सोमबार दिउँसो १ बजेसम्म निर्वाचन आयोगको तथ्यांकमा प्रतिनिधिसभा समानुपातिकतर्फ ९३ लाख २१ हजार ५ सय ५३ मत गणना भइसकेको छ। आयोगका अनुसार कूल मतदाता १ करोड ७९ लाख ८८ हजार ५ सय ७० रहेकामा ६१ प्रतिशत अर्थात् १ करोड ९ लाख ७० हजार मत खसेको छ। अहिलेसम्मको आकलनअनुसार ३ लाख मत बदर भएको छ। जसअनसार कूल सदर मतको संख्या १ करोड ६ लाख ७० हजार हुन्छ।
अब कूल सदर मत १ करोड ६ लाख ७० हजारबाट गनिसकिएको मत ९३ लाख २१ हजार ५ सय ५३ घटाउँदा १३ लाख ४८ हजार ४ सय ४७ हुन्छ। अर्थात् अब गन्न बाँकी मत यही संख्याको आसपास छ।
यतिबेलासम्म समानुपातिकमा पहिलो स्थानमा रहेको नेकपा एमालेले २५ लाख ३८ हजार ३ सय ४१ मत ल्याएको छ भने दोस्रो नम्बरमा रहेको नेपाली कांग्रेसले २४ लाख २ हजार ९ सय ८८ मत पाएको छ।
आयोगको तथ्यांकअनुसार नेकपा माओवादी केन्द्रले १० लाख ६६ हजार ६ सय ४१, राष्ट्रिय स्वतन्त्र पार्टीले १० लाख ६४ हजार २ सय ५२ तथा राष्ट्रिय प्रजातन्त्र पार्टीले ५ लाख ४५ हजार ९ सय ३३ समानुपातिक मत प्राप्त गरेका छन्।
यसैगरी जनता समाजवादी पार्टी (जसपा) ले अहिलेसम्म ३ लाख २७ हजार ९ सय १० मत पाएको छ। अर्थात् उल्लिखित ६ दल राष्ट्रिय दल बन्ने पक्का भइसकेको छ।
जनमत पार्टी र नेकपा एकीकृत समाजवादी पनि थ्रेसहोल्ड कटाउन संघर्षरत छन्।
अहिलेसम्म जनमतले २ लाख ६४ हजार ४२ र एकीकृत समाजवादीले २ लाख ५२ हजार ६ सय ९८ समानुपातिक मत ल्याएका छन्।
थ्रेसहोल्ड कटाउन मत ३ लाख २० हजार नाघ्नुपर्छ।
प्रतिनिधिसभा प्रत्यक्षतर्फ कम्तीमा एक सिट जितेर समानुपातिक कूल सदर मतको ३ प्रतिशत थ्रेसहोल्ड कटाउने दलले राष्ट्रिय दलको मान्यता पाउँछन्।
Shares
प्रतिक्रिया