ad ad

राजनीति


सीमा क्षेत्रमा भारतीय ज्यादतीः सडक निर्माणमा सधैँ अवरोध

सीमा क्षेत्रमा भारतीय ज्यादतीः सडक निर्माणमा सधैँ अवरोध

गोकुल जोशी
भदौ १७, २०७६ मंगलबार १२:१७,

भारतसँग जोडिएका कञ्चनपुरका विभिन्न सीमा क्षेत्रमा भारतीय पक्षकोे अवरोधले विकासका गतिविधि प्रभावित बनेका छन्। कञ्चनपुरको पश्चिमी सीमारेखादेखि दक्षिणी तथा पुर्वी सीमारेखामा भारतीय पक्षको दादागिरीले विकासका गतिविधि प्रभावित पारेको हो।

सीमामा नेपालीलाई दुःख दिने गरेको गुनासोकाबीच भारतीयहरुले विकास निर्माणका कार्यमा समेत अवरोध सृजना गर्न थालेका छन्। सीमा क्षेत्रमा पर्ने नेपाली भू–भागमा विभिन्न बहाना झिकेर विकास निर्माणका गतिविधिहरु सञ्चालन गर्न नदिएको स्थानीय तहहरुले जनाएका छन्।

तर नेपाली पक्षले भने भारतीय पक्षबाट हुने ज्यादती रोक्न कुनै कदम नै चाल्न नसकेको स्थानीयहरुको भनाइ छ। यहाँका सुरक्षा सयन्त्रले समेत भारतीय पक्षलाई खबरदारी गर्न नसकेको स्थानीयको गुनासो रहेको छ। जिल्लाका विभिन्न सीमारेखामा जमीन अतिक्रमण र नेपालीमाथीको दुव्र्यवहारको गुनासोकाबीच सीमामा विकासका गतिविधिमा समेत रोक लगाएका छन्।

भीमदत्त नगरपालिकाको गड्डाचौकी, जिमुवा, ब्रह्मदेव लगायतका क्षेत्रका साथै दक्षिणी क्षेत्रका विभिन्न सीमामा विकासको प्रमुख आधार सडक निर्माणमा नै भारतीय पक्षले अवरोध सृजना गरेको छ। जसको कारणले नेपाली पक्षले सडकमा ग्राभेल तथा कालोपत्रे गर्न नै सकेका छैनन्।

भारतले जबरजस्ती नेपाली भू–भाग कब्जा गर्ने मनसायले पटक–पटक दुःख दिने गरेको स्थानीयहरुले गुनासो गरेका छन्। ‘कहिले सडक निर्माण गर्दा त कहिले घर निर्माण गर्दा जहिले दुःख दिने काम भइरहेको छ।’ भीमदत्त नगरपालिका–१० जिमुवाकी निर्मला नेगीले भनिन्, ‘नेपाली पक्षको कमजोरीका कारणले सीमामा बस्ने नागरिकले दुःख पाइरहेका छन्।’ भीमदत्त नगरपालिका, महाकाली नगरपालिका, बेलौरी नगरपालिका र पुनर्वास नगरपालिकाको भारतसँग सीमा जोडिएको भूभागमा त्यहाँ वडा कार्यालयले विकास निर्माणका गतिविधि गर्दा अवरोध हुने गरेको छ।

वर्षौं बित्दा पनि ग्राभेल गर्न दिएन

भीमदत्त नगरपालिका–१० जिमुवा प्रहरी चौकी नजिकै सीमा स्तम्भ ८०६ (६ए) मा भारतीय पक्षले सडकमा ग्राभेल गर्न अवरोध गरेको छ। भारतीय पक्षको अवरोधले गर्दा वर्षौं बित्दा पनि गड्डाचौकीबाट जिमुवा हुँदै ब्रम्हदेव जाने सडकको भारतीय सीमासँग जोडिएको केही भागमा ग्राभेल तथा कालोपत्रे गर्न सकिएको छैन।

उक्त सडकको भारतसंँग सीमा नजोडिएको बाँकी क्षेत्रमा कालोपत्रे भइसकेको छ। तर भारतसँग सीमा जोडिएको जिमुवा प्रहरी चौकी नजिक सीमा स्तम्भ ८०६ (६ए) को झण्डै दुई सय मिटर सडकमा भने ग्राभेल पनि गर्न अवरोध गरिएको छ।

‘सीमा नजोडिएको चौकीको तल र माथी ग्राभेलको साटो कालोपत्रे नै भैसकेको छ। तर यहाँ मात्र दुई सय मिटर सडकमा हालसम्म पनि ग्राभेल समेत गर्न दिएको छैन’ प्रहरी चौकी जिमुवाका प्रमुख जयराज जोशीले भने। सीमाको जिरो प्वाइन्टमा काम गर्न नपाइने भन्दै नेपाली पक्षलाई सडक कालोपत्रे गर्न अवरोध गरेको हो। टनकपुर लिंक रोडमा टनकपुर ब्यारेजदेखि नेपाली सीमासम्मको १२ सय मिटर सडक निर्माण भारतले गर्नुपर्ने हो तर भारतीय पक्षले काम सुरु नै गरेको छैन।

