ad ad

समाज


तनाव बढ्दै गएपछि कोहलपुर निषेधित क्षेत्र घोषित

तनाव बढ्दै गएपछि कोहलपुर निषेधित क्षेत्र घोषित

नेपालखबर
मंसिर २२, २०७६ आइतबार १०:२७,

कोहलपुरमा एक बालिकालाई ट्रकले ठक्कर दिएपछि भएको आन्दोलनले उग्ररूप लिएको छ। आन्दोलनकारीले इलाका प्रहरी कार्यालय कोहलपुर परिसरभित्र रहेको चमेनागृहमा आगजनी गरेपछि निषेधित क्षेत्र घोषणा गरिएको छ। प्रहरी कार्यालय तोडफोड हुन थालेपछि प्रहरीले इलाका प्रहरी कार्यालय आसपासको क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरेको हो।

सहपाठीलाई ट्रकले किचेपछि आन्दोलनमा उत्रिएका विद्यार्थीमाथि प्रहरीले दमन गरेको भन्दै इलाका प्रहरी कार्यालय कोहलपुरमा तोडफोड तथा चमेनागृहमा आगजनी गरिएको हो। निषेधित क्षेत्र घोषणापछि आन्दोलन केही मत्थर बनेको छ । आन्दोलनमा एक दर्जनबढी विद्यार्थी र प्रहरी घाइते भएका छन्।

आन्दोलनकारीले प्रहार गरेको ढुंगा लागेर इलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी प्रमुख एवं प्रहरी नायब उपरीक्षक हेमबहादुर शाही पनि घाइते भएका छन्। घाइतेहरुको नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचार भइरहेको छ। अनियन्त्रित भिडलाई नियन्त्रणमा लिन यसअघि प्रहरीले हवाई फायरसमेत गरेको थियो।

आन्दोलनले उग्ररूप लिएपछि कोहलपुरमा प्रहरीले गोलीसमेत चलाएको थियो । गोली लागेर त्रिभुवन माध्यमिक विद्यालयमा कक्षा ९ मा पढ्ने सुशील थापा गम्भीर घाइते भएका छन्। अवस्था नियन्त्रण बाहिर गएपछि कोहलपुरमा ठुलो सङ्ख्यामा प्रहरी परिचालन गरिएको छ । तनावग्रस्त बनेपछि कोहलपुर बजार पूर्णरुपमा बन्द भएको छ।

अवस्था तनावपूर्ण बनेपछि कोहलपुरका उद्योगी व्यवसायीहरुले संयमता अपनाउन आग्रह गरेका छन्। कोहलपुरमा थप क्षति नहोस् भन्दै संयमता अपनाउन प्रहरी र आन्दोलनकारीलाई आग्रह गरिएको कोहलपुरका व्यवसायी देवानन्द अर्यालले जानकारी दिए। उनले कोहलपुरलाई थप क्षति हुनबाट जोगाउन संयमता अपनाउनुको विकल्प नभएको बताए।

त्रिभुवन माध्यमिक विद्यालय कोहलपुरमा कक्षा ७ मा अध्ययनरत बालिका प्रकृति चन्दको ट्रकको ठक्कर दिएपछि तनाव उत्पन्न भएको थियो।

आफ्ना बुवासँग मोटरसाइकलमा विद्यालय आएकी प्रकृतिलाई पछाडिबाट आएको ट्रकले ठक्कर दिएको थियो। विद्यालय प्रांगण नजिकै भएको दुर्घटनालगत्तै आक्रोशित बनेका विद्यार्थीले ट्रकमा आगजनी गरेका थिए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .