बम विस्फोटका घाइतेलाई जिउँदै इट्टा उद्योगको भट्टीमा जलाएर हत्या गरेको अभियोगमा पक्राउ परेका सांसद अफताव आलमले मुख्य जाहेरीकर्ता र साक्षीहरुलाई आर्थिक प्रलोभन दिने, साम्प्रदायकिताका आधारमा फकाउने र धम्काउने गरिरहेको खुलासा भएको छ।
जिल्ला प्रहरी कार्यालय रौतहटको हिरासतमा रहेका आलमले आफ्ना सहयोगीमार्फत मुख्य जाहेरीकर्ता मृत वसी अख्तरको परिवारलाई आर्थिक प्रलोभनमा पार्ने र धम्काउने गरेको अडियो रेकर्ड नेपालखबरले प्राप्त गरेको हो।
आलमका सहयोगीले मृतक ओसी अख्तरकी श्रीमती अमना खातुनलाई बयान फेरेमा उनकै बुबा समसुल मियाँमार्फत पाँच लाख रुपैयाँ नगद र पाँच कठ्ठा जग्गा दिने प्रलोभन दिएका छन्। नेपालखबरलाई प्राप्त अडियोमा समसुल मियाँले छोरी आमना र ज्वाइँ जुमाइल मियाँलाई आफूहरु मुसलमान भएको र मन्त्रीपनि मुसलमान भएकोले सहयोग गर्न आग्रह गरेका छन्। करिब ४० मिनेट लामो उक्त अडियोअनुसार वसीका सहोदर भाइ जुमाइल मियाँ भने आलमलाई कानुनी सजाय दिइनैपर्ने पक्षमा छन्। तर समसुल र सँगै रहेका अन्य व्यक्ति उनलाई ‘मन्त्री (आलम) छुटेपछि आफूहरुलाई बाँच्न मुस्किल हुने भन्दै धम्काउँछन्।
‘पाँच लाख रुपैयाँ र पाँच कठ्ठा जमिनले जीवन चलाउन सहज हुन्छ,’ अडियोमा एक व्यक्तिको आवाज सुनिन्छ, ‘थाहा छ, अहिले पाँच कठ्ठा जमिनको पनि १४-१५ लाख पर्छ!’
अडियो :
समसुलले आलम मुसलमान भएको र भोलि आफूहरुलाई हिन्दुले सहयोग नगर्ने भन्दै फकाउँछन्। तर, मुस्लिम भएपनि आलमले आफ्नो दाजुको शवमा माटो दिने मौका पनि नदिएको भन्दै जुमाइलले उनको प्रतिकार गरेका छन्।
अडियो संवाद भोजपुरीमा छ। जसमा जुमाइल अन्तिमतिर दाजु वसीलाई सम्झेर भक्कानिँदै रोएको समेत सुनिन्छ।
यही वार्तालापपछि वसीकी श्रीमती आमना खातुनले पति वैदेशिक रोजगारीमा गएको र हालसम्म घर नआएको भन्दै रौतहट जिल्ला अदालतमा निवेदन दिएकी थिइन्। तर उनले नै दुई वर्षअघि वसीको मृत्यु दर्ता प्रमाणपत्र लिएकाले अदालतले उनको पछिल्लो बयानलाई ‘होस्टाइल’ मान्नेछ।
यस्तै, विस्फोटका अर्का घाइते गौरीशंकर रामले सुरुमा बयान फेरेपनि हाल आएर आफूलाई आलम समुहका व्यक्तिहरुले चार दिन अपहरण गरी राखेको बताएका छन्। उनलाई नियन्त्रणमा लिएर बयान फेर्न बाध्य पारिएको खुलासा भएको हो।
आलमसहित ११ जनालाई प्रतिवादी कायम गर्दै सरकारी वकिल कार्यालयले गत साता मुद्दा दर्ता गरेको थियो। हाल रौतहत जिल्ला अदालतमा आलम विरुद्धको मुद्दामा थुनछेक बहस जारी छ।
प्रहरीले घटनाका मुख्य अभियुक्त मोहम्मद अफताव आलमसहित मोहम्मद महताब मोहम्मद, मोविन आलम, शेख भदई, शेख सेराज भन्ने शेष सर, शेख फजलेह र सगिर आलमलाई घटना लगत्तै परेको किटानी जाहेरीका आधारमा प्रतिवादी कायम गरेको छ। यस बाहेक घटना अनुसन्धानमा प्रत्यक्ष संलग्न देखिएका शेख जुमइन भन्ने शेख मलकार, गौरीशंकर साह, बद्री साहनी र मुक्ति साहलाई नयाँ अभियुक्त कायम गरेको छ।
यस्तो थियो आलम प्रकरण
२०६४ साल चैत्र २७ गते बुधबार साँझ साढे ६ बजे रौतहटको राजपुरफरहदवा गाविस वडा नम्बर ४ स्थित शेख सदिकको छोरा मोहम्मद आफताब आलमको काकाको घरमा बम विष्फोटन भएको थियो। अर्को दिन हुने संविधान सभा निर्वाचनलाई लक्षित गरी भारतीय कारिगर सहितले बम बनाउँदै गर्दा विस्फोट भएको थियो।
घटनामा नारायणसिंह राजपुतको छोरा वर्ष २२ को पिन्टु भन्ने त्रिलोकप्रताप सिंह र रोक्साना खातुनको छोरा वर्ष २२ को वसी अख्तर र अन्य व्यक्तिहरूको समेत उक्त घटनामा मृत्यु भएको थियो।
संविधान सभा निर्वाचनमा उम्मेदवार रहेका आलमले चुनाव जित्न र अन्य पार्टीका कार्यकर्ता तथा मतदातालाई तर्साउन बम बनाउन लगाएका थिए।
विस्फोटको प्रमाण नष्ट गर्न उनले विस्फोटमा भत्किएको घर टालटुल गर्नुका साथै घाइतेहरुलाई पनि जिउँदै इँटाभट्टामा हालेर हत्या गरेका थिए। घटनामा कति जनाको हत्या गरियो हालसम्म खुलेको छैन। प्रत्यक्षदर्शी स्थानीयका अनुसार कम्तीमा २० भन्दा बढी व्यक्तिलाई निर्ममतापूर्वक हत्या गरिएको थियो।
प्रतिक्रिया