ट्विटरका संस्थापक तथा पूर्व सीईओ ज्याक डोर्सीले भारत सरकारविरुद्ध गम्भीर आरोप लगाएका छन्।
एक अन्तर्वार्तामा किसान आन्दोलनका क्रममा आफूलाई ट्विटर बन्द गर्ने धम्की सरकारले दिएको दाबी उनले गरे। अन्यथा ट्विटर बन्दी गर्ने धम्की सरकारले दिएको आरोप उनले लगाए।
अन्तर्वार्तामा उनलाई 'शक्तिशाली मानिसहरू'को ट्विटरसँग हुने मागबारे प्रश्न सोधिएको थियो। उक्त प्रश्नमा भारतको नाम लिइएको छैन। प्रश्न थियो, 'विश्वभरका शक्तिशाली व्यक्तिहरू तपाईंकहाँ आउँछन् र सबै प्रकारका मागहरू गर्छन्, तपाईं नैतिक सिद्धान्तको मान्छे हुनुहुन्छ, तपाईं यी परिस्थितिहरूबाट कसरी बाहिर निस्कनुहुन्छ?'
जवाफमा डोर्सीले भारतमा सन् २०२० मा भएको किसान आन्दोलनका क्रममा भारत सरकारले ट्वीटर बन्द गर्ने धम्की समेत दिएको बताए। उनले भने, ‘उदाहरणका लागि भारत यस्तो देश हो, जहाँबाट किसान आन्दोलनका बेला हामीकहाँ धेरै मागहरू आइरहेका थिए। कतिपय पत्रकारहरुले सरकारको आलोचना गरेका थिए। हामीलाई भारतमा ट्विटर बन्द गर्न भनिएको थियो, भारत हाम्रा लागि ठूलो बजार हो। सरकारले ट्विटरका कर्मचारीको घरमा छापा मारे। भारत सरकारले राखेका माग पूरा नगरे कार्यालय बन्द गरिदिने धम्की दिइएको थियो। यो लोकतान्त्रिक देश भारतमा भइरहेको थियो।'
अप्रिलमा जारी गरिएको ट्विटरको पारदर्शिता प्रतिवेदन अनुसार, ट्विटरबाट सामग्री हटाउन सबैभन्दा बढी माग गर्ने देश भारत हो। पछिल्लो रिपोर्टअनुसार विश्वभरका सरकारहरूले ट्विटरलाई सामग्री हटाउन माग गर्दै ५३ हजावटा सूचना पठाएका छन्। उजुरी अनुसार ६ लाख बढी खाता पनि ट्विटरले बन्द गरेको थियो।
ट्विटरका अनुसार ट्विट हटाउन माग गर्ने गर्ने शीर्ष देशहरूमा भारत, अमेरिका, फ्रान्स, जापान र जर्मनी रहेका छन्।
Shares
प्रतिक्रिया