उत्तर कोरियाले मंगलबार पुनः कम्तीमा एक ब्यालेस्टिक मिसाइल परीक्षण गरेको छ। दक्षिण कोरिया र जापानले बताएअनुसार उत्तर कोरियाले पूर्वी क्षेत्रको समुद्रमा मिसाइल परीक्षण गरेको हो। स्थानीय समयअनुसार बिहान सवा १० बजे पहिचान नखुलेको ब्यालेस्टिक मिसाइल परीक्षण गरिएको दक्षिण कोरियाको ज्वइन्ट चिफ्स अफ स्टाफले बताएको छ।
बीबीसीका अनुसार दक्षिण कोरिया, जापान र अमेरिकी गुप्तचर संस्थाका प्रमुखबीच उत्तर कोरियाको विषयमा बैठकको समाचार सार्वजनिक भएसँगै उत्तर कोरियाले ब्यालेस्टिक मिसाइल परीक्षण गरेको हो।
रोयटर्सका अनुसार जापानका प्रधानमन्त्री फुमिओ किसिडाले उत्तर कोरियाले दुई ब्यालेस्टिक मिसाइल परीक्षण गरेको बताएका छन् । किसिडाले उत्तर कोरियाले पछिल्लो समय श्रृङ्खलाबद्ध मिसाइल परीक्षण खेदजनक रहेको बताएका छन्।
अमेरिका र दक्षिण कोरियाले उत्तर कोरियालाई वार्तामा बस्न र न्युक्लियर हतियारको कार्यक्रम त्याग्न प्रेरित गर्दै आएका छन्। यद्यपि पछिल्लो समय उत्तर कोरियाले श्रृङ्खलाबद्धरुपमा मिसाइल परीक्षण गर्दै आएको छ।
संयुक्त राष्ट्रसंघले उत्तर कोरियालाई ब्यालेस्टिक मिसाइल परीक्षणमा रोक लगाएको छ।
Shares
प्रतिक्रिया