ad ad

राजनीति


सुदूरपश्चिममा पुरानै अनुहार चुनावी मैदानमा, साख जोगाउन चुनौती

सुदूरपश्चिममा पुरानै अनुहार चुनावी मैदानमा, साख जोगाउन चुनौती

गोकुल जोशी
असोज २३, २०७९ आइतबार २१:५६, कञ्चनपुर

सुदूरपश्चिममा प्रमुख राजनीतिक दलहरुले आसन्न प्रतिनिधि र प्रदेश सभा चुनावमा पुरानै नेताहरुलाई मैदानमा उतारेका छन्।

सत्तारुढ गठबन्धनमा आबद्ध नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी र प्रमुख प्रतिपक्षी नेकपा एमालेले केही क्षेत्र बाहेक अधिकांश क्षेत्रमा पुरानै नेतालाई उम्मेदवार बनाएका छन्।

सुदूरपश्चिमका प्रतिनिधि सभाका १६ निर्वाचन क्षेत्र तथा प्रदेश सभा क्षेत्रमा अधिकांश ०७४ मा हार्ने तथा जित्ने उम्मेदवारलाई नै यसपटक पनि मौका दिइएको छ। चुनावी मैदानमा उत्रिएका पुराना नेतालाई यसपटकको चुनावमा साख जोगाउने चुनौती छ।

नेकपा एमालेले १६ वटा प्रतिनिधि सभा क्षेत्रमध्ये ०७४ को चुनावमा जितेका ८ जनालाई दोहर्याएको छ।

कैलाली निर्वाचन क्षेत्र नम्बर ५ मा नेकपा एमालेबाट ०७४ मा जितेका नारदमुनि राना यसपटक पनि उम्मेदवार बनेका छन्। यस्तै निर्वाचन क्षेत्र नम्बर ४ मा ०७४ मा जितेका एमाले सुदूरपश्चिमका इन्चार्ज लेखराज भट्ट, निर्वाचन क्षेत्र नम्बर ३ मा गौरीशंकर चौधरी, २ मा झपट रावल उम्मेदवार छन्।

०७४ को दार्चुलामा चुनाव जितेका गणेश ठगुन्ना, बैतडीमा दामोदर भण्डारी, कञ्चनपुर २ मा नरबहादुर धामी र अछाम १ मा यज्ञ बोगटीलाई उम्मेदवार खडा गरेको छ।

यस्तै, एमालेका अन्य उम्मेदवारहरुमा कोही ०७४ मा प्रदेश सभा जितेका छन् भने कोही समानुपातिकबाट सांसद बनेका नेता छन्। बझाङमा अनेरास्ववियुका पूर्वअध्यक्ष ऐन महर र कैलाली १ मा तपेन्द्र रावललाई एमालेले ‘डेब्यु’ गराएको छ।

कञ्चनपुर १ मा सुदूरपश्चिम प्रदेशका पूर्व आर्थिक मामिलामन्त्री तारा लामा तामाङ, कञ्चनपुर ३ मा निवर्तमान सांसद निरुदेवी पाल, अछाम १ मा सुदूरपश्चिम प्रदेशका पूर्वआर्थिक मामिलामन्त्री झपट बोहरा, बाजुरामा स्थायी कमिटी सदस्य कर्णबहादुर मल्ल र डोटीमा गौरी ओली एमालेबाट उम्मेदवार छन्।

सत्तारुढ गठबन्धनमा  प्रतिनिधि सभाका ४ निर्वाचन क्षेत्र पाएको माओवादी केन्द्रले पनि नयाँ नेतालाई उम्मेदवार बनाएको छैन। माओवादीले कञ्चनपुर १ मा ०७४ को चुनाव जितेकी पूर्वमन्त्री बिना मगर, बैतडीमा संविधानसभा सदस्य नरेन्द्र कुँवर (विजय सुन्दर), कैलाली २ मा संविधानसभा सदस्य भगत बडुवाल र कैलाली ३ मा कृष्ण चौधरीलाई उम्मेदवार बनाएको छ।

यस्तै, गठबन्धनमा प्रतिनिधि सभाका तीन निर्वाचन क्षेत्र पाएको नेकपा एकीकृत समाजवादीले डोटीमा ०७४ एमालेबाट जितेका प्रेमबहादुर आले, अछाम १ मा श्रममन्त्री शेरबहादुर कुँवर र बझाङमा पूर्वमन्त्री भानुभक्त जोशीलाई उम्मेदवार बनाएको छ।

सत्तारुढ गठबन्धनको नेतृत्वकर्ता नेपाली कांग्रेसले सुदूरपश्चिमका ९ प्रतिनिधि सभा क्षेत्रमध्ये अधिकांशसमा पुरानै नेतालाई चुनावी मैदानमा उतारेको छ।

प्रधानमन्त्री समेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवा डडेल्धुराबाट ७ आँै पटक निर्वाचन लड्दैछन्। दार्चुलामा ०७४ मा समानुपातिकतर्फ लागेका उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्र बडू, कञ्चनपुर २ मा पूर्वमन्त्री एनपी साउद र कञ्चनपुर ३ मा रमेश लेखकलाई उम्मेदवार बनाइएको छ।

यस्तै, कैलाली ४ मा पूर्वमन्त्री वीरबहादुर बलायर, कैलाली १ मा पूर्वमन्त्री रामजनम चौधरी, बाजुरामा सहमहामन्त्री बद्री पाण्डे, अछाम २ मा पुष्पबहादुर शाह र कैलाली ५ मा डिल्लीराज पन्तलाई कांग्रेसले चुनावी मैदानमा उतारेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .