ad ad

राजनीति


म माओवादीमा फर्किने होइन, प्रचण्डजीलाई केपी ओलीसँग मिल्नु भनेँ : लेखराज भट्ट

म माओवादीमा फर्किने होइन, प्रचण्डजीलाई केपी ओलीसँग मिल्नु भनेँ : लेखराज भट्ट

एमालेको कार्यक्रमलाई सम्बोधन गर्दै लेखराज भट्ट। तस्बिर : नेपालखबर


नेपालखबर
चैत २८, २०७९ मंगलबार १९:५०, काठमाडौँ

नेकपा (एमाले) का केन्द्रीय सचिव लेखराज भट्टले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट्नासाथ माओवादी फर्किने भन्ने नहुने बताएका छन्। 

नेकपा (एमाले) को मिसन ग्रासरुट कार्यक्रमअन्तर्गत अत्तरियामा मंगलबार आयोजित कार्यक्रमलाई सम्बोधनका क्रममा भट्टले यस्तो बताएका हुन्। 

'अब माओवादी नै हुने भए एमालेतिर उभिने नै थिइनँ,' उनले भने, 'सुखी नेपाल समृद्ध नेपाल बनाउने उद्देश्यले म एमालेमा लागेको हुँ।'

एमाले सुदूरपश्चिम इन्चार्जसमेत रहेका उनले नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रचण्डलाई भेटेर कुनै अपराध नगरेको पनि बताए। 

यही शनिबार बिहान सुदूरपश्चिम विश्वविद्यालयको कार्यक्रममा जाने क्रममा प्रचण्ड एमाले नेता भट्टलाई भेट्न उनको अत्तरियास्थित निवास पुगेका थिए। 

भट्टले शनिबारका दिन प्रचण्ड ४० वर्षदेखिको सम्बन्ध भन्दै आफूकहाँ आएको सुनाए। 'हाम्रो ४० वर्षदेखिको सम्बन्ध छ, म आउँछु भन्नुभयो', उनले भने, 'हामीबीच एकअर्काको घरपरिवारको अवस्थाबारे कुराकानी भयो।' 

कार्यकर्ताहरुले लिखित र मौखिक प्रश्न गरेपछि भट्टले आफ्नो बचाउ गरेका हुन्। 'मलाई भेटका क्रममा शान्ति प्रक्रियालाई टुंगोमा पुर्‍याउन तपाईंको भूमिका रहनुपर्यो भन्नु भयो', उनले भने, 'तर मैले मुलुकमा वामपन्थी एकताको जरुरी छ, अझै पनि हाम्रा अध्यक्ष केपी शर्मा ओलीसँग भेटेर वाम एकता र शान्ति प्रक्रियाबारे कुरा गर्नुस् भन्ने सुझाव दिएँ।'

उनले २०८० वा ०८१ सालमा फेरि एमाले अध्यक्ष ओलीको नेतृत्वमा सरकार गठन हुने दावी पनि गरे।

उनले ओलीको प्रशंसा गर्दै अडान लिन सक्ने र लागेको बोल्ने नेता भएको बताए। 'वलदेव शाह (बाँकावीर) मुलुकको पहिलो सहिद हुन् भनेर मैले नै जानकारी दिएपछि उहाँले बोल्नु भयो', उनले भने, 'जबकि जनजाति नेताहरुले बाँकावीर पहिलो सहिद होइन भन्छन्। वास्तमामा बाँकावीर नै नेपालको पहिलो सहिद हुन्।'

उनले पार्टी एकता, संगठन सृदृढीकरण, संगनात्मक अराजकता र अनुशासित पार्टी बनाउन मिसन ग्रासरुट अभियान चलाइएको पनि बताए ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .