रुपन्देहीस्थित श्रीमती मनराजीदेवी माध्यमिक विद्यालयको कक्षा ११ र १२ मा २ सय १३ जना विद्यार्थी छन्। यी विद्यार्थीका लागि दरबन्दी अनुसारका शिक्षक संख्या भने शून्य छ।
शिक्षक व्यवस्थापन नगरेको भन्दै आक्रोशित विद्यार्थीले गाउँपालिकाको कार्यालय तोडफोड गरेको पनि तीन वर्ष बितिसक्यो। तर अहिलेसम्म अवस्था उस्तै छ।
बाल विकासदेखि कक्षा १२ सम्म पढाई हुने यो विद्यालयमा पाँच वर्ष अघिदेखिको शिक्षक अभाव विद्यार्थीले त्यो तोडफोड र आन्दोलनले पनि टरेन।
अहिले पनि शिक्षक अभाव हुँदा प्रावि तहका शिक्षकहरुले माविमा अध्यापन गराइरहेको मनराजीदेवी माविका प्रधानाध्यापक हृदयराज यादवले बताए।
‘प्राविका शिक्षकले माविमा पढाउनुपर्ने बाध्यता छ’, उनले भने, ‘विद्यार्थी आक्रोशित भएपछि पालिकाले चारजना शिक्षक त उपलब्ध गरायो। तर ११ र १२ का लागि छुट्टै शिक्षक व्यवस्था गरिएन।’
विद्यार्थीको पढाई बिग्रिन नदिन अहिले प्राविका शिक्षकले पढाइरहेको यादवले बताएका छन्।
‘सरकारले आवश्यक शिक्षक थप्छौँ भनेको छ’, उनले भने, ‘दरबन्दी नभए पनि करार, निजी स्रोत र ज्यालादारी शिक्षक भए पनि पठाइदिनुस् भनेका छौँ।’
उता गुल्मीको रियाले माध्यमिक विद्यालयको अवस्था पनि उस्तै छ। प्रधानाध्यापक देवी घर्तीका अनुसार कक्षा १० सम्मका शिक्षकले ११ र १२ पनि पढाइरहेको वर्षौँ भयो।
‘बिहानी सत्रमा ११ र १२ को कक्षा सञ्चालन भइरहेको छ,’ उनले भने, ‘उनै शिक्षकले दिउँसो १ देखि १० सम्मका कक्षामा अध्यापन गराइरहेका छौँ।’
उनका अनुसार भवन अभाव र शिक्षक अभावका कारण दुई सत्रमा विद्यालय सञ्चालन गर्नुपरेको हो।
‘प्राविकै शिक्षकलाई भ्याइ नभ्याइ हुन्छ। शिक्षक अभावका कारण समय व्यवस्थापन ठूलो चुनौती छ,’ उनले भनिन्।
बागलुङको अमर माध्यमिक विद्यालय काठे खोलाका प्राधानाध्यापक भीष्म कँडेल शिक्षाको पुनर्संरचना गर्ने बेला शिक्षक कर्मचारीको पुनर्संरचनामा ध्यान नपुर्याउँदा अहिलेको समस्या देखिएको बताउँछन्।
‘विद्यालय शिक्षाको पुनर्संरचना हुनु अगावै शिक्षक कर्मचारीको पनि पुनर्संरचना गरिनुपर्ने हो,’ उनले भने, ‘कक्षा ११ र १२ का शिक्षकलाई विद्यालयले दानको भरमा पाल्नु परेको छ।’
मोफसलको मात्रै होइन, राजधानीको अवस्था पनि उस्तै रहेको गुनासो यहाँका प्रधानाध्यापकहरूले गरेका छन्।
‘संघीय सरकारले पालिकालाई ११ र १२ हेर्ने जिम्मा दिएको छ,’ कीर्तिपुरस्थित सहिद स्मारक कलेजका प्रधानाध्यापक मिलनमान महर्जनले भने, ‘तर कुनै निकायले समस्या समाधानमा ध्यान दिएका छैनन्। कक्षा ११ र १२ अभिभावक विहीन बनेको छ।’
शिक्षा तथा मानव श्रोत विकास केन्द्रको अघिल्लो वर्षको प्रतिवेदन अनुसार सामुदायिक विद्यालयमा कार्यरत शिक्षकहरु मावि तह (११–१२)मा स्थायी दरबन्दी शून्य छ। अस्थायी २ हजार र अनुदानतर्फ साधारण र प्राविधिक गरि चार हजार ८०४ शिक्षकलाई नेपाल सरकारबाट तलब भत्ता उपलब्ध गराइएको छ।
नेपाल शिक्षक महासंघकी अध्यक्ष कमला तुलाधर शिक्षक दरबन्दी अपुग हुँदाहुँदै कक्षा ११/१२ मा सात वटासम्म विषय पढाउनु पर्दा शिक्षक व्यवस्थापनमा समस्या भएको बताउँछिन्।
‘राज्य पक्षबाट कक्षा ११/१२ मा अध्ययनरत शिक्षकलाई सौतेनी व्यवहार भइरहेको छ,’ उनले भने, ‘यसरी सामुदायिक विद्यालयको गुणस्तरमा सुधार ल्याउन सकिँदैन। दरबन्दी अभाव हुँदा शिक्षण सिकाइमा प्रभाव परेको छ। मावि व्यवस्थापनको दायित्व लिएको सरकारले शैक्षिक गुणस्तरबारे तुरुन्त ध्यान दिन आवश्यक छ।’
शिक्षा विभागको गत वर्षको तथ्याङ्क अनुसार देशभरका माध्यमिक विद्यालयमध्ये ५ सय ४ मा एकजना शिक्षक पनि स्वीकृत तथा राहत दरबन्दी भएका छैनन्। कक्षा ११ र १२ सीमित अनुदान कोटाका भरमा चलेका छन्।
१५४७ शिक्षक माग
कक्षा १२ सम्मलाई विद्यालय शिक्षा भनिन्छ। तर पनि सरकारले ११ र १२ का लागि छुट्टै विज्ञापन गरेको छैन।
सरकारले संघीय शिक्षा ऐन निर्माण गर्न नसक्नु पनि शिक्षक दरबन्दीको समस्या समाधान नभएको सरोकारवालाको भनाइ छ।
मावि तहमा शिक्षक अभाव भएपछि यसपल्ट केन्द्रको सिफारिस अनुसार शिक्षक सेवा आयोगले माध्यमिक तहका लागि १५ सय ४७ शिक्षकको विज्ञापन आह्वान गरेको छ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता दीपक शर्माले शिक्षकको विज्ञापन आह्वान गरिए पनि पुरानै दरबन्दी अनुसार विज्ञापन खोलिएकाले अझै शिक्षक अभाव नटर्ने बताए।
‘२ हजार शिक्षकको दरबन्दी छ,’ उनले भने, ‘यो पहिलाकै दरबन्दी हो। केही घटबढ भएको छैन । ४ हजार राहत शिक्षक छन्। यसले कक्षा ११÷१२ लाई दरबन्दी अभाव अझै पूर्ति हुने देखिँदैन।’
मन्त्रालयको योजना तथा बजेट शाखा सहसचिव तुलसी थपलियाले कक्षा ११ र १२ विद्यालय तहमा पुनर्संरचना गरिए पनि शिक्षकको पुनर्संरचना समय लाग्ने बताए।
‘कक्षा ११ र १२ का शिक्षकको व्यवस्थापन गर्न केही समय लाग्छ,’ प्रमुख थपलियाले भने, ‘शिक्षक पुनर्संरचना गर्न आवश्यक छ।’
Shares
प्रतिक्रिया