यस्तै निर्माणधीन हुलाकी सडक निर्माण भएको भूमि आफूहरुको भन्दै भारतीय पक्षले दाबी गरेपछि कञ्चनपुरको पचुई हुलाकी सडक खण्डमा कालोपत्रे गर्ने कार्य अघि बढ्न सकेको छैन।

भारती सीमा सुरक्षा बल (एसएसबि)ले बखेडा झिकेपछि बेलौरी नगरपालिकाको पचुई हुलाकी सडक खण्डमा कालोपत्रे गर्ने कार्य अघि बढ्न नसकेको हुलाकी सडक आयोजना धनगढी कार्यालयका सूचना अधिकारी पदमबहादुर मडैले जानकारी दिए। यसै गरी हुलाकी सडकको अन्तिम बिन्दु कञ्चनपुरको दैजी बजार नजिकको बल्मी खोलामा सडक डिभिजन कार्यालयले पुल निर्माणका लागि पहिले नै पिलर खडा गरेकोमा थप निर्माण कार्य अघि बढ्न सकेको छैन।

पुलको थप कार्य अघि नबढ्दा समयमै हुलाकी सडक निर्माण पुरा गर्नमा समस्या देखिने बताइएको छ। कञ्चनपुरको पूर्वी सीमा डोकेबजारदेखि पूर्वपश्चिम राजमार्गमा पर्ने दैजी बजारसम्म निर्माण भैरहेको सडक ६२ किलोमिटर लामो छ। तीन प्याकेजमा बाँडेर निर्माण भैरहेको कञ्चनपुर हुलाकी सडकको निर्माण कार्य आगामी चैत महिनामा सक्ने लक्ष्य लिइएको छ।

यता गड्डाचौकीमा समेत भारतीय पक्षले सडकमा ग्राभेल गर्दा अवरोध सृजना गरेको थियो। त्यसको चार महिनापछि मात्रै सडकमा ग्राभेल गर्न सफल भएको भीमदत्त नगरपालिका–११ का वडाध्यक्ष प्रेमप्रकाश जैसीले बताए। तर कालोपत्रे गर्न भने दिएको छैन।

दशगजामा भारतले कालोपत्रे गर्ने, नेपाललाई नदिने?

sima 3
भारतले विभिन्न बहाना झिकेर सीमा रेखाहरुमा सडक निर्माण तथा ग्राभेल, कालोपत्रे गर्नमा नेपाली पक्षलाई अवरोध गर्दा आफूले भने सीमासम्म अर्थात दशगजा क्षेत्रसम्ममा नै सडक कालोपत्रे गरेको छ।
पश्चिमी सीमानाका समाप्त हुँदा अर्थात सीमा स्तम्भ नम्बर ८०५/१ (७) सम्म नै सडक ग्राभेल मात्रै होइन, कालोपत्रे समेत गरेको छ। तर नेपाली जमीनमा सीमा रेखा जिरो प्वाइन्टमा नै कालोपत्रे र ग्राभेल गर्न नपाउने भन्दै काम गर्न नै दिएको छैन।

जिमुवा, गड्डाचौकी तथा दक्षिणी र पुर्वी सीमा रेखामा कालोपत्रे गर्न दिएको छैन। वडा कार्यालयले सीमाको सडकमा कालोपत्रे गर्ने योजना बनाएपनि भारतीय पक्षले गर्न नदिने भीमदत्त नगरपालिका–११ का वडाध्यक्ष प्रेमप्रकाश जैसीले बताए। भारतीय अधिकारीसँग बुझ्दा भारत सरकारको नियम अनुसार जिरो प्वाइन्टमा काम गर्न नपाइने जवाफ दिने गरेका उनले बताए।

‘आफूले सीमासम्म नै सडक ग्राभेल मात्र होइन, कालोपत्रे नै गर्न पाउने तर नेपालले गर्दा चाहीँ नियमभित्र नपर्ने यो कस्तो ज्यादती हो?’ स्थानीय कमल चन्दले भने। नापीका अधिकारीले सीमा नापी हेरफेर गरेपश्चात् मात्र सीमामा काम गर्न मिल्ने भारतीय पक्षले बताउने गरेका छन्।

नेपाली भूमीमा भारतीय ‘स्ट्याण्ड’

sima 22

नेपाली भूभागलाई भारतीयहरुले आफ्नो सवारी साधन राख्ने स्थानका रुपमा प्रयोग गरेका छन्। भारतीय पक्षले आफ्ना सवारी साधन रोक्नका लागि सवारी साधन स्ट्याण्ड नै नेपाली भूमीका स्थापना गरेका छन्। तर नेपाली पक्षले भारतको पछिल्लो गतिविधिको कुनै प्रतिक्रिया देखाएको छैन।

‘नेपाली भूभागमा नै भारतीय गाडी पार्किङ्गस्थल बनाएर त्यहाँ गाडीहरु राखिएको छ। तर नेपाली पक्षले भने यसबारे केही बोल्न सकेको छैन’ स्थानीय गणेश नेपालीले भने।

नेपाली भूमी समाप्त रेखा अर्थात सीमा स्तम्भ ८०५/१ (७) को नेपाली भूमीतर्फ भारतीय गाडी रोक्नका लागि प्रयोग भएको छ। त्यहाँ भारतीय नम्बरका गाडी पार्किङ्ग गरेको देखिन्छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .