आफूलाई जातीय भेदभाव गर्ने घरबेटीविरुद्ध उजुरी हालेको रिसमा रूपा सुनारविरुद्ध तथ्यहीन समाचार छाप्ने ६ अनलाइन पत्रिकालाई प्रेस काउन्सिल नेपालले कारबाही प्रक्रिया अघि बढाएको छ।
आफूसहित सिंगो दलित समुदायको चरित्र हत्या गर्ने गरी भ्रामक समाचार लेखेको भन्दै सञ्चारकर्मी सुनारले लिखित उजुरी दिएपछि काउन्सिलले सम्बन्धित अनलाइन बन्दै गराउन नेपाल दूरसञ्चार प्राधिकरणलाई पत्राचार गरेको हो।
काउन्सिलले कारबाही गरेका अनलाइनमा खबरमाला, कालापानी पोस्ट, मिडिया ट्वान्टी पोस्ट, ग्यालेक्सी सेभेन एक्सप्रेस, आजको नयाँ, साँझा मिडिया डटकम छन्।
सुनारले ९ अनलाइनविरुद्ध काउन्सिलमा उजुरी गरेको भए पनि आज ६ वटाविरुद्ध मात्र कारबाही गरिएको हो।
निवेदक सुनारका अनुासर उल्लिखित ६ अनलाइन सूचना विभागमा दर्ता नभएको पाइएको छ। नेपालपाना लगायत बाँकी अनलाइनलाई पनि प्रेस काउन्सिलले कारबाही गर्ने उनले जानकारी दिएकी छन्।
यही असार १ गते सञ्चारकर्मी सुनारलाई काठमाडौंको बबरमहलकी सरस्वती प्रधानले सुरुमा भाडामा कोठा दिने सहमति गरिसकेर अन्त्यमा जात थाहा पाउनासाथ बहिष्कार गरेकी थिइन्। यसपछि घरबेटी प्रधानविरुद्ध सुनारले जातीय भेदभाव तथा छुवाछुत कसुरअन्तर्गत महानगरीय प्रहरी वृत्त (सिंहदरबार) मा उजुरी हालेकी थिइन्। तर हिरासतमा रहेको ३ दिनपछि शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठ आफैं गएर उनलाई छुटाएनन् मात्र, आफ्नै गाडीमा राखेर घरसमेत पुर्याइदिए। जसको अहिले चर्काे विरोध भइरहेको छ।
यस क्रममा उल्लिखित अनलाइनले रूपा सुनारले युरोपियन युनियनबाट पैसा खाएर जातीय द्वन्द्व बढाएको लगायत झुटो आरोप लगाएर तथ्यहीन समाचार लेखेका थिए।
यो पनि : आफूविरुद्ध अफवाह फैलाउने ९ अनलाइनविरुद्ध रूपा सुनारले दिइन् उजुरी
Shares
प्रतिक्रिया