ad ad

राजनीति


कास्कीमा आफ्नै गाउँपालिका भवन तोडफोडको आरोपमा वडाध्यक्ष पक्राउ

कास्कीमा आफ्नै गाउँपालिका भवन तोडफोडको आरोपमा वडाध्यक्ष पक्राउ

वाशुदेव मिश्र
भदौ ३१, २०७६ मंगलबार १५:४३,

आफ्नै गाउँपालिकाको भवन तोडफोड गरेको आरोपमा कास्कीको माछापुच्छ्रे गाउँपालिका वडा नं. १ का वडाध्यक्ष विरेन्द्र गुरुङ पक्राउ परेका छन्। गाउँपालिकाका उपाध्यक्ष तथा कार्यबाहक अध्यक्ष कृष्णकुमारी दवाडीको उजुरीपछि कास्की प्रहरीले मंगलबार पक्राउ गरेको हो।

उनीसँगै स्थानीय विपुल क्षेत्री र वडा नं. २ का सदस्य गणेश आचार्य पनि प्रहरी नियन्त्रणमा छन्। स्थानीय तहको चुनावमा कांग्रेसबाट निर्वाचित वडाध्यक्ष गुरुङले गएको बुधबार गाउँपालिका भवनको बैठक कक्षमा रहेका सामाग्रीहरु तोडफोड गरेको लिखित उजुरी परेको छ।

प्रहरीका अनुसार गाउँपालिका अध्यक्षमा कांग्रेसका तर्फबाट प्रत्यासी उम्मेदवार खुसीमान गुरुङको नाममा पनि किटानी जाहेरी परेको छ। बाँकी ४०/५० जनाको विरुद्धमा पनि प्रहरीमा जाहेरी परेको छ। गाउँपालिका अध्यक्ष कर्ण गुरुङ भने चीन भ्रमणमा छन्। मागेको सूचना नदिएको र आफूहरुले सूचनाको हकको अधिकार प्रयोग गर्दा पनि सूचना नदिएपछि सामान्य भनाभन भएको र राजनीतिक प्रतिशोध साँध्न पक्राउ गरिएको वडाध्यक्ष गुरुङ पक्षधरको दावी छ । गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष नेकपाका हुन् भने वडाध्यक्ष कांग्रेसका।

यसैबीच माछापुच्छ्रे गाउँपालिका वडा १ का वडाध्यक्ष वीरेन्द्र गुरुङ र तरुण दलका विपुल शर्मालाई पक्राउ गरिएकोमा नेपाली कांग्रेस कास्कीले गम्भीर ध्यानाकर्षण जनाएको छ। कास्की कांग्रेसका कार्यवाहक सभापति आइबहादुर गुरुङले मंगलबार जारी गरेको विज्ञप्तिमा पक्राउ गरिएकालाई तत्काल बिनाशर्त रिहा गर्न माग गरेका छन्।

वडाअध्यक्ष वीरेन्द्र गुरुङ, अध्यक्षका प्रत्यासि उम्मेद्वार खुशीमान गुरुङ, वडा नं. ८ का प्रत्यासी वडाध्यक्षका उम्मेद्वार रामबहादुर गुरुङ, नेपाली काँग्रेस क्षेत्र नं. ३ का सहसचिव राजाराम पौडेल सहित ४०/५० जनालाई गाउँपालिका तोडफोड गरेको आरोप लगाइएकोमा आपत्ति जनाइएको छ। ‘माछापुच्छ्रे गाउँपालिकाका गतिविधिप्रति काँग्रेसका तर्फबाट ध्यानाकर्षण गराउदा बेवास्ता गरेपछि भदौ २५ गते सूचनाको हक सम्बन्धी संविधान प्रदत्त अधिकार प्रयोग गरी निवेदन सहित साथीहरु गाउँपालिका गएको’ विज्ञप्तिमा उल्लेख छ।

गाउँपालिकाका अध्यक्ष २ महिनाका लागि विदेश भ्रमणमा रहेकाले कार्यवाहक अध्यक्षको जिम्मेवारीमा रहेकी उपाध्यक्षलाई सूचनाको लागि आएको जानकारी दिदा सभाहलमा बस्न भनेको र ३ घण्टा बढी कुर्दा पनि नआएपछि पुनः बोलाएर छलफल गरी ७ दिन भित्र गाउँपालिकाका सम्पूर्ण सूचना उपलब्ध गराउने भनी सहमतिका साथ छलफल टुङ्गिएको विज्ञप्तिमा जनाइएको छ। तर, २ दिन पछि एकाएक गाउँपालिका कार्यवाहक अध्यक्षको नामबाट माछापुच्छ्रे गाउँपालिकामा तोडफोड भएको भन्दै राजनैतिक प्रतिशोध लिइएकोप्रति विज्ञप्तिमा गम्भीर आपत्ति प्रकट गरिएको छ।

‘जनताकोतर्फबाट गाउँपालिकाका गतिविधि बारेमा सूचना माग्न जाँदा अपमानका साथ तोडफोडको वाहना रची धरपकड र पक्राउ गर्नु अत्यन्तै निन्दनीय र खेदजनक विषय हो’–विज्ञप्तिमा भनिएको छ।

विज्ञप्तिमा गाउँपालिकामा भएका आर्थिक अनियमितता, लाखौ लाख बेरुजु र विकास निर्माणमा भएको ढिलासुस्ती जस्ता जनताका सरोकारका विषयलाई हल्का रुपमा लिएर २ तिहाईको दम्भले उल्टै जनप्रतिनिधिलाई पक्राउ गरी संवाद सहमतिको बाटो अवरुद्ध गर्ने प्रयासप्रति आपत्ति प्रकट गरिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .