ad ad

समाज


यसकारण बढ्दै छ डेंगुको प्रकोप, बिरामीले अस्पताल भरिँदै

यसकारण बढ्दै छ डेंगुको प्रकोप, बिरामीले अस्पताल भरिँदै

नेपालखबर
भदौ १५, २०७९ बुधबार ९:४१, काठमाडौँ

काठमाडौँ उपत्यकामा डेंगु ज्वरोका बिरामी दैनिक बढेको पाइएको छ। नेपालमा अहिले मुख्य काठमाडौँ, ललितपुर र रुपन्देही जिल्लामा सबभन्दा बढी डेंगुका बिरामी पाइएको छ। ती जिल्लाका अस्पतालमा डेंगुको उपचारका लागि बिरामीको चाप पनि बढेको छ।

विशेषगरी साँझ–बिहानको समयमा सक्रिय हुने मौसममा सफा र जमेको पानीमा बस्न ‘एडिज एजिप्टी र एडिस एल्बोपिक्टस’ प्रजातिको लामखुट्टेको टोकाइबाट डेंगु रोग लाग्छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा सञ्जयकुमार ठाकुरले साउनदेखि केही सहरमा डेंगुका बिरामी बढेको बताउँछन्। उनका अनुसार  ललितपुर, काठमाडौँ र रुपन्देहीमा डेंगुका बिरामी बढी छन्। ललितपुरमा एक हजार ५६, रुपन्देहीमा ३७७ र काठमाडौँमा ३३२ जना डेंगुका बिरामी भेटिएका छन्। 

अव्यवस्थित सहरीकरण पनि डेंगुका बिरामी बढेको उनी बताउँछन्। ‘अव्यवस्थित सहरले गर्दा घरवरपर खाल्डाखुल्डी तथा पानी जम्ने ठाउँ हुन्छन्’, उनले भने, ‘ती ठाउँबाट नै डेंगु रोग सार्ने जातको लामखुट्टेको विकास हुने गर्छ।’

पानी जम्ने सफा ठाउँमा एडिज एजिप्टी र एडिस एल्बोपिक्टस’ प्रजातिको लामखुट्टेले फुल पार्छ र ती फुल लार्भा निस्कन्छ र त्यही लार्भा वयस्क भएपछि टोकेर डेंगु रोग लाग्छ। 

उनले पानीट्याङ्की, गाडीको टायर, गमला घर नजिकको खाल्डाखुल्डीमा पानी जम्न दिन नहुने बताए। एसिबाट निस्केको पानी जमेपछि त्यही जमेको पानीमा लाखुट्टेले फुल पार्ने गरेको छ। मन्त्रालयका प्रवक्ता डा ठाकुरले डेंगु रोगको रोकथाम तथा नियन्त्रण सरकारले भन्दा पनि व्यक्तिगत रूपमा लाग्नुपर्ने बताउँछन्। 

आआफ्ना घरमा सरसफाइ गरेर पानी जम्न नदिने र घर वा बाहिर बस्दा शरीर पूरा ढाकिएको कपडा लगाउनुपर्ने उनको भनाइ छ। उनले डेंगु लागेपछि धेरै मानिसलाई लक्षण नदेखेर नै निको हुने बताए। 

‘अहिले गम्भीर बिरामीमा भने सेतो रगत कम हुने गर्दछ’ उनले भने,  ‘धेरैजसोलाई सिटामोल नै खाएर निको पार्न सकिन्छ।’

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका प्रमुख कल्सन्टेन्ट फिजिसियन डा विमल चालिसेका अनुसार अस्पतालमा डेंगुका बिरामी आउने क्रम बढेको छ। अस्पतालमा सामान्य लक्षणदेखि भर्ना गरेर उपचार गर्नेसम्मका बिरामी आउन थालेको उनले बताए। डा चालिसेका अनुसार अस्पतालमा दैनिक ३० देखि ३५ जना भर्ना भएर उपचार गर्ने खालका र आकस्मिक सेवामा दैनिक ६० देखि ७० जना बिरामी आइरहेका छन्। 

‘धेरैजसो बिरामी धेरै ज्वरो आउने, टाउको दुख्ने, जिउ दुख्ने, खाना मन नलाग्ने, बान्ता हुने, पखाला लाग्नेजस्ता लक्षण भएका बिरामी आउने गरेका छन्’, उनले भने, ‘उपचार गर्नका लागि अस्पतालमा आएका बिरामीलाई फर्काउने गरेका छैनौँ। अहिलेसम्म शैय्याको व्यवस्था गरेका छौँ। तर अहिलेको भन्दा बढी भएपछि समस्या हुनेछ।’ 

अस्पतालमा ७० शय्या र २४ सधन उपचार कक्ष (आईसीयू) छ। उच्च ज्वरो आउने, टाउको, आँखाको गेडी, ढाड, शरीर, घुँडाका जोर्नी दुख्ने, पिँडौलाको मासु दुख्ने आदि डेंगुका लक्षण हुन्। डेंगु ज्वरो सञ्चो हुने बेलामा शरीरमा राता दाग पनि देखा पर्छन्।

गम्भीर प्रकृतिको डेंगु सङ्क्रमण भएका बिरामीमा थकान महसुस हुने, गिजाबाट रगत बग्ने, पेट असाध्यै दुख्ने, बारम्बार बान्ता हुने, सास फेर्न गाह्रो हुने, पेट खुट्टा सुनिनेजस्ता लक्षण देखा पर्छन्। यस्ता लक्षण देखिएका बिरामीलाई भने तत्काल अस्पताल भर्ना गराउनुपर्छ। डेंगु रोग चार प्रकारका भए पनि अहिले नेपालमा कुन प्रकारको डेंगु देखिएको छ भन्नेमा अनुसन्धान भइरहेको छ। 

वीर अस्पतालका उपनिर्देशक डा प्रज्वल श्रेष्ठले अस्पतालमा कोरोना भाइरसका भन्दा डेंगुका बिरामी बढी रहेको बताए। उनका अनुसार अहिले वीरमा २४ जना डेंगुका बिरामी र २२ जना कोरोना भाइरसका बिरामी  छन्। 

‘वर्षायाम सकिने पछि एडिज एजिप्टी र एडिस एल्बोपिक्टस’ प्रजातिको लामखुट्टेले बढ्ने  गर्दछन्’, उनले भने, ‘तीनै प्रजातिका लामखुट्टैको टोकाइले डेंगु रोग लाग्दछ।’ उनले अहिले दैनिक चारदेखि पाँच जना आकस्मिक कक्षमा उपचार गर्न आउने गरेको बताए। 

स्वास्थ्य सेवा विभागको इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक डा चुमनलाल दासले साउन र भदौमा लामखुट्टेको सङ्ख्या वृद्धि हुने भएकाले काठमाडौँ उपत्यकासहित तराईमा डेंगुका बिरामीको संख्या बढेको बताए। 

उनले डेंगु नियन्त्रण गर्न लामखुट्टेको लार्भा खोजेर मार्नुपर्ने बताए।  ‘अहिलेको मौसममा लामखुट्टैका लार्भा धेरै नै उत्पादन हुने गर्दछ’, उनले भने, ‘पानी जम्न नदिनु, खाल्डाखुल्डी पुर्नु र साना साना पानी जम्ने ठाउँलाई नष्ट गर्नुपर्दछ।’

उनले डेंगु रोकथाम र नियन्त्रणका लागि काठमाडौँ उपत्यका जिल्ला स्वास्थ्य कार्यालय र स्थानीय तहलाई निर्देशन दिइरहेको बताए। उनका अनुसार देशभरिका १३९ स्थानीय तहमा डेँग रोकथाम र नियन्त्रण गर्न लार्भा नियन्त्रण र जनचेतना जगाउनका लागि बजेट विनियोजन गरिएको बताए। 

उपत्यकामा ललितपुरमा सबभन्दा बढी डेंगुका बिरामी देखिएका छन्। लामखुट्टे धेरै पाइने तराई–मधेश तथा पहाडी क्षेत्रमा डेंगुको सङ्क्रमण बढ्दै गएको छ। विशेष गरी जनघनत्व बढी भएका काठमाडौँ उपत्यका, पोखराजस्ता सहरमा डेंगुज्वरोका बिरामी बढिरहेका छन्। 

त्रिभुवन विश्वविद्यालय (त्रिवि) शिक्षण अस्पतालमा अहिलेसम्म ११ जना डेंगुका बिरामीले उपचार गराइसकेको अस्पतालका सूचना अधिकारी रामबिक्रम अधिकारीले जानकारी दिए। उनले अस्पतालमा कोरोना भाइरसका बिरामी घटेसँगै डेंगुका बिरामी बढेको बताए। 

नेपालमा सन् २००४ मा पहिलोपटक डेंगुको बिरामी फेला परेको थियो। सन् २००४ मा एक जनामा डेंगु देखिएको थियो। त्यसयता डेंगुको सङ्क्रमण देखिएको हो। 

सन् २००६, २०१०, २०१२, २०१३, २०१७ र २०१९ मा डेंगु बढेको पाइन्छ। सन् २०१९ मा १७ हजार ९९२ जनामा डेंगुका बिरामी देखिएका थिए। तराई–मधेशमा बढी देखिने डेंगु २०१८ पछि भने पोखरा, काठमाडौँजस्ता पहाडी सहरमा पनि देखापर्यो। उपत्यकामा लामखुट्टे बढेको र डेंगुका बिरामी पनि उपत्यका प्रवेश गरेका र ती बिरामीबाट अन्य मानिसलाई लामखुट्टेले रोग सार्ने गरेकाले उपत्यकामा डेंगुका बिरामी बढी देखिएका हुन्। 

निजामती कर्मचारी अस्पतालले डेंगुबाट बच्न सबै शय्यामा रहेका बिरामीलाई झुल प्रयोग गर्न निर्देशन दिएको छ। इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका भेक्टर कन्ट्रोल निरीक्षक उत्तमराज प्याकुरेलका अनुसार अहिलेसम्म दुई हजार आठ सय २७ जनामा डेंगुका बिरामी फेला परेका छन्। प्रदेश नं १ मा दुई सय एक जना, मधेश प्रदेशमा ५८ जना, बागमती प्रदेशमा १ हजार ६ सय ९७ जना, गण्डकी प्रदेशमा ७८ जना, लुम्बिनी प्रदेशमा ६ सय ६६ जना, कर्णाली प्रदेशमा ३९ जना र सुदुरपश्चिम प्रदेशमा ८८ जनामा डेंगुका बिरामी छन्। 

दस जिल्लामा बढी डेंगुका बिरामी
डेंगुका बिरामी सबभन्दा बढी १० जिल्लामा छन्। ललितपुरमा एक हजार ५६, रुपन्देहीमा तीन सय ७७ जना, काठमाडौँमा तीन सय ३२ जना, तेह्रथुममा ७७ जना, धादिङमा ७६ जना, सिन्धुली ६१ जना, सङखुवासभा र भक्तपुरमा ५७ जना, अर्धाखाचीमा ५१ र गुल्मीमा ४९ जना बिरामी भेटिएका छन्। 

एकैठाउँ जमेर रहेको सङ्लो पानीमा डेंगु सार्ने लामखुट्टेले अन्डा पार्ने गर्छ। त्यसैले धेरै समय बाहिर खुला रूपमा पानी राख्न हुँदैन। डेंगुको रोकथाम गर्नु भनेको लामखुट्टेको टोकाइबाट बच्नु हो। साँझ–बिहान लामखुट्टेको टोकाइबाट बच्न सतर्क रहनुपर्छ। घरमा जालीढोका लगाउने, झुल टाँगेर सुत्ने, साँझ–बिहान सकेसम्म बाहिर ननिस्कने तर निस्कनै परे लामा बाहुला भएका लुगा लगाउने वा लामखुट्टे भगाउने क्रिम लगाएर हिँड्ने गर्नुपर्छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .