ad ad

राजनीति


मंसिर १४ को उपनिर्वाचनका लागि ५३७ मतदान केन्द्र तोकियो

मंसिर १४ को उपनिर्वाचनका लागि ५३७ मतदान केन्द्र तोकियो

नेपालखबर
असोज २४, २०७६ शुक्रबार ७:५३,

आगामी उपनिर्वाचनमा २४७ स्थलमा ५३७ मतदान केन्द्र निर्धारण गरिएको छ।

निर्वाचन आयोगले आगामी मंसिर १४ गते शनिबार सम्पन्न हुने उपनिर्वाचनका लागि ५३७ मतदान केन्द्र तोकेको हो। बढीमा एक हजार एक सय मतदानका लागि एक मतदान केन्द्र रहने गरी आयोगले मतदान केन्द्र निर्धारण गरेको हो।

आयोगका प्रवक्ता एवम् सहसचिव गिरिजा शर्माद्वारा जारी विज्ञप्तिमा उपनिर्वाचन हुने ३७ जिल्लाका सम्बन्धित निर्वाचन क्षेत्रमा कूूल २४७ स्थलमा ५३७ मतदान केन्द्र रहने जनाइएको छ। आठ सय वा सोभन्दा बढी मतदाता रहेका मतदान केन्द्र ३३७ रहेका र आठ सयभन्दा कम मतदाता रहेका केन्द्र २०० रहेका पनि विज्ञप्तिमा उल्लेख गरिएको छ।

सो दिन प्रतिनिधिसभा सदस्य एक, प्रदेशसभा सदस्य तीन, नगरपालिका प्रमुख एक, गाउँपालिका अध्यक्ष तीन, गाउँपालिका उपाध्यक्ष एक र गाउँपालिका तथा नगरपालिका वडाध्यक्ष ४३ गरी कूल ५२ पदका लागि निर्वाचन हुँदैछ। निर्वाचन व्यवस्थापनको तयारी अगाडि बढिरहेको पनि आयोगले सोही विज्ञप्तिमा जनाएको छ।

आयोगले असोज २३ गते उपनिर्वाचनका लागि अन्तिम मतदाता नामावलीसमेत स्वीकृत गरेको थियो। विज्ञप्तिमा अन्तिम मतदाता नामावली तयार गर्ने सिलसिलामा उपनिर्वाचन हुने ३७ जिल्लाका स्थानीय तहका १५५ वडामा मतदाता नामावली ऐन, २०७३ बमोजिम मतदाता नामावली अध्यावधिक (दाबी विरोध) कार्यक्रम सञ्चालन गरिएको उल्लेख गरिएको छ।

मतदाता पुरुषभन्दा महिला बढी

उपनिर्वाचन हुने निर्वाचन क्षेत्रमा कूल मतदाता चार लाख ५४ हजार ११४ रहेको छन्। तीमध्ये महिला मतदाता दुई लाख ३३ हजार ४०२, पुरुष मतदाता दुई लाख २० हजार ७१० र अन्य लिङ्गी मतदाता दुई जना रहेका छन्।

प्रतिनिधिसभा सदस्यको निर्वाचन हुने कास्की जिल्ला निर्वाचन क्षेत्र नं २ मा ७१ हजार ८७१, प्रदेशसभा सदस्यको निर्वाचन हुने भक्तपुर, बाग्लुङ र दाङका सम्बन्धित निर्वाचन क्षेत्रमा क्रमशः ४५ हजार १५, छत्तीस हजार ९२६ र त्रिहत्तर हजार १७२ जना मतदाता रहेका छन् । मतदाता नामावलीसम्बन्धी विवरण निर्वाचन आयोगको वेबसाइटमा समेत हेर्न सकिने आयोगले जनाएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .