ad ad

राजनीति


कास्की उपनिर्वाचनमा साना पार्टीको ठूलो दाउ

कास्की उपनिर्वाचनमा साना पार्टीको ठूलो दाउ

वाशुदेव मिश्र
असोज १०, २०७६ शुक्रबार १२:३१,

संघीय समाजवादी पार्टीसँगको एकतापछि पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईको पोखरा आउजाउ निकै बाक्लिएको छ। पछिल्लो समय पोखरामा आयोजना हुने सामान्य कार्यक्रममा पनि उनको सहभागिता रहन्छ। ‘जातीय मुद्धा’ नछोडेका उनी कहिले अशोक राई त कहिले डा. उपेन्द्र यादवसँगै मञ्चमा देखिन्छन्। गण्डकी प्रदेशको राजधानी पोखरा आउजाउ गर्न सजिलो भएर मात्रै उनको पोखरा आउजाउ बाक्लिएको हैन। हिजो तमुवान राज्य माग गर्ने यहाँका गुरुङहरुको ‘शक्ति’लाई ‘क्यास’ गर्नु उनको भित्री उद्देश्य हो। 

माओवादीले युद्धकालमा उचालेको र बीचैमा छाडेको तमुवानको मुद्धाप्रति गण्डकी प्रदेशका गुरुङहरुको मोह घटेको छैन। तमुवानको माग गर्दै आन्दोलन नै छेडेका उनीहरु अहिले पनि यही नाराले संगठित हुन्छन् भन्ने बाबुरामले बुझेका छन्। त्यसैले, समाजवादी पार्टीका राष्ट्रिय अध्यक्ष समेत रहेका उनले शुक्रबार तमुवान राष्ट्रिय समिति घोषणा गरे। राष्ट्रिय समिति घोषणासँगै उनले कास्कीको आसन्न उपनिर्वाचनबारे कुरा त गरेनन् तर संडक तताउँदै संसदबाट संविधान संशोधन गर्नुपर्ने तर्क गरे ।

कास्कीलाई आधार बनाएको समाजवादी पार्टीले मंसिर १४ गते कास्की क्षेत्र नम्बर २ मा उम्मेदवारी दिने निश्चित छ। पूर्वपर्यटनमन्त्री रवीन्द्र अधिकारीको निर्वाचन क्षेत्रमा यसअघि हातले समातेको मसाल चुनाव चिन्हसहित संघीय समाजवादी फोरमबाट रत्न भट्टचन चुनावी मैदानमा थिइन्। उनले सो चुनावमा ३४० अर्थात कुल मतको ०.७० प्रतिशत मत पाएकी थिइन्। देब्रे आँखा लिएर चुनाव उठेका नयाँ शक्तिका दीपक भण्डारीले २८३ अर्थात ०.५८ प्रतिशत मत पाएका थिए। अघिल्लो चुनावमा पाएको मतले भन्छ, ‘समाजवादी पार्टीलाई चुनाव जित्न सजिलो छैन।’

संगठन बिस्तारको रफ्तार, ठूला पार्टीप्रति टुटेको भरोसा एवं जातीय नाराको बलमा आफ्नो उपस्थिति बलियो बनाउने अभियानमा समाजवादी पार्टी रहेको छ। समाजवादी पार्टी कास्कीका अध्यक्ष गिरिप्रसाद गुरुङका अनुसार पार्टीले आफ्नै उम्मेदवार उठाउने तयारी थालेको छ। पार्टीले अहिले पूर्वप्रशासक रामबहादुर नेपाली, कुलबहादुर भुजेल, धनप्रसाद तामाङदेखि हिजोको नयाँ शक्तिका हेमबहादुर थापासम्मका नामबारे छलफल गरेको छ। उनले केहीअघि नेपाली कांग्रेससँग चुनावी तालमेलबारे छलफल भए पनि त्यो विषय त्यत्तिकै टुंगिएकोले आफैले उम्मेदवारी दिने तयारी गरेको बताए।

यता, अघिल्लो चुनावमा तेस्रो ठूलो पार्टी बनेको विवेकशील साझा पार्टी फुटिसकेको छ। विवेकशीलको पोखरामा खासै चहलपहल छैन तर साझाका अध्यक्ष रवीन्द्र मिश्रको पोखरा आउजाउ पनि उस्तै बाक्लिएको छ। पोखराका संचारउद्यमी महेश भण्डारीलाई गण्डकी संयोजकको जिम्मेवारी थमाएपछि साझाको चर्चा पनि चुलिएको छ। महेशकै क्रियाशिलतामा साझाले यो प्रदेशका सबै जिल्लामा संगठन बिस्तारको काम थालेको छ। केही दिनअघि मात्रै साझाले नेपाली कांग्रेसकी नेतृ रजनी केसीलाई पार्टीमा भित्र्यायो र केन्द्रीय सदस्यकै जिम्मेवारी दियो। कांग्रेस छाडेकी उनलाई कास्की क्षेत्र नम्बर २ को उम्मेदवार बनाउने तयारी साझाको छ। आन्तरिक तयारी यो भए पनि केन्द्रीयस्तरका नेताहरु उठे भने यहाँ रवीन्द्र मिश्रलाई नै चुनावमा उतार्नेसम्मको आन्तरिक रणनीति पनि साझाको रहेको छ। साझाले गएको चुनावमा ८४३ मत ल्याएको थियो। त्यो बेला श्रीकृष्ण श्रेष्ठ पार्टीका उम्मेदवार थिए।

यी दलसहित गएको चुनावमा कास्की क्षेत्र नम्बर २ मा १३ जना उम्मेदवार थिए। नेपाल कम्युनिष्ट पार्टी ( माले), मंगोल नेसनल अर्गनाइजेसन, राष्ट्रिय जनमोर्चा, देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपाल दलित पार्टी, राष्ट्रिय जनमुक्ति पार्टी र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट चुनावमा क्रमशः टेकनाथ भण्डारी, ज्ञानराज गुरुङ, दालकुमार खत्री, कर्णबहादुर पुन, लक्ष्मी विश्वकर्मा, उमा दर्लामी र बालकुमार राईले उम्मेदवारी दिएका थिए। निर्मल खत्री स्वतन्त्र उम्मेदवार थिए। एमाले र कांग्रेसबाहेकका यी दल र स्वतन्त्र उम्मेदवारले ल्याएको मत सबै जोड्दा पनि २ हजार कट्दैन।

साना दलहरुमध्ये नेकपा (माले) ले ५३९ मत ल्याएको थियो। हँसिया तारा चुनाव चिन्ह भएकै कारण पूर्वमाओवादीको भोट त्यहाँ गएको अनुमान छ। यो पटक पुराना साना दलका अलावा अन्य केही स्वतन्त्र उम्मेदवार समेत थपिने हल्ला चलेको छ। ठूला दलबाट टिकट नपाएकाहरु, पार्टीबाट बिरक्तिएकाहरु पनि उम्मेदवार बन्न सक्ने स्वतन्त्र विश्लेषकहरुको आंकलन छ। अघिल्लो चुनावमा यो निर्वाचन क्षेत्रबाट पूर्वपर्यटनमन्त्री रवीन्द्र अधिकारीले आफ्ना निकट्म प्रतिद्धन्द्धी नेपाली कांग्रेसका देवराज चालिसेलाई ८ हजार मतान्तरले हराएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .