ad ad

राजनीति


पूर्वलडाकु तान्ने ओलीको यस्तो रणनीति, गृहमन्त्री थापाको कमान्डमा खाम र ढुंगेल सक्रिय

पूर्वलडाकु तान्ने ओलीको यस्तो रणनीति, गृहमन्त्री थापाको कमान्डमा खाम र ढुंगेल सक्रिय

सागर न्यौपाने
पुस २४, २०७७ शुक्रबार १३:३५,

प्रधानमन्त्री केपी ओलीले माओवादीको तत्कालीन जनमुक्ति सेनाका लडाकुहरुलाई आफ्नो पक्षमा ल्याउने प्रयासलाई तीव्रता दिएका छन्।

पुष्पकमल दाहाल प्रचण्ड र माधव कुमार नेपाल नेतृत्वको समूहसँग अलग भएपछि ओली आफ्नो समूहको देशव्यापी संगठन विस्तार अभियानमा केन्द्रित छ।

पार्टीको नाम र चुनाव चिन्हको छिनोफानो निर्वाचन आयोगले गर्न बाँकी नै छ। प्रतिनिधि सभा विघटनविरुद्ध परेका रिटमा सर्वाेच्च अदालतमा सुनुवाइ जारी छ। यही मौकामा ओलीले पूर्वमाओवादी लडाकु भित्र्याउन पहल थालेका हुन्।

यस काममा उनले मुख्यगरी कालीबहादुर खाम र बालकृष्ण ढुंगेललाई परिचालन गरेका छन्। खाम र ढुंगेललाई बालुवाटरमै बोलाएर ओलीले छलफल गरेका थिए।

पूर्व जनमुक्ति सेनाको तेस्रो डिभिजन कमान्डर रहेका खाम प्रहरीको फरार सूचीमा छन्।

त्यसबाहेक ओलीले हालै मन्त्री बनाएका प्रचण्डनिकट नेताहरुलाई पनि यो काममा सक्रिय पारेका छन्। गृहमन्त्री रामबहादुर थापा, मन्त्रीहरु टोपबहादुर रायमाझी, दावा तामाङ र मणि थापाले आआफ्ना सम्पर्कमा रहेका पूर्वलडाकुलाई ओली पक्षमा आउन फकाइरहेका छन्।

प्रतिनिधि सभा विघटन भएको एक हप्तापछि बालुवाटारमा ओलीसँग दुई पटक भेट भएको ढुङ्गेलले बताए।

खामलाई पनि रुकुमका ओलीपक्षीय एक नेताले प्रधानमन्त्रीसँग भेटाएका थिए।

‘रुकुमका ओली निकट एक नेताले खामलाई प्रधानमन्त्रीसँग भेट गराउनुभएको हो,’ खामसँग सम्पर्कमा रहेका एक नेताले भने, ‘भेटको दुई दिनपछि खामबारे ओलीले सार्वजनिक कार्यक्रममै प्रचण्डलाई सोध्नुभएको थियो, कालीबहादुर खाम कहाँ छन् भनेर।’

ओलीसँग भेटेपछि खामले पूर्वलडाकुहरुलाई फोन गरेर आफुसँगै ओली समूहमा आउन आग्रह गरिरहेका छन्।

‘विविध (खामको युद्धकालीन नाम) दाइले मलाई पनि फोन गर्नुभएको थियो,’ एक पूर्व कम्पनी कमान्डरले नेपालखबरसँग भने, ‘प्रचण्डले केही गर्दैनन्। आफ्नो परिवारबाहेक कसैलाई हेर्दैनन्। अब ओलीको पार्टीमा लाग्ने हो। कमरेडहरु तपाईंहरुको विचार के छ? यतै आउनुस् भन्नुभयो।’

यो समग्र अभियानको समन्वय भने गृहमन्त्री थापाले गरिरहेका छन्। ओखलढुङ्गाका वीरु तामाङले गृहमन्त्रीलाई सो काममा सघाइरहेका छन्। तामाङ पूर्व बटालियन कमान्डर हुन्।

