यकर्मीलाई पीपीईलगायतका अत्यावश्यक सामग्रीहरू पर्याप्त मात्रामा उपलब्ध गराउनुपर्छ।
६. स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, राष्ट्रसेवक कर्मचारी आदि जो बिरामीहरूको उपचार कार्यमा संलग्न छन्, उनीहरूको स्वास्थ्य सुरक्षामा विशेष ध्यान पुर्याउनुपर्दछ। उनीहरूलाई १०० प्रतिशत प्रोत्साहन भत्ता र बिमाको प्रबन्ध गरी आफ्नो कार्यमा लाग्न प्रोत्साहित गरिनुपर्दछ।
७. कोरोना नियन्त्रणका लागि प्रत्येक स्थानीय सरकारहरूलाई तत्काल आवश्यक बजेट उपलब्ध गराई क्वारेन्टिन, आइसोलेसन, एम्बुलेन्स र अन्य सवारीसाधन व्यवस्थापनलगायतका पक्ष व्यवस्थित रूपमा गरिनुपर्दछ।
८. धेरैजसो जिल्लामा निषेधाज्ञा जारी भएको अवस्थामा श्रमिक, अति विपन्न र सीमान्तकृत समुदायलाई दैनिक रूपमा छाक टार्न मुस्किल पर्ने हुँदा उनीहरूलक्षित राहत प्रबन्ध गर्न अनुरोध गर्दछु। केन्द्रीय, प्रादेशिक तथा स्थानीय तहमा भए/गरेका सबै खर्च विवरणहरू पारदर्शी बनाउनुपर्दछ।
९. निषेधाज्ञाका समयमा ज्येष्ठ नागरिक, बालबालिका तथा अपांगता भएका व्यक्तिहरूलाई ध्यानमा राखी आवश्यक प्रबन्ध मिलाउन अनुरोध गर्दछु। नवजात शिशु, गर्भवती, सुत्केरी तथा स्तनपान गराउने महिला, मिर्गाैला रोगी तथा क्यान्सरका रोगीहरूलाई अत्यावश्यक सेवा प्रदान गर्ने व्यवस्था मिलाउन अनुरोध गर्दछु।
१०. कालोबजारी अनुगमन र नियन्त्रण गर्न राजनीतिक दल, निजीक्षेत्र, पत्रकार, नागरिक समाज, विभिन्न संघ–संस्थाहरूको एकीकृत संरचना बनाएर प्रभावकारी रूपमा केन्द्रदेखि गाउँसम्म परिचालित हुन अपिल गर्दछु।
११. सामाजिक रूपमा हुने विवाह, पूजा, भेला, बैठक वा सांस्कृतिक कार्य केही समयलाई स्थगन गर्न आह्वान गर्दछु। अस्पतालमा बिरामीको संख्या थपिन नदिन समुदायकै महत्त्वपूर्ण भूमिका छ। स्वास्थ्य सुरक्षाको मापदण्ड समुदायबाटै पूरा भयो भने अवश्य नै अस्पतालमा बिरामीको संख्या घट्नेछ।
१२. कोरोनाका कारण मृत्युवरण गर्नुभएका सम्पूर्ण व्यक्तिहरूप्रति गहिरो दुःख व्यक्त गर्दै परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गर्न चाहन्छु। कोरोनाका कारणले बिरामी हुनुभएका सम्पूर्ण जनसमुदायको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै यहाँहरूको निम्ति स्वास्थ्य व्यवस्था गर्न तथा स्वास्थ्य उपचारमा विशेष ध्यान पुर्याउन सरकारलगायत सरोकारवाला निकायहरूको ध्यानाकर्षण गराउन चाहन्छु।
१३. र, अन्तमा स्वास्थ्य सुरक्षाका सबैखाले मापदण्ड पालना गर्न सम्पूर्ण जनसमुदायमा अपिल गर्दछु।
प्रतिक्रिया