ad ad

राजनीति


संसद् विघटन मुद्दा : सरकार पक्षको बहस आज सकिँदै

संसद् विघटन मुद्दा : सरकार पक्षको बहस आज सकिँदै

नेपालखबर
असार १८, २०७८ शुक्रबार ३:५५,

संसद् विघटनसम्बन्धी मुद्दाका विपक्षी राष्ट्रपति र प्रधानमन्त्रीका तर्फबाट आज बहस सकिँदै छ।

महान्यायाधिवक्ताको कार्यालयका सरकारी वकिलपछि बुधबारदेखि निजी वकिलले बहस गरिरहेका छन्।

उनीहरूले आज डेढ घण्टा बहस गरेपछि तोकिएको समय सकिनेछ। त्यसपछि सभामुखका तर्फबाट बहस सुरु हुनेछ।

प्रधानमन्त्री र राष्ट्रपतिका तर्फबाट बहस गर्न अझै १३ अधिवक्ता सूचीमा छन्। उनीहरूमध्ये तीन जनालाई १० मिनेट र १० जनालाई ७ मिनेटका दरले समय तय गरिएको छ।

वरिष्ठ अधिवक्ता रमेश गुरागाईं, विष्णुमणि अधिकारी र अधिवक्ता ईश्वरीप्रसाद भट्टराईका लागि १० मिनेटका दरले बहस गर्न समय तोकिएको छ। त्यसपछि अधिवक्ताहरु भोजराज आचार्य, बाबुराम दाहाल, सीपी रेग्मी, बलबहादुर राई, रुद्रप्रसाद पोख्रेल, शान्तिदेवी खनाल, विष्णुमाया भुसाल, धर्मराज रेग्मी, अनन्त लुइँटेल र लोकनाथ खरेलले क्रमशः ७ मिनेटका दरले बहस गर्नेछन्।

यसअघि १० जनाले बहस गरिसकेका छन्।

उनीहरुको बहस सकिएपछि सभामुखका तर्फबाट कानुन व्यवसायीले बहस गर्नेछन्। उनीहरुका लागि एक घण्टा समय छुट्याइएको भए पनि केही समय थप गर्ने इजलासको तयारी छ।

त्यसपछि पुनः रिट निवेदक पक्षका कानुन व्यवसायीले ३ घण्टा जवाफी बहस गर्नेछन्। जवाफी बहसपछि एमिकस क्युरीलाई राय राख्न २ घण्टा समय तोकिएको छ।

गत जेठ ८ गते सरकारको सिफारिसमा राष्ट्रपतिले संसद् विघटन गरेपछि त्यसविरुद्ध सर्वोच्चमा ३० रिट दर्ता भएका छन्। अहिले शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेका १४६ सांसदको रिटमा सुनुवाइ भइरहेको हो।

मुद्दा सुनुवाइका लागि प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको नेतृत्वमा न्यायाधीशहरु दीपककुमार कार्की, मीरा खड्का, इश्वरप्रसाद खतिवडा र डा. आनन्दमोहन भट्टराई रहेको संवैधानिक इजलास छ।

यो पनि : कित्ता फेरेका वकिलको बहसः पहिले राष्ट्रपतिको निर्णय गलत, अहिले ठिक

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .