अधिवेशन स्थलमै दुई गुटबीच कुटाकुट भएपछि स्थगित नेकपा एमाले धादिङको नवौँ जिल्ला अधिवेशनको बन्दसत्र आगामी फागुन १ गते मात्रै सुरु हुने भएको छ।
अध्यक्ष मण्डलका अध्यक्ष धर्मदत्त देवकोटाले मंगलबार विज्ञप्ति जारी गर्दै अवरुद्ध अधिवेशनको बन्दसत्र आगामी फागुन १ गते मंगलबारबाट सुरु गर्ने जानकारी गराएका हुन्।
अध्यक्ष देवकोटाले अधिवेशन सम्पन्न गराउन केन्द्रीय संगठन विभागले आवश्यक सबै कामहरूमा निर्देशन एवं सहजीकरण गर्नेसमेत जनाएका छन्।
‘धादिङको नवौं जिल्ला अधिवेशनको २०८० माघ २१ गते देखि शुरु भएको बन्द सत्र आन्तरिक तयारी गर्नुपर्ने भएकोले रोकिँदै आएकोमा २०८० माघ २३ गते नेकपा एमाले केन्द्रीय संगठन विभागको अधिवेशन स्थगित कार्वाही सुचारु गर्नेबारे प्राप्त पत्रका आधारमा २०८० फागुन १ गते ११ बजेबाट बन्द सत्र पुनः सुचारु हुने जानकारी गराउँदछु,’ अध्यक्ष मण्डलका अध्यक्ष देवकोटाद्वारा जारी विज्ञप्तीमा उल्लेख छ।
अधिवेशन सम्पन्न गराउन केन्द्रीय संगठन विभागले आवश्यक सबै कामहरुमा निर्देशन एवं सहजीकरण गर्ने उनले बताएका छन्।
अधिवेशनका क्रममा विवाद भएर हात हालाहालको अवस्था आएपछि अध्यक्ष केपी शर्मा ओलीले बागमती प्रदेश इन्चार्ज गुरू बराल, अध्यक्ष मण्डलका अध्यक्ष धर्मदत्त देवकोटा र हालका अध्यक्ष भूमि त्रिपाठीसहितका नेतालाई काठमाडौँ बोलाएर अधिवेशन नरोक्न निर्देशन दिएका थिए।
एमाले धादिङमा ओली निकट दुई गुटको लडाइँले अधिवेशन प्रभावित भएको जिल्लाका एमाले नेताहरुको भनाइ छ। अध्यक्षमा हालका अध्यक्ष भूमि त्रिपाठी र नेता डा.रामकुमार अधिकारी आकांक्षी रहेका छन्।
Shares
प्रतिक्रिया