ad ad

राजनीति


माधव नेपाललाई कानुनविद्को सुझावः राजनीति गर्ने हो भने कुनै हालतमा राजीनामा नदिनुस्

माधव नेपाललाई कानुनविद्को सुझावः राजनीति गर्ने हो भने कुनै हालतमा राजीनामा नदिनुस्

उजिर कार्की
बैशाख ३०, २०७८ बिहिबार १०:३१,

नेकपा एमालेका नेता माधवकुमार नेपाल र उनी पक्षलाई सांसदहरुलाई तत्काल राजीनामा नदिन कानुनविद्हरुले सुझाव दिएका छन्।

बिहीबार नेता नेपालले आफ्नै निवास कोटेश्वरमा वरिष्ठ अधिवक्ता शम्भु थापा, टीकाराम भट्टराई र गोविन्द बन्दीसँग परामर्श लिएका थिए।

वरिष्ठ अधिवक्ता थापाले नेता नेपाललाई कुनै पनि हालतमा राजीनामा नदिन सुझाव दिएको बताए।

‘आज ओलीसँग रिस उठेर देउवालाई प्रधानमन्त्री बनाउन राजीनामा दिने, अनि भोलि देउवासँग रिस उठ्यो भने के गर्ने? राजनीति गर्न कुनै ठाउँ रहन्छ र?’ थापाले नेपालसँगको कुराकानीपछि नेपालखबरसँग भने, ‘त्यही भएर कुनै पनि हालतमा राजीनामा गर्नुहुन्न भनेको छु।’

नेता नेपाललाई सरकार गठनको अबको प्रक्रिया र कानुनी व्यवस्थाबारे सुझाव दिइएको अधिवक्ता भट्टराईले बताए।

‘अहिले बहुमतको सरकार बनेन भने ७६ (३) अनुसार अल्पमतको सरकार बन्छ, त्यसपछाडि फेरि ७६ (५) को कुरा हुन्छ। ७६ (३) को सरकारले विश्वासको मत पाउँदैन,’ कानुनविद्ले नेपाललाई भनेका थिए, ‘त्यो बेला पनि राजीनामा दिने वा केपी ओलीलाई समर्थन गर्ने भन्ने विकल्प बाँकी नै रहन्छ। ठाउँ भएसम्म अहिले नै राजीनामा गर्नु उचित हुँदैन।’

राष्ट्रपतिले गठबन्धनको सरकार बनाउन दिएको समय बिहीबार राति ९ बजे सकिँदैछ। त्यसअघि नै बहुमत पुर्‍याएर दाबी पेस गर्ने कसरतमा नेपाली कांग्रेस र माओवादी केन्द्र छन्।

तर, जनता समाजवादी पार्टी विभाजित हुँदा सरकार नबन्ने भएपछि उनीहरु अप्ठेरोमा परेका छन्। आज बहुमतको दाबी पेस गर्न नसके राष्ट्रपतिले फेरि केपी ओलीलाई नै ७६ (३) अनुसार प्रधानमन्त्रीमा नियुक्ति गर्नेछिन्।

त्यसपछि ओली एक महिनाभित्र संसदमा विश्वासका मत लिनुपर्ने हुन्छ। तर, ओलीको पक्षमा पनि बहुमत नजुट्ने भएकाले अहिले नै राजीनामा नदिन कानुनविदले माधव नेपाल पक्षलाई भनेका हुन्। ओली सरकार ढालेर शेरबहादुर देउवाको नेतृत्वमा सरकार बनाउन माधव नेपाल पक्षकै २८ सांसदले राजीनामा दिने तयारी गरेका थिए।

उनीहरुले यसअघि केपी ओलीलाई विश्वासको मत समेत दिएका थिएनन्। २७ गते ओलीले विश्वासको मत मागेको संसद बैठकमा उनीहरु अनुपस्थित भएका थिए।

नेपाल र ओलीबीच अहिले छलफल भइरहेको छ। ओलीले नेपालसहित चार नेतामाथिको निलम्बन फुकुवा गरिसकेका छन्।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .