ad ad

राजनीति


चीनको चेतावनीबीच ताइवानमा राष्ट्रपति र संसदीय चुनाव

चीनको चेतावनीबीच ताइवानमा राष्ट्रपति र संसदीय चुनाव

बायाँबाट क्रमशः वेन–जे, होउ यु–इह र विलियम लाइ


नेपालखबर
पुस २८, २०८० शनिबार ८:३४, काठमाडौँ

चीनको चेतावनीबीच ताइवानमा आज (शनिबार) राष्ट्रपति र संसदीय निर्वाचनका लागि मतदान भइरहेको छ। जसमा देशका १ करोड ९५ लाख मतदाता सहभागी हुँदै छन्। 

वर्तमान राष्ट्रपति साई इङ-वेनले आफ्नो दुई कार्यकाल पूरा गरिसकेकाले यस निर्वाचनबाट ताइवानले नयाँ राष्ट्रपति पाउने निश्चित छ। किनकि नियमअनुसार अब उनी तेस्रोपटक राष्ट्रपतिमा निर्वाचित हुन सक्दैनन्।

सत्तारुढ ‘डेमोक्रेटिक प्रोग्रेसिभ पार्टी’ (डीपीपी) ले आफ्ना नयाँ अध्यक्ष तथा वर्तमान उपराष्ट्रपति विलियम लाइलाई राष्ट्रपतिको उम्मेदवार बनाएको छ। उनलाई ताइवानको स्वतन्त्रताको कट्टर समर्थक मानिन्छ।

विपक्षी दल ‘कुमिन्टाङ’ (केएमटी) ले न्यु ताइपेईका मेयर होउ यु–इहलाई उम्मेदवार बनाएको छ। हौ यु–इह चीनसँग घनिष्ठ सम्बन्धको पक्षमा छन्। यद्यपि उनको पार्टीले ‘चीन समर्थक’ भएको कुरा अस्वीकार गरिरहेको छ। केएमटीले आजको मतदानलाई ‘शान्ति र युद्धबीचको चुनाव’ भनेको छ। 

यस्तै ‘ताइवान पिपुल्स पार्टी’ (टीपीपी) ले को वेन–जेलाई उम्मेदवार बनाएको छ।

चीनले के भन्यो?
ताइवानको यो चुनावले देशको राजनीतिक भविष्य मात्र होइन, चीनसँगको सम्बन्ध पनि तय गर्नेछ।

गठन भएदेखि नै ताइवानलाई आफ्नो देशको हिस्सा दाबी गरिरहेको चीनको परराष्ट्र मन्त्रालयले मतदानको एक दिनअघि शुक्रबार फेरि आफ्नो देशको अडान दोहोर्‍याउँदै ‘ताइवान चीनको हिस्सा हो र विश्वमा एक मात्र चीन रहेको’ भनेको छ।

चीनको रक्षा मन्त्रालयले शुक्रबार जारी गरेको नयाँ चेतावनीमा भनिएको छ, ‘पिपुल्स लिबरेसन आर्मी सधैँ उच्च सतर्कतामा छ र ‘ताइवान स्वतन्त्रता’का लागि कुनै पनि पृथकतावादी योजनालाई दृढतापूर्वक कुचल्न सबै आवश्यक कदम चाल्नेछ।’

यद्यपि, ताइवानको रक्षा मन्त्रालयले शुक्रबार सामाजिक सञ्जाल साइट एक्समा ‘युद्धका लागि सधैँ तयार’ रहेको बताएको छ ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .