प्रतिनिधि सभातर्फ लुम्बिनी प्रदेशका कतिपय क्षेत्रको नतिजा आइसकेका छन्। बाँकी ठाउँमा मत गणना जारी छ। केन्द्रीय नेता तथा हेभिवेटहरूको मत गणनालाई चासोका साथ हेरिएको छ।
गुल्मी क्षेत्र नम्बर १ को एउटा केन्द्रमा पुनः मतदान भएर बुधबार गणना सुरु भएको छ। यो क्षेत्रमा नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवाली र कांग्रेसका नेता चन्द्र भण्डारीबीच प्रतिस्पर्धा हुँदै छ। पछिल्लो परिणामअनुसार भण्डारी १० हजार ६६३ मत ल्याएर अगाडि छन्। ज्ञवालीले १० हजार ६३९ मत ल्याएका छन्।
पाल्पा क्षेत्र नम्बर २ मा एमाले केन्द्रीय सदस्य ठाकुर गैरेले एकीकृत समाजवादीका सोमप्रसाद पाण्डेलाई पछि पारिरहेका छन्। गैरेले १७ हजार ७०३ मत ल्याउँदा पाण्डेले १४ हजार १४३ मत पाएका छन्।
नवलपरासी पश्चिम क्षेत्र नम्बर १ मा कांग्रेसका विनोद चौधरीले फराकिलो अग्रता कायम गरेका छन्। चौधरीले २० हजार ४१६ मत पाउँदा जनता प्रगतिशील पार्टीका हृदयेश त्रिपाठीले १५ हजार ३६९ मत ल्याएका छन्।
यता रुपन्देही क्षेत्र नम्बर २ मा विष्णु पौडेलले प्रतिस्पर्धीको कडा सामना गर्नुपरेको छ। पौडेल राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पौडेलभन्दा ८६३ मतले अघि छन्। विष्णुले १४ हजार ५९० मत ल्याउँदा गणेशले १३ हजार ७२७ मत पाएका छन्। यस्तै राष्ट्रिय जनमुक्ति पार्टीका केशबवहादुर थापाको ११ हजार ५१४ मत आएको छ।
रुपन्देही क्षेत्र नम्बर ३ मा गृहमन्त्री तथा कांग्रेस नेता बालकृष्ण खाण र राप्रपाका वरिष्ठ उपाध्यक्ष दीपक बोहोराबीच कडा प्रतिस्पर्धा देखिएको छ। खाणले १७ हजार ४७४ मत ल्याउँदा बोहोराले १६ हजार ८०९ मत पाएका छन्।
रुपन्देही १ मा एमाले सचिव छविलाल विश्वकर्माले गठबन्धनतर्फका उम्मेदवार घनश्याम भुसाललाई पछि पारिरहेका छन्। विश्वकर्माले ८ हजार ४०२ मत प्राप्त गर्दा भुसालले ६ हजार ८५३ मत ल्याएका छन्।
उता दाङ क्षेत्र नम्बर २ मा एमाले महासचिव शंकर पोखरेल पनि निकै जोखिममा देखिएका छन्। उनी माओवादी केन्द्रकी रेखा शर्मासँग केही मतान्तरले पछि छन्।
Shares
प्रतिक्रिया