रुपन्देहीमा ८ महिनाको नाबालकलाई हत्या गरेको आरोपमा बाबुआमालाई पक्राउ गरी प्रहरीले मुद्दा चलाएको छ।
जिल्लाको गैडहवा गाउँपालिका वडा नम्बर ६ बस्ने श्रीराम मल्लाह र उनकी श्रीमती रेनु मल्लाहलाई प्रहरीले पक्राउ गरेको हो।
उनीहरुले गत भदौ २६ गते आफ्नै ८ महिनाको दुधे बालक सुरज मल्लाहको घाँटी रेटेर हत्या गरेको प्रहरीले जनाएको छ ।
प्रहरीले घटनास्थलको अनुसन्धान गर्ने क्रममा घरको छतमा आलो रगत जमेको, श्रीराम मल्लाह र उनकी श्रीमती सुत्ने कोठाको टेबुलमा रगत लागेको हसिया, विस्तारामा तथा बिद्युतको स्वीचमा रगत जस्तो रातो पदार्थ लागेको टाटा लागेको अवस्थामा फेला परेको थियो।
त्यसैगरी रेनुको शरीर खानतलासी गर्दा साडी भिजेको अवस्थमा रहेको र सो साडीमा रगत जस्तो रातो पदार्थ लागेको अवस्थामा फेला परेकोले सुक्ष्म रुपमा अनुसन्धान गरेको थियो।
अनुसन्धान र तथा सोधपुछ गर्दा आमा बुबाले बालकको हत्या गरेको स्वीकार गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सुचना अधिकृत डिएसपी सत्यनारायण थापाले जानकारी दिए।
मृतक बालकको हजुर आमासँग श्रीराम र रेनूको दिनहुँ जसो झगडा हुने गर्दथ्यो।
‘बालकको बुबा आमा र हजुरआमाबीच जग्गा सम्बन्धी विबाद भइरहेको रहेछ । १३– १४ धुर जग्गा हजुरआमाले आफ्नो छोरीको नाममा पास गरिदिनुभयो’, डीएसपी थापाले भने, ‘त्यसकारणले आवेसमा आएर आफ्नै छोराको हत्या गरेका हुन् कि भन्ने बुझिएको छ अहिलेसम्मको अनुसन्धानमा।’
घटनाबारे थप अनुसन्धान भइरहेको थापाले बताए।
Shares
प्रतिक्रिया