ad ad

समाज


भारतको कारण घटे नेपाल आउने बंगलादेशी पर्यटक

भारतको कारण घटे नेपाल आउने बंगलादेशी पर्यटक

नेपालखबर
कात्तिक २८, २०७६ बिहिबार ३:२४,

अध्यागमन कार्यालय काँकडभिट्टाले नेपालको पूर्वी नाका हुँदै नेपाल भित्रिने बंगलादेशका पर्यटक घटेको जनाएको छ।

कार्यालयको तथ्याङ्क अनुसार १० वर्षअघि काँकडभिट्टा नाकाबाट वर्षेनी एघार हजारभन्दा बढी बङ्गलादेशी पर्यटक नेपाल आएको देखिन्छ भने अहिले त्यो सङ्ख्या ह्वात्तै घटेर दुई हजारभन्दा कम भएको छ।

काँकडभिट्टास्थित अध्यागमन कार्यालयका अनुसार सन् २०१९ को चालू नौ महिनामा यो नाका भएर एक हजार सात सय २७ जना बङ्गलादेशी पर्यटक नेपाल आएका छन्।

यो संख्या सन् २०१८ मा एक हजार ९५०, सन् २०१७ मा एक हजार ९६४ र सन् २०१६ मा दुई हजार थियो । तर, एक दशक अघिसम्म बङ्गलादेशी पर्यटकको आगमन दर उच्च थियो।

सन् २००४ मा ११ हजार १२७, सन् २००५ मा ११ हजार २१२, सन् २००६ मा ११ हजार ३१२ र सन् २००७ मा १२ हजार ५५३ बङ्गलादेशी पर्यटक काँकडभिट्टा नाकाबाटै नेपाल प्रवेश गरेको अध्यागमन कार्यालयको तथ्याङ्कमा देखिन्छ।

सन् २००८ मा भारतले मुम्बईमा भएको आतङ्कवादी हमलाको कारण जनाउँदै छिमेकी मुलुकको सीमाक्षेत्रमा आउजाउ र भिसा प्रक्रियामा कडाइ गरेको थियो । सोही वर्षदेखि नेपालमा आउने बङ्गलादेशी पर्यटक ह्वात्तै घटेको बताइएको छ।

नेपाल पर्यटन बोर्ड काँकडभिट्टाकी निमित्त प्रमुख सुस्मिता दाहालले भारतले भिसामा कडाइ गरेका कारण नेपाल आउने बङ्गलादेशी पर्यटकको सङ्ख्यामा कमी आएको बताइन्।

नेपालले बङ्गलादेशी नागरिकका लागि काँकडभिट्टा नाकामै ‘अन अराइभल भिसा’ सुविधा उपलब्ध गराएको छ। तर, बङ्गलादेशीहरु नेपाल आउनुअघि भारतीयस्थल नाका भएर काँकडभिट्टा आउनुपर्ने हुन्छ।

उनीहरुलाई भारत प्रवेश गर्न भिसा पाउन सहज छैन। भिसा सुविधा पाउनका लागि बङ्गलादेशीहरुले त्यहाँको राजधानी नै धाउनुपर्ने हुन्छ।

पछिल्लो समय आउने गरेका थोरै बङ्गलादेशी नागरिकहरु पनि आँखाको उपचारका लागि मात्र आउने गरेको र उनीहरु उपचार सकेर भरसक एकै दिनमा फर्किने गरेको अध्यागमन कार्यालय काँकडभिट्टाका प्रमुख जनक कोइरालाले बताए।

झापाको काँकडभिट्टामा रहेका तीन र विर्तामोडमा भएका तीन वटा आँखा अस्पतालमा बङ्गलादेशका नागरिक उपचारका लागि आउने गरेका हुन् । घुमफिरका लागि बङ्गलादेशीहरु यो नाका भएर खासै आउँदैनन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .