ad ad

राजनीति


कोइरालाले लिए पण्डितसँग अघिल्लो हारको बदला

कोइरालाले लिए पण्डितसँग अघिल्लो हारको बदला

नेपालखबर
मंसिर ९, २०७९ शुक्रबार ८:१८, विराटनगर

मोरङ- ६ बाट प्रतिनिधिसभामा विजयी भएर नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले एमाले नेता लालबाबु पण्डितसँग अघिल्लो निर्वाचनको हारको वदला लिएका छन्।

०७४ को निर्वाचनमा पण्डितसँग पराजित भएका कोइरालाले यो निर्वाचनमा उनै पण्डितलाई पराजित गर्दै संसदको यात्रा तय गरेका हुन्। 

कोइरालालाई यस पटकको निर्वाचनमा गठबनधनको साथ थियो। गठबन्धनकै बलमा उनले पण्डितसँग अघिल्लो निर्वाचनको हारको बदला लिएका छन्।

बुवा केशव कोइराला र आमा नोना कोइरालाका छोरा शेखरको जन्म ९ भदौ २००७ मा विराटनगरमा भएको हो।

राजनीतिक परिवारमा जन्मिएका शेखर कोइरालाले नेपाली कांग्रेसबाट राजनीतिक यात्रा  सुरु गरेका हुन्।

विराटनगरको महेन्द्र मोरङ क्याम्पसमा पढ्दादेखि नै राजनीतिमा सक्रिय कोइराला लगायतका विद्यार्थीले त्यतिबेला मोरङ क्याम्पसको नाम अगाडि राजा महेन्द्रको नाम थप्दा विरोध जनाएका थिए। 

कोइरालाले चिकित्सकका रुपमा  कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र वीर अस्पतालमा काम गरिसकेका छन्। वीपी कोइराला भारत निर्वासनबाट फर्किँदा शेखर पक्राउ परेर तीन महिना जेल बसेका थिए।

पेशाले फिजिसियन कोइरालाले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको शिक्षा अध्यक्ष र उपकुलपति भएर काम गरे। अवकास हुन एक वर्ष मात्रै बाँकी छँदा कोइराला चिकित्सक पेशा छोडेर पार्टीको पूर्णकालीन राजनीतिमा होमिएका थिए।

कोइराला २०६४ सालको संविधानसभा निर्वाचनमा मोरङ क्षेत्र नम्बर ७ बाट तत्कालिन मधेसी जनअधिकार फोरम, नेपालका उम्मेदवार विजयकुमार गच्छदारसँग पराजित भएका थिए।

गच्छदारले सो क्षेत्र छोडेपछि भएको उपनिर्वाचनमा कोइराला १२ हजार ७१ मत प्राप्त गरी विजयी भएका थिए। २०७० सालको चुनावमा पनि कोइराला १२ हजार ९ सय मत प्राप्त गरी सोही क्षेत्रबाट विजयी भएका थिए। ०७४ को प्रतिनिधिसभा सदस्य निर्वाचनमा भने उनी एमाले उम्मेदवार पण्डितसँग पराजित भएका थिए।

त्यतिबेला उनी मोरङ ६ मा पण्डितसँग ६७५ मतान्तरले पराजित भएका थिए ।त्यतिबेला लालबाबु पण्डितले ३३ हजार ९४१ मत प्राप्त गर्दा कोइरालाले ३३ हजार २६६ मत प्राप्त गरेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .