कोरोना महामारीका कारण बन्द रहेका रुपन्देहीका विद्यालयहरू खुलेका छन्।
शहरी क्षेत्र बाहेकका ठाउँका विद्यालयमा बालबालिकाहरूलाई आलोपालो गरेर बोलाउने गरिएको छ। जिल्लाका सैनामैना नगरपालिका, कञ्चन गाउँपालिका, सियारी गाउँपालिका लगायतका ठाउँमा विद्यालयहरु खुलेका छन्। सिकाइ केन्द्रको रुपमा आलो पालो गरेर बालबालिकालाई बोलाइएको शिक्षकहरूले बताएका छन्।
रुपन्देहीको सियारी गाउँपालिकामा रहेको पब्लिक माविले केही दिन अघिबाट भौतिक उपस्थितिमा कक्षा सञ्चालन गर्न सुरु गरेको छ।
‘हप्ताको एउटा कक्षालाई २ दिन बोलाउने र उनीहरूलाई अलिकति म्याटर दिने गरेका छौँ’ विद्यालयका प्रअ डिलाराम खनालले भने, ‘पालैपालो बोलाएका छौंँ। एउटा बेन्चमा २ जना मात्र बसालेर पढाउँछौँ।’
विहान र दिउँसो दुवै सिफ्टमा कक्षा सञ्चालन गरिएको उनले बताए। अनलाइन कक्षा प्रभावकारी नभएकाले भौतिक उपस्थितिमै कक्षा थालेको प्रअ खनालको भनाइ छ।
‘५ कक्षा भन्दा तल ८–१० प्रतिसत भन्दा बढीलाई अनलाइन कक्षामा समेट्नै सकिएन। ८ कक्षा भन्दा माथि ७०–८० प्रतिशत जति विद्यार्थी हुन्थे’ उनले भने, ‘बिचको कक्षामा आधा जसोलाई मात्र समेटिन्थे। अनलाइन कक्षाले मात्र विद्यार्थीको सिकाइको अवस्था नाजुक बनाएको थियो।’
रुपन्देहीको कञ्चन गाउँपालिकामा पनि विद्यालयहरु खुलेका छन्। कञ्चनका शिक्षा शाखा प्रमुख रमेश भुसालले विद्यालयहरुले सिमित विद्यार्थीहरु मात्र बोलाएर पढाउन थालेको बताए। ‘सिकाइ कार्यढाँचा २०७७ बमोजिम विद्यालयलाई सिकाइ केन्द्रको आधार मानेर शिक्षा समितिको निर्णय अनुसार खुलेका हुन्’ उनले भने।
कतिपय ठाउँमा स्थानीय तहको निर्णय अनुसार र केही ठाउँमा स्थानीय तहको निर्णय विना विद्यालय खुलेका छन्।
विद्यालय खुल्न कोरोना संकट व्यवस्थापन केन्द्र डीसीसीएमसीको बैठकले निर्णय गर्नुपर्ने हुन्छ। गत भदौ १५ गते बसेको डीसीसीएमसी रुपन्देहीको बैठकले समुदायमा कोरोना संक्रमणको अवस्था विश्लेषण र विद्यालयको अवस्था अध्ययन गरेर शिक्षा विकास तथा समन्वय इकाइ मार्फत स्थानीय तहको सिफारिसको आधारमा निर्णय गर्ने उल्लेख छ।
तर कुनै पनि स्थानीय तहले विद्यालय खोल्न जिल्लामा सिफारिस गरेका छैनन्। रुपन्देहीका शिक्षा विकास तथा समन्वय इकाइ रुपन्देहीका प्रमुख दिपेन्द्र ढकालले जिल्लाले विद्यालयहरु सञ्चालन गर्न अनुमति नदिएको बताए।
‘स्थानीय तहलाई विद्यालय खोल्ने प्रक्रिया सुरु गर्न भनेका छौं। निर्णय भएको छैन’ उनले भने, ‘स्थानीय तहले आफ्नो अवस्था विश्लेषण गरेर सिफारिस गर्नुपर्छ।’
कोरोना संक्रमणको प्रभाव कम भएकाले रुपन्देहीमा औपचारिक निर्णय गरेर असोजबाट विद्यालय खोल्ने तयारी भएको छ।
Shares
प्रतिक्रिया