ad ad

राजनीति


एआईजी बढुवामा सुरु भयो खिचातानी, शक्तिकेन्द्र धाउँदै तीन डीआईजी

एआईजी बढुवामा सुरु भयो खिचातानी, शक्तिकेन्द्र धाउँदै तीन डीआईजी

उजिर कार्की
असार ३०, २०७७ मंगलबार १४:५०,

नेपाल प्रहरीमा रिक्त दुई एआईजी बढुवाको तयारी भएको छ। आज भोलि नै बढुवा गर्न प्रहरी प्रधान कार्यालय, गृह मन्त्रालय र प्रधानमन्त्रीलगायतका शक्तिकेन्द्रले सक्रियता देखाउन थालेका छन्।

प्रहरी बढुवामा शक्तिकेन्द्रको खिचातानी रोकिएको केही महिना बित्न नपाउँदै एआईजी बढुवामा भित्रभित्रै चर्को खेल भइरहेको स्रोत बताउँछ।

रिक्त भएका दुई एआईजीमा पदका लागि तीन जना डीआईजीले तीव्र लबिङ गरिरहेका छन्। डीआईजीहरु निरज शाही, प्रद्युम्न कार्की र विश्वराज पोख्रेलले एआईजीमा बढुवाका लागि शक्तिकेन्द्र धाइरहेका छन्।

श्रोतका अनुसार बालुवाटार अहिले वरियतामा अगाडि रहेका शाही र कार्कीलाई बढुवा गर्ने पक्षमा छैन। एउटा शक्ति विश्वराज पोख्रेल र निरज शाहीलाई बढुवा गर्न लागिपरेको छ। तर, प्रधानमन्त्रीका निकटस्थहरु नै पोख्रेललाई बढुवा गर्ने हो भने सहकुल थापालाई पनि गर्नुपर्ने अडानमा छ। त्यसो गर्दा वरियतामा अगाडि रहेका शाही र कार्की दुवै छुट्ने छन्।

प्रहरी प्रधान कार्यालय भने वरियताअनुसार शाही र कार्कीलाई नै एआईजीमा बढुवा गर्नु पर्ने पक्षमा छ। यदि पोख्रेललाई बढुवा गर्नै पर्ने भए दरबन्दी थप्न उसले सुझाव दिएको छ।

तर, सहकुल थापालाई बढुवा गर्न चाहने बालुवाटारको शक्ति प्रधान कार्यालयको यो विकल्पमासहमत छैन। पोख्रेल र थापालाई भावी आईजीका दाबेदारका रुपमा हेरिएको छ। थापाले पछिल्लो ब्याचबाट डीआईजी बढुवामा फड्को मारेका हुन्। पोख्रेल पनि डीआईजीबाटै फड्को मार्दै भावी नेतृत्वको दाबेदारका रुपमा आएका थिए।

तर, बालुवाटारको इच्छाअनुसार यसरी बढुवा भए प्रहरीमा फेरि समस्या जन्मिने एक पूर्वअधिकृत बताउँछन्।

‘यो निर्णयले ठूलो समस्या जन्माउनेवाला छ,’ उनी भन्छन्।

यही सरकारले गत चैतमा नै विश्वराज पोख्रेललाई एआईजीमा बढुवा गर्ने कसरत गरेको थियो। तर, अन्तिममा तारिणी लम्साल, शैलेश थापा र हरिबहादुर पाललाई बढुवा गरियो। यसपटक पोख्रेल स्वभाविक रुपमा चर्चामा छन्। तर, उनले बढुवाका लागि जोड गरेसँगै थापा पनि कसरतमा लागेका छन्।

एआईजी शैलेश थापा क्षेत्री आईजीमा बढुवा र अर्का एआईजी तारिणीप्रसाद लम्साल ३० वर्षे सेवाहदका कारण अवकास भएपछि नेपाल प्रहरीमा दुई एआईजी रिक्त भएका छन्। हरिबहादुर पाल मात्रै एआईजी कार्यरत छन्।

शाही र कार्कीले अहिलेका आईजी थापा र एआईजी पालसँगै प्रहरी सेवा सुरु गरेका हुन्। कुनैबेला उनीहरु पालभन्दा वरियतामा अगाडि थिए। तर डीआईजीमा बढुवा हुँदा उनीहरु पछि परेका थिए।

सँगै बढुवा भएपनि आफ्नो ब्याचबाट शैलेश थापा पहिलो, हरि पाल दोश्रो, निरज शाही तेश्रो र प्रद्युम्न कार्की चौथो वरियतामा डीआईजी भएका थिए। पोख्रेल सोही विज्ञापनमा प्रतिस्पर्धा गरेर ११ महिनापछि भर्ती भएका हुन्। शाही र कार्की एआईजीमा बढुवा भएर अवकास हुन चाहन्छन् भने पोख्रेलको दाउ फरक छ। उनी अहिले एआईजीमा बढुवा भएर आगामी आईजीपी पद सुरक्षित गर्न चाहन्छन्।

तर पोख्रेलको त्यो सम्भावना कम छ। शाही र कार्की उनीभन्दा वरियतामा पनि माथि छन् भने व्यवसायीक छवि पनि उत्कृष्ट छ। त्यसो त वर्तमान प्रहरी संगठनभित्र पनि शाही र कार्कीको पकड राम्रो छ।

पोख्रेलले डीआईजीमा फड्को मार्दै धेरै प्रहरी असन्तुष्ट भएका थिए। पोख्रेलभन्दा अगाडिका प्रहरी पनि शक्तिका भरमा कनिष्ठलाई बढुवा गरियो भनेर रुष्ट छन् भने सहब्याची प्रतिस्पर्धाबाट अगाडि लागेको भन्दै असन्तुष्ट छन्। आफूसँगैका र आफूभन्दा अगाडिका प्रहरीको चेपुवामा पोख्रेल परेका छन्।

२८ वर्षमा बढुवाको उत्तारचढाव
प्रहरी सेवा सुरु गर्दा यी तीनमध्ये प्रद्युम्नकुमार कार्की अगाडि थिए। ६० जनाको पदस्थापन हुँदा कार्कीले पाँचौँ। नम्बरमा नाम निकालेका थिए। निरजबहादुर शाही ९ औं नम्बरमा भर्ती भए। विश्वराज पोख्रेल भने वैकल्पिकको सूचीमै थिए। प्रहरी निरीक्षकबाट कार्की र शाहीले २०४९ वैशाख १९ गतेबाट सेवा सुरु गरे। तर वैकल्पिकको सूचीमा रहेका ४० जनालाई पनि त्यही वर्षको चैत २९ गते सरकारले लिने निर्णय ग¥यो। २०४९ चैत २९ गते नियुक्ती पाउनेमध्ये विश्वराज ५ औं नम्बरमा थिए।

त्यसको ९ वर्षपछि यो ब्याचले डीएसपीमा बढुवा पायो। जसमा प्रद्युम्नलाई उछिनेर निरज अगाडि लागे। २०५८ वैशाख १८ गतेको बढुवा सूचीमा निरज चौथो नम्बरमा बढुवा भए। प्रद्युम्न भने पछाडि धकेलिँदै ११ औं नम्बरमा झरे। तर विश्वराज भने उनीहरुभन्दा तीन वर्ष पछि मात्रै डीएसपीमा बढुवा भएका हुन्। डीएसपीमा बढुवा हुँदा पनि उनी आफ्नो ब्याचबाट पाँचौं नम्बरमै थिए।

२०६७ साल पुस २० गते एसपी बढुवाको सूची सार्वजनिक भयो। त्यो सूचीमा शाही चौथो र कार्की छैठौं नम्बरमा बढुवा भए। पोख्रेललाई भने एसपी हुन दुई वर्ष पर्खिन प¥यो। पाँचौं नम्बरमै २०६९ माघ ११ गते एसपीमा बढुवा भए। उनको वरियता यथावत नै रह्यो।

११ महिना अघि–पछि जागिर सुरु गरेका उनीहरुबीच २०७४ साउन १९ गते भेट भयो। एसएसपीको बढुवा सूची निस्कँदा पोख्रेल पनि शाही र कार्कीसँगै एसएसपीमा बढुवा भए। अहिलेका आईजीपी शैलेश पहिलो नम्बरमा, निरज शाही दोश्रो, प्रद्युम्न कार्की तेश्रो र एआईजी हरि पाल चौथो नम्बरमा बढुवा हुँदा विश्वराज पोख्रेल ९ औं नम्बरमा बढुवा भए। जुन बढुवा अर्थपूर्ण थियो। एसएसपीको बढुवा निस्कँदै विश्वराजले भावी नेतृत्वसम्म पुग्ने छनक दिइसकेका थिए।

उन आफ्नो ब्याची सबै र अघिल्लो ब्याचका १२ जनालाई वरियतामा पछि पार्दै बढुवा भएका थिए। यसअघिसम्म उनीभन्दा अगाडि रहेका ब्याची धिरजप्रताप सिंह, उत्तमराज सुवेदीहरु पनि पछि परे।

२०७५ असोज २० गते सरकारले ११ डीआईजीको सूची निकाल्यो। जसमा शाही र कार्की अटाए। शाही आठौँ र कार्की नवौं नम्बरमा परे। उनीहरुको ब्याचका चार जना मात्रै बढुवा भएका हुन्। जसमा शाही र कार्कीलाई उछिन्दै हरि पाल दोश्रो नम्बरमा बढुवा भए। डीआईजीमा पछि परेका शाही र कार्कीलाई उछिन्दै पाल र थापा गत चैतमा एआईजीमा बढुवा भए।

तत्कालीन डीआईजी सुशील भण्डारीको दुर्घटनामा ज्यान गएपछि एक डीआईजी रिक्त भयो। जसमा दुई ब्याच अगाडिकालाई पन्छाउँदै सरकारले विश्वराजलाई बढुवा ग¥यो। २०७५ वैशाख १९ गते उनी डीआईजी बढुवाका लागि सिफारिसमा परे। सात महिनापछि डीआईजीमा बढुवा भएका पोख्रेल, शाही र कार्कीका लागि अहिले फेरि चुनौती बनेका छन्। हाल शाही प्रहरी प्रवक्ता छन् भने कार्की विशेष व्युरोमा छन्। पोख्रेल महानगरीय प्रहरी कार्यालयको प्रमुख छन्। सहकुल थापा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोमा कार्यरत छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .