कोरोना संक्रमित सांसदहरुले पनि प्रधानमन्त्री केपी शर्मा ओलीले लिने विश्वासको मतमा मतदान गर्न पाउने भएका छन्।
आइतबार बसेको प्रतिनिधि सभा कार्यव्यवस्था परामर्श समितिको बैठकले कोरोना संक्रमित भएका सांसदहरुलाई सोमबार हुन लागेको मतदानबाट बञ्चित नगर्ने निर्णय गर्दै सोको व्यवस्था मिलाउने निर्णय गरेको हो।
अहिले प्रतिनिधि सभाका २६ सांसदलाई कारोना संक्रमण देखिएको छ। यस्तै बैठकले बाँकी रहेका ६८ जना सांसदले समेत अनिवार्य रुपमा पीसीआर परीक्षण गराउनुपर्ने निर्णय गरेको संसद सचिवालयले जनाएको छ।
बैठकले प्रधानमन्त्रीले विश्वासको मत लिने प्रक्रियालाई भोलि एकैदिनमा सम्पन्न गर्ने अर्को निर्णय गरेको छ।
‘प्रधानमन्त्रीले लिने विश्वासको मतको प्रक्रिया भोलि एकै दिनमा सम्पन्न गर्ने निर्णय गरेको छ,’ सचिवालयका एक अधिकारीले भने।
प्रधानमन्त्री ओलीले बैशाख २७ गते विश्वासको मत लिँदैछन्। सोही कार्यतालिका तय गर्न आइतबार सभामुख अग्नि सापकोटाले कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका थिए।
Shares
प्रतिक्रिया