ad ad

समाज


देशभर वर्षा, बाढी-पहिरोबाट बच्न २४ घण्टे चेतावनी

देशभर वर्षा, बाढी-पहिरोबाट बच्न २४ घण्टे चेतावनी

फाइल तस्बिर


नेपालखबर
भदौ १२, २०७९ आइतबार ६:२९, काठमाडौँ

अहिले (आइतबार बिहान) देशैभर मौसम बदली भई धेरै स्थानमा वर्षा भइरहेको मौसमविद्ले बताएका छन्। 

मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् प्रतिभा मानन्धरका अनुसार देशका धेरैजसो स्थानमा अहिले हल्कादेखि मध्यम वर्षा भइरहेको हो।

काठमाडौं उपत्यकामा पनि  २ घण्टादेखि वर्षा भइरहेको जानकारी उनले दिइन्। ‘यो क्रम अझै केही समय रहन्छ’, उनले भनिन्। 

दिउँसो पनि देशभर सामान्य देखि पूर्ण बदली रहनेछ। बागमती प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका धेरै स्थान तथा बाँकी प्रदेशका केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। महाशाखाका अनुसार बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थान र बाँकी प्रदेशका एक दुई स्थानमा मेघगर्जन/चट्याङसहित भारी वर्षाको सम्भावना छ। 

‘सोमबार दिउँसोसम्म देशका विभिन्न स्थानमा भारी वर्षा हुने सम्भावना छ’, मौसमविद् मानन्धरले भनिन्। 

मौसम पूर्वानुमान महाशाखाले आइतबार बिहान ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसरा राति पनि देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदुर पश्चिम प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा मेघगर्जन/चट्याङसहित भारी वर्षाको सम्भावना छ। 

महाशाखाले आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श पनि जारी गरेको छ।  

जसमा भनिएको छ : बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित भारी वर्षाको सम्भावना र बाँकी प्रदेशमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेकाले उक्त प्रदेशका भूभागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम छ। साथै नदीनाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने र दैनिक जनजीवन/यातायात क्षेत्रसमेत प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .