पोखराका मेयर मानबहादुर जिसीले गएको मंसिरमा बिजुलीको पोलमा गुजुल्टिएका तार व्यवस्थापनको घोषणा गरे। बिर्सने बानी भएर हो कि? अर्को मंसिर आउँदा पनि तार गुजुल्टिएकै अवस्थामा छन्।
तर, सबै जनप्रतिनिधि उस्तै हुँदैनन्। नपत्याए, उपल्लो मुस्ताङको लोमान्थाङलाई नै हेरौँ न! लोमान्थाङको मुख्य क्षेत्र वडा नम्बर ५ मा पर्छ। वडा नम्बर ५ का वडाध्यक्ष हुन् रिन्जिन दोर्जे विष्ट। परिवारका माइला छोरा भएकाले उनी लामा बने। लामा भएपछि उनको पुरानो नाम फेरियो। उनी लोवाङ कुंगा लामा बने। लामा बने त के भयो? आफ्नो ठाउँको विकास गर्ने हुट्हुटीले उनलाई छाडेन। गएको स्थानीय चुनावमा उनी वडाध्यक्षको उम्मेदवारी दिए र विजयी भए। जीतसँगै उनले घोषणा गरे, ‘लोमान्थाङमा बिजुलीका तारलाई जमिनमुनि बिच्छ्याउँछु।’
घोषणासँगै उनले काम थाले। गाउँमा लघु जलविद्युत योजना थियो। घरघर बिजुली पुर्याउन त्यही बेला भूमिगत तार बिच्छ्याइएको थियो। जमिनमुनि तार बिच्छउँदा माटैमाटोको सहर सुन्दर देखिन्थ्यो। फोटो खिच्न समस्या थिएन। मुख्य कुरा त माटोले बनेका, माटोले नै छाइएका र घरमाथि दाउरा राखिएका घरहरु सुरक्षित थिए।
तर, पछि चीन सरकारको अनुदानमा गाउँमा ७० किलोवाटको सोलार आयो। सोलार आएपछि फेरि पोल गाडियो। पोलमा तारहरु हुने नै भए। हावा चल्ने र हिउँ पर्ने लोमान्थाङमा तार चुँडिने डर पस्यो। पहिला बनेको भुईमुनिको प्रसारण लाइनलाई चीनले प्रयोग नगरेपछि गाउँलेले पनि फेरि अन्डरग्राउन्ड होला र? भन्ने प्रश्न गरे। इच्छाशक्ति न हो, उनले अघिल्लो वर्ष काम थाले। वडामा आएको १ करोड १० लाख बजेट तार भूमिगत गर्न खर्चने निर्णय गरे। उनको अभियानलाई सोही सहरका बासिन्दा तथा गण्डकी प्रदेशका सभासद ईन्द्रधारा विष्टले साथ दिए। ‘हामीले हाम्रो मौलिकता बचाउन यो निर्णय गरेका हौँ’, सभासद ईन्द्रधाराले भने, ‘हामी हाम्रो मौलिकतामा विश्वास गर्छौँ, संभवत् भूमिगत विद्युत प्रशारण लाइन भएको पहिलो सहर पनि हामी नै बन्नेछौँ।’
एक किलोमिटर वर्ग किलोमिटर क्षेत्रमा फैलिएको लोमान्थाङमा ३ किलोमिटर जति भूमिगत तार बिच्छ्याउने काम झण्डै सकिएको छ । ‘अर्को वर्ष यहाँ आकासमा तार देखिनेछैन’, वडाध्यक्ष विष्टले उत्साहित हुँदै भने,‘ यहाँ गाडिएका पोलहरु पनि निकालिन्छ बरु यहाँ सडक बत्तीहरु राखिन्छ।’ वडाध्यक्ष विष्टका अनुसार ती सडक बत्तीहरु सबै सौर्य उर्जाबाट चल्नेछन् भने त्यसमा आवश्यकता अनुसार राष्ट्रिय प्रशारण लाइनबाट बिजुली दिइने छ। १ सय ५० वटा सडक बत्ती खम्बा किन्ने प्रक्रिया सुरु भएको उनले बताए । ‘बिजुलीका पोलहरु बौद्ध संस्कृति झल्कनेखालका कलात्मक हुनेछन्’, उनले भने,‘ खम्बाहरु बनाउन पनि हामीले बास्तुविदको सल्लाह लिएका छौँ ।’
राष्ट्रिय प्रशारण लाइन पनि लोमान्थाङ पुगेको छ। त्यो लाइनलाई गाउँमा नछिराउने गरी एक किलोमिटर टाढाबाटै भूमिगत तार बिच्छ्याइएको छ। ‘हामीले बढो जोडबल लगाएर राष्ट्रिय प्रशारण लाइनलाई पनि गाउँ नछिराउने निर्णय ग¥यौँ’, वडाध्यक्ष विष्टले भने, ‘गाउँको सुन्दरता र मौलिकता कायम राख्न यो निर्णय गरिएको हो।’ अब छिट्टै राष्ट्रिय प्रशारण लाइनको बिजुली समेत त्यही तारमा जोडिने उनले सुनाए। सौर्य बिजुलीले अहिले लोमान्थाङको आवश्यकता धान्दैन।
भुईँमा बिच्छ्याइएको तार सौर्य उर्जा र राष्ट्रिय प्रशारण लाइन दुबैबाट आउने बिजुली घरघर पु¥याउने क्षमताको रहेको छ। भूमिगत तारबाट बग्ने बिजुलीलाई घरघर पु¥याउन सहरका विभिन्न ठाउँमा पावर प्वाइन्टहरु राखिएका छन्। एउटा पावरप्वाइटबाट ६ वटा घरलाई बिजुली दिन मिल्छ। बिजुलीको व्यवस्थापन गर्न वडाध्यक्षकै अध्यक्षतामा ७ सदस्यीय समिति बनाइएको छ भने दुई जना कर्मचारी राखिएको छ। लोमान्थाङको माटोको पर्खाल १ किलोमिटर ४० किलोमिटर हाराहारीमा छ। यही क्षेत्रमा मुस्ताङी राजाको दरबार र तिब्बती संस्कृति झल्कने घरहरु रहेका छन्। माटोले घेरिएको सहरमा १ सय ७० जति घर छन् भने पर्खाल बाहिर करिब ३६ वटा होटल बनेका छन्।
‘म त लामा हुँ, मेरा छोराछोरी छैनन्, मसँग लोभ छैन, आफ्नो ठाउँको विकास गर्ने मात्रै मेरो लक्ष्य हो’, वडाध्यक्ष लामाले सुनाए,‘ जन्मभूमिको विकासकै लागि लामा भएर पनि मैले राजनीतिमा हात हालेको हुँ, काम सकेपछि जनप्रतिनिधि भइरहने इच्छा छैन।’
प्रतिक्रिया