‘छलफल चल्दैछ, बादल दाइसँग समन्वय भइरहेको छ,’ ढुङ्गेल निकट एक नेताले भने, ‘अहिले देशभर पूर्वजनमुक्ति सेनाका साथीहरुको अवस्था बुझ्ने काम भइरहेको छ। कतिपय सम्पर्कमा रहेकाहरु आफैँ बादल दाइसँग जोडिन पुग्नुभएको छ, कतिपयलाई विभिन्न च्यानलमार्फत कुरा गरिएको छ।’

खाम अहिले पूर्व जनमुक्ति सेनाका डिभिजन भाइस कमान्डर, ब्रिगेड कमान्डर, बटालियन कमान्डर र कम्पनी कमान्डर गरी १५ जनाभन्दा बढीसँग सम्पर्कमा छन्।

‘पूर्वदेखि पश्चिमसम्मका साथीहरु हुनुहुन्छ। बादल दाइलाई नामावली नै दिएका छौँ,’ ती नेताले थपे, ‘सबै टुंगो लागेपछि घोषणा गर्ने तयारी छ।’

पूर्व जनमुक्ति सेनामा रहेका घाइते–अपाङ्गता भएकाहरुको निशुल्क उपचार गर्ने निर्णय ओली सरकारले गरेकाले उनीतर्फ लाग्नेको संख्या बढिरहेको उनको दाबी छ।

ओलीले जनयुद्धमा लागेर घाइते, अपांगता भएका जनमुक्ति सेनालाई हालै मात्र सरकारी अस्पतालमा निशुल्क उपचारको व्यवस्था गर्ने निर्णय मन्त्रिपरिषदबाट गरेका थिए।

जनयुद्धका १० हजार बढी जनमुक्ति सेना घाइते छन्।

ओलीको निर्णयले ती धेरैलाई उनीतिर खुल्न सघाउने खामनिकट नेताको दाबी छ।

‘देशैभरका सरकारी अस्पतालमा घाइते, अपांगता भएका साथीहरुको निशुल्क उपचार गर्ने निर्णय ओलीले गराए। प्रचण्डलाई पटक–पटक भन्दा सुनुवाई नगरेको काम ओलीले एकैपटक गरिदिए,’ उनले भने।

जनमुक्ति सेनामा लागेका सबैलाई ‘गणतान्त्रिक योद्धा’ वा ‘सेनानी’ भनेर प्रमाणपत्र दिनुपर्ने उनीहरुको माग छ। त्यसो गर्दा पूर्व जनमुक्ति सेनाका धेरैलाई ओलीतिरै ल्याउन सकिने सुझाव उनीहरुले गृहमन्त्रीलाई  दिएका छन्।

तर, खामलाई प्रचण्ड–नेपाल समूहमै राख्न उच्च तहका नेताहरु लागिपरेको केन्द्रीय सदस्य झकबहादुर मल्लले बताए।

‘खाम ओलीतिर लाग्नुभएको र पूर्व जनमुक्ति सेनाका साथीहरुलाई समेट्दै हिँड्नुभएको खबर पाएका थियौं,’ उनले भने, ‘तर, उहाँ ओलीतिर जानुहुन्न। यतै रहनुहुन्छ, यता राख्न नेताहरु छलफलमा हुनुहुन्छ।’

केही पूर्वलडाकु ‘प्रचण्डनिवासमा आफूहरुलाई छिर्न नदिएको’ भन्दै प्रचण्डसँग आक्रोशित छन्।

‘व्यापारीहरू प्रचण्डको भान्सामा पुग्छन्, भेट्छन्। तर, प्रचण्ड बनाउने जनमुक्ति सेनाका घाइते र अपाङ्गहरू उपचार नपाएर, खर्च नपाएर मर्नुपरेको छ,’ ओलीतिर लागेका एक पूर्व बटालियन कमान्डरले दुःख बिसाए।

पूर्व माओवादीलाई लक्षित गरेर ओलीले प्याकेज पनि ल्याउने सम्भावना रहेको उनले बताए।

ओलीले खामलाई केन्द्रीय सदस्य दिने तयारी गरेका छन्। तर, उनी १२ वर्षदेखि फरार सूचीमा रहेकाले सार्वजनिक कार्यक्रममा उपस्थित भएका छैनन्।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .