ad ad

समाज


चितवनमा एकै दिन पाँच दुर्घटना, ६३ घाइते

चितवनमा एकै दिन पाँच दुर्घटना, ६३ घाइते

नेपालखबर
मंसिर २७, २०७६ शुक्रबार १४:५९,

सिमसिम पानी परेसँगै ठाउँठाउँमा सवारी दुर्घटना हुँदा ६३ जना घाइते भएका छन्। बिहीबार राति १०ः४५ बजे यता भएका पाँच सवारी दुर्घटनामा ती व्यक्तिहरु घाइते भएका हुन्।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता एकनारायण कोइरालाका अनुसार आज दिउँसो भरतपुरको मालपोत चोकमा स्कुटर र मोटरसाइकल एक आपसमा जुध्दा मोटरसाइकल चाकल गम्भीर घाइते भएका छन्। उनको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ। ना३प ४६९० नम्बरको स्कुटर र ना२८प ४४४० नम्बरको मोटरसाइकल एक आपसमा जुधेको थियो।

त्यस अघि दिउँसै कुरीनटारमा यात्रुवाहक बस पल्टिँदा आठ जना घाइते भएका छन्। कोइरालाका अनुसार काठमाडौँबाट बुटवलका लागि आउँदै गरेको लु२ख १५७९ नम्बरको यात्रुबाहक बस इच्छाकामना–४ कुरीनटारमा अनियन्त्रित भई पल्टिएको थियो। घाइतेमध्ये एक जनाको पुरानो मेडिकल कलेज र अन्य सात जनाको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ। घाइते सबैको अवस्था खतरा मुक्त रहेको छ।

त्यसअघि बिहान इच्छाकामना गाउँपालिका–४ कुरीनटारमा चार सवारी साधन ठक्कर खाँदा ६ जना घाइते भएका छन्। फिस्लिङ्बाट मुग्लिनतर्फ आउँदै गरेका दुईवटा यात्रु बोकेको चार पाङ्ग्रे सवारी साधन म्याजिक र दुईवटा स्कारपियो बाटो पार गर्ने क्रममा ठोकिँदा उनीहरु घाइते भएका हुन्। उनीहरुको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ । बिहानै राप्ती नगरपालिका–६ हर्दीमा बा३ख ८४९० नम्बरको बस आफैँ अनियन्त्रित भई पल्टिँदा १८ जना घाइते भएका छन्।

वीरगञ्जबाट नारायणगढतर्फ आउँदै गरेको सो बस अनियन्त्रित भई सडकबाट केही तल बारीमा पुगेको थियो। उनीहरुमध्ये आठ जनाको चितवन मेडिकल कलेज र १० जनाको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ।

यसैगरी बिहीबार राति बाराबाट काठमाडौँ जाँदै गरेको यात्रुवाहक बस अनियन्त्रित भई पल्टिँदा २२ जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार ना७ख ४७५५ नम्बरको बस रत्ननगर नगरपालिका–२ टाँडीमा अनियन्त्रित भई पल्टिएको हो।

घाइतेमध्ये १८ जनाको रत्ननगर बकुलहर अस्पताल र चार जनाको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक दानबहादुर मल्लले चिप्लो बाटोमा समेत तीव्र गतिमा सवारी चलाएका कारण दुर्घटना बढी भएको बताए। राजमार्ग क्षेत्रका ठाउँठाउँमा सुरक्षा जाँच गरी सवारी तीव्र नहाक्न चालकहरुलाई अनुरोध गरिएको उनले जानकारी दिए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .