सर्लाही घर भएका नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य डिल्लीप्रसाद उप्रेती नेकपा एमालेमै फर्किएका छन्।
सोमबार एमाले अध्यक्ष केपी ओलीलाई भेटेपछि उप्रेती आफ्नो पुरानै घरमा फर्किएको एमाले सर्लाहीका नेता चूडामणि वाग्लेले जानकारी दिए।
‘डिल्ली दाइ निकै अघिदेखि नै एमालेमा फर्किने तयारीमा हुनुहुन्थ्यो’, वाग्लेले मंगलबार बिहान नेपालखबरसँग भने, ‘हिजो अध्यक्ष ओलीलाई भेटेपछि उहाँ एमालेमा फर्किने निष्कर्षमा पुग्नु भएको हो। एमाले प्रवेशको औपचारिक घोषणा भने सर्लाहीमै फर्किएपछि हुने छ।’
एमाले नेताहरु हरि उप्रेती, राजनारायण साह, रेवती पन्त, गणेश प्रसाईंलगायतसँग उप्रेती सोमबार ओली निवास बालकोट पुगेका थिए। त्यस क्रममा उप्रेतीले ओलीसँग १० मिनेट छुट्टै वार्तासमेत गरेको वाग्लेले जानकारी दिए।
एमाले छाडेका उप्रेतीसहितका नेतालाई पुनः पार्टीमा फर्काउन पार्टीका मधेश प्रदेश इन्चार्ज योगेश भट्टराई, एमाले सांसद हरि उप्रेती, ज्वाला साहलगायत नेताले सर्लाहीमा मेहनत गरिरहेका थिए।
तत्कालीन हरिवन गाविसका पूर्वअध्यक्षसमेत रहेका उप्रेती ०७४ को स्थानीय चुनावमा हरिवन नगरपालिकाको मेयरको टिकट नपाएपछि ओलीसँग रुष्ट थिए। सोही वर्ष भएको प्रदेशसभा निर्वाचनमा भने एमालेले उनलाई उम्मेदवार बनाएको थियो।
त्यतिबेला माओवादीसहितको वाम गठबन्धनबाट उनी सर्लाही ३ (क) बाट प्रदेशसभा सदस्यमा विजयी भएका थिए।
४ मंसिर ०७९ मा एकीकृत समाजवादीबाट पुनः प्रदेश सांसदको टिकट पाएका उप्रेतीले चुनाव हारे।
सत्तारुढ गठबन्धनका साझा उम्मेदवार उप्रेती माओवादी केन्द्रले साथ नदिँदा पराजित भएका थिए।
माओवादी केन्द्रबाट बागी उम्मेदवार बनेका जवाहरलाल कुशवाहासँग हारेपछि उनी एमालेसँग नजिकिन थालेका थिए।
अध्यक्ष ओलीसँगको एक्लाएक्लै कुराकानीमा एमालेमा फर्किंदा आफ्नो ‘पोजिसन’ के हुने भन्ने विषयमा पनि कुराकानी भएको उप्रेतीले बताए।
‘हाल म एकीकृत समाजवादीमा केन्द्रीय सदस्य छु,’ उप्रेतीले नेपालखबरसँग भने, ‘अध्यक्ष ओलीले एमाले फर्किएपछि पनि अहिलेको पद घटुवा नहुनेगरी व्यवस्था मिलाउने आश्वासन दिनुभएको छ।’
Shares
प्रतिक्रिया