ad ad

समाज


चिनियाँ लामाको विवाद छानबिन गर्न समिति गठन

चिनियाँ लामाको विवाद छानबिन गर्न समिति गठन

नेपालखबर
मंसिर ३, २०७६ मंगलबार ८:५०,

विश्व सम्पदा सूचीमा सूचीकृत बौद्ध स्तुप क्षेत्रको बौद्ध घ्याङ गुठीका चिनियाँ लामाका विषयमा उठेको विवाद छानबिन गर्न पाँच सदस्यीय समिति गठन गरिएको छ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव रुद्रसिंह तामाङको संयोजकत्वमा गठन भएको समितिमा गृह, भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्रालयका प्रतिनिधि, गुठी संस्थान र पुरातत्व विभागका प्रतिनिधि सदस्य छन्। समितिलाई बौद्ध घ्याङ गुठीका चिनियाँ लामा विवादलगायत विषयमा छानबिन गर्ने जिम्मेवारी दिइएको समिति सदस्य एवं गुठी संस्थानका उपप्रशासक हरिप्रसाद जोशीले राससलाई जानकारी दिए।

संस्कृति मन्त्रालयले गठन गरेको बौद्धनाथ क्षेत्र विकास समितिको नेतृत्वमा बौद्ध क्षेत्रमा क्रियाशील संस्थाले हाल बौद्ध घ्याङ गुठीका चिनियाँ लामा भूपतिबज्र लामालाई बौद्ध क्षेत्र प्रवेशमै रोक लगाएपछि विवाद सार्वजनिक भएको थियो। चिनियाँ लामाको नागरिकतालगायत विषयमा पनि विवाद उठेको छ। विवादपछि बौद्धनाथ क्षेत्र विकास समितिलगायत संस्थाले पूर्णबहादुर लामालाई बौद्ध घ्याङ गुठीको पूजाआजा गर्ने गरी जिम्मेवारी दिएको थियो।

चिनियाँ लामाको विरोधमा संघर्ष समितिसमेत गठन गरिएको थियो। खड्गजीत लामाको संयोजकत्वमा दशैँअघि संघर्ष समिति बनाई विरोध भएको थियो। विरोधका क्रममा चिनियाँ लामालाई गुठी प्रवेशमा रोक लगाइएको थियो।

यसअघि भूमि मन्त्रालयका उपसचिव नीरज पौडेलको संयोजकत्वमा पनि बौद्धको चिनियाँ लामा विवाद सम्बन्धमा छानबिन गर्न समिति गठन भएको थियो। समितिले प्रतिवेदन दिन नसकेपछि अर्को समिति गठन गरिएको हो। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .