प्रधानमन्त्री केपी शर्मा ओली उपचारका लागि सिंगापुरमा रहेका बेला मन्त्रिपरिषद बैठक गर्न मन्त्रिपरिषद बैठक सञ्चालन कार्यविधि परिवर्तन गरियो। २०७६ भदौ ६ गते बिहान भिडियो कन्फरेन्समार्फत् मन्त्रिपरिषद बैठक बस्ने भनेर सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवलय बैठक समेत सार्ने काम भयो।
यी दुवैको उद्देश्य थियो, सिंगापुरमा रहेका प्रधानमन्त्रीले भिडियो कन्फरेन्समार्फत् मन्त्रिपरिषद बैठक सञ्चालन गर्ने।
नेपालको इतिहासमै पहिलो पटक भदौ ६ मा भिडियो कन्फरेन्समार्फत् मन्त्रिपरिषद बैठक बस्यो भनेर प्रधानमन्त्रीका सल्लाहकारहरुले तस्विरहरु सार्वजनिक पनि गरे। प्रविधि उपयोग गरी प्रधानमन्त्री विदेश रहेको अवस्थामा बसेको मन्त्रिपरिषद बैठकका एजेन्डा के के थिए र निर्णय के के भए भन्ने चासो रहनु स्वभाविक नै भयो।
मन्त्रिपरिषद निर्णय सार्वजनिक गर्न सञ्चारमन्त्रीले हरेक साता बिहीबारको दिन मन्त्रिपरिषद बैठकका निर्णय सार्वजनिक गर्ने तालिका छ। सो तालिकाअनुसार भिडियो कन्फरेन्स मन्त्रिपरिषद बैठकका निर्णय सार्वजनिक गर्ने दिन आज बिहीबार हो।
भिडियो कन्फरेन्स मन्त्रिपरिषदले गरेका निर्णयबारे चौतर्फी चासो भइरहँदा सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सो क्याबिनेटले कुनै पनि निर्णय नगरेको जानकारी दिएका छन्।
‘गत साताको पत्रकार सम्मेलनयता मन्त्रिपरिषद बैठकले कुनै निर्णय नगरेकाले प्रत्येक बिहीबार हुँदै आएको पत्रकार सम्मेलन आज स्थिगित भएको सबैमा जानकारी गराउँदछु’, सञ्चारमन्त्रीले ट्विट गर्दै भनेका छन्।
भिडियो कन्फरेन्स क्याबिनेट बैठकका लागि बाटो खुला गर्न प्रधानमन्त्री काठमाडौंबाट बाहिर रहँदा वा विदेशमा रहँदा मन्त्रिपरिषद बैठकमा सहभागी हुने भनेर मन्त्रिपरिष बैठक सञ्चालन कार्यविधि समेत संशोधन गरिएको थियो। भिडियो कन्फरेन्स क्याबिनेटलाई सरकारी अधिकारीहरुले ठूलै उपलब्धिको रुपमा व्याख्या गरेका थिए।
भिडियो कन्फरेन्स मन्त्रिपरिषदको प्राविधिक सुरक्षाबारे समेत चासो व्यक्त भइरहँदा बैठक निर्णयबिहीन रहेको खुलेको हो।
Shares
प्रतिक्रिया