ad ad

राजनीति


राष्ट्रपतिले नयाँ सरकार बनाउन आह्वान गर्ने, बहुमत जुटाउने कसरतमा देउवा

राष्ट्रपतिले नयाँ सरकार बनाउन आह्वान गर्ने, बहुमत जुटाउने कसरतमा देउवा

सागर न्यौपाने
बैशाख २७, २०७८ सोमबार ६:१५,

आज बिहानसम्म विश्वासको मतका लागि संसदमा जाने कि राजीनामा दिएर ठूलो दलको नेताको हैसियतमा पुनः प्रधानमन्त्री नियुक्त हुने गरी अगाडि बढ्ने भन्ने दोहोरो योजनामा खेलिरहेका प्रधानमन्त्री केपी शर्मा ओली अन्ततः संसद सामना गर्नेतर्फ अग्रसर भएको एमाले नेताहरूले बताएका छन्।

राजीनामा दिएर ठूलो दलको नेताको हैसियतमा पुनः प्रधानमन्त्री बन्न संवैधानिक जटिलतासमेत रहेकाले उनले विश्वासको मत माग्ने र नपाए विपक्षमा बस्ने मनस्थिति बनाएका हुन्।

त्यसैअनुसार ओलीले सोमबार संसदमा विश्वासको मत लिँदै छन्। दिउँसो १ बजे संसद भवन नयाँ बानेश्वरमा विश्वासको मत लिने प्रक्रिया अघि बढ्नेछ।

नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा) को उपेन्द्र–बाबुराम पक्ष र नेकपा एमालेकै माधव नेपाल पक्षले ओलीलाई विश्वासको मत नदिने बताइसकेका छन्। यस्तो अवस्थामा संसदमा रहेको अंकगणितलाई आधार मान्दा ओलीले संसदबाट विश्वासको मत पाउने देखिँदैन।

त्यस्तो अवस्थामा नयाँ सरकार गठनको प्रक्रिया के हुन्छ त?

पूर्वमहान्यायाधिवक्ता तथा प्रधानमन्त्री ओलीनिकट नेता अग्नि खरेलले त्यसपछि राष्ट्रपतिले नयाँ सरकार गठनको लागि आह्वान गर्ने बताए।

‘प्रधानमन्त्रीले संसदमा विश्वासको मत पाए यही सरकार कायम रह्यो,’ खरेलले नेपालखबरसँग भने, ‘नपाए राष्ट्रपतिले नयाँ सरकार गठनको लागि आह्वान गर्ने व्यवस्था छ।’

त्यसो भए राष्ट्रपतिले संविधानको कुन धाराअनुसार कस्तो सरकार बनाउन आह्वान गर्छिन् होला?

‘अहिलेको सरकार संविधानको धारा ७६ (१) अनुसार बनेको हो। फागुन २३ गते सर्वोच्च अदालतले नेकपा भंग गरेपछि यो सरकार स्वतः ७६ (२) मा गएको छ,’ खरेलले तर्क गरे, ‘त्यस आधारमा ७६ (२) अनुसार सरकार गठनको आह्वान गर्ने कि ७६ (३) अनुसार संसदमा रहेको सबैभन्दा ठूलो दललाई सरकार बनाउन दिने भन्ने राष्ट्रपतिको स्वविवेकले निर्णय गर्ने कुरा हो।’

खरेलका अनुसार राष्ट्रपतिले संसदबाट संयुक्त सरकार बन्ने सम्भावना देखे ७६ (२) अनुसार नयाँ सरकार गठन गर्न आह्वान गर्ने देखिन्छ।

‘राष्ट्रपतिले ७६ (२) कै धारा प्रयोग गरेर आह्वान गर्नुहुने देखिन्छ,’ खरेलले थपे।

सोमबार बिहानसम्म पनि प्रधानमन्त्री ओलीले संसदमा विश्वासको मत नलिएर राजीनामा गर्ने र ७६ (३) अनुसार सबैभन्दा ठूलो दलको सरकार बनाउने तयारी गरेका थिए। खरेलको तर्कअनुसार नै अहिलेको सरकारलाई ७६ (२) अनुसारको सरकार भनेर अब राष्ट्रपतिले ७६ (३) अनुसार ठूलो दलको नेताको हैसियतमा ओलीलाई नै प्रधानमन्त्री नियुक्त गर्न सक्ने एमालेका नेताहरूको विश्लेषण थियो।

ओलीनिकट एमालेका एक जना उच्च नेताले त्यसबारे खुलासा गर्दै संसद बैठक सुरु हुनुअघि नै प्रधानमन्त्री ओलीले राजीनामा दिने र साँझ पुनः प्रधानमन्त्रीको शपथ लिने बताएका थिए।

राष्ट्रपति संस्था नै विवादमा तानिने भएपछि राष्ट्रपति विद्यादेवी भण्डारीको समेत सल्लाहमा अन्तिम समयमा आएर प्रधानमन्त्री ओली त्यो योजना स्थगित गरी संसदमा विश्वासको मत माग्न जाने र बहुमत सांसदको विश्वास नपाए विपक्षमा बस्ने मनस्थितिमा पुगेका हुन्।

संसद पुनर्स्थापना गर्दा ओली सरकार संविधानको धारा ७६ (१) अनुसार रहेको नजिर स्थापित भएको र त्यसपछि अर्को सरकार नबनेकाले अहिलेको ओली सरकारलाई ७६ (२) अनुसारको भन्न नमिल्ने संविधानका व्याख्याताहरूको तर्क छ, जसमा अन्तिम समयमा आएर राष्ट्रपति कार्यालय र प्रधानमन्त्री ओली पनि सहमत भएको देखिन्छ।

बिहानसम्म प्रधानमन्त्री ओली विश्वासको मत नलिई राजीनामा गरेर जाने पक्षमा हुनुहुन्थ्यो,’ एमालेका एक नेताले भने, ‘कानुनविदका सुझाव र राष्ट्रपतिले चाल्न मिल्ने प्रक्रियाअनुसार त्यसो गर्न नमिल्ने देखिएपछि प्रधानमन्त्रीले राजीनामा नदिई संसदमा विश्वासको मत लिन लाग्नुभएको हो।’

प्रधानमन्त्री ओलीले विश्वासको मत नपाए आजै नेपाली कांग्रेसले बहुमत सांसदको हस्ताक्षर लगेर नयाँ सरकारको दाबी राष्ट्रपतिसमक्ष पेश गर्ने तयारी छ। तर आज एमालेको माधव नेपाल पक्षले तत्काल राजीनामा नदिने निर्णय गरेकाले नयाँ सरकार गठनका लागि देउवालाई बहुमत पुर्याउन कठिन भएको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .