ad ad

समाज


हिमालै नरहे के रहौँला र हिमाली मान्छेहरु!

हिमालै नरहे के रहौँला र हिमाली मान्छेहरु!

वाशुदेव मिश्र
मंसिर २९, २०७६ आइतबार ६:५,

हिमालपारिको जिल्ला मुस्ताङकी बासिन्दा हुन्, लक्ष्मी गुरुङ। कागबेनी गाउँकी उनले सानो छँदा मंसिरमा फूल फुलेको कहिल्यै देखिनन्।

‘हाम्रो कागबेनीमा नोभेम्बर, डिसेम्बर (मंसिरतिर) केही फुल्दैन, अहिले भने सयपत्री फुलेको छ’, पोखरामा आयोजित जलवायु परिवर्तनसम्बन्धी एक कार्यक्रममा सहभागी हुँदै गर्दा उनले सुनाइन्, ‘अहिले हामी माथि बस्ने मान्छेले दिनदिनै नयाँ चिज देखेको हुन्छ, हाम्रोतिर उवा–फापर पनि उम्रन्छ कि उम्रन्नँ भन्ने पो भएको छ।’

हिमाली क्षेत्रमा उत्पादन हुने अन्नबाली नै त्यहाँको जीवनको प्रमुख स्रोत भएकोमा जोड दिँदै उनले पानी पर्ने सिजन नै परिवर्तन हुँदा त्यो क्षेत्रको दैनिकी पनि बदलिएको बताइन्। पढेकी र पढेभन्दा पनि परेरै जानेकी उनले जलवायू परिवर्तनले हिमाली पर्यटनलाई पारेको प्रभावबारे आफ्नै लवजमा व्याख्या पनि गरिन्।

‘अघिल्लो वर्ष हाम्रोमा (हिमाली क्षेत्रतिर) हिउँ पर्दा सयौँ जनावर मरे, २०४ मा आँधीले पर्यटक मरे। अघिल्लो वर्ष बढी पानी पर्दा कालीगण्डकीको पुल नै भत्कायो’, उनी भावुक बन्दै अघि भनिन्, ‘हिमाल हाम्रो जीवनसँग जोडिएको छ, हिमाल नरहे के हिमाली मान्छे रहौँला र?’

पोखरामा आयोजित जलवायू परिवर्तन, पर्वतीय वातावरण र मानव जातिको भविष्य विषय कार्यक्रममा बोल्दै गर्दा उनले देखेको र भोगेको कुरा बोलिन्। उनले उपल्लो मुस्ताङका माटोका घरहरु अब रहने हुन् कि नरहने हुन् भन्नेमा नै शंका लागेको बताइन्।

उपल्लो मुस्ताङ माटोको संरचनाले जीवन्त भएको बताउँदै थपिन्, ‘त्यहाँका माटोका घरहरु रहेनन् भने के होला?’ उनीपछि मञ्चमा झुल्किएका शेषकान्त शर्मा झन भावुक भए। सन् १९८९ अर्थात् आजभन्दा करिब ३० वर्षअघिदेखि पदयात्रा प्रदर्शक बनेका उनले भने, ‘म पर्वत र पहाडले मोहनी लगाएर यो पेशामा थामिएको मान्छे तर अहिले हिमालहरु पहिलेका जस्ता छैनन्।’ उनले आफूले यात्राका क्रममा खिचेका फोटोहरु देखाउँदै अन्नपूर्ण आधार शिविरमा रहेका हिउँझरना करिब ५ सय मिटर माथि उक्लेको तथा हिमतालको आकार बढेको सुनाए।

‘यतिबेला धौलागिरि हिमश्रृंखलामा पर्ने धेरै हिमालहरुमा हिउँ नै छैन, पिसाङमा अहिले हिउँ देखिँदैन, सयौँ हिमझरनाहरु सुकेका छन्’, उनले भने, ‘म यही सिजनमा डोल्पाबाट २३ दिनमा मुस्ताङ निस्केँ, २३ दिन नै पानी प¥यो, मसँग गएको पर्यटकले पनि भन्यो कि हिमालतिर किन पानी प¥यो?’ उनले हिमाली क्षेत्र फोहरले कुरुप बनेको बताउन पनि भुलेनन्।

च्युरा तरकारी खाएर गरिने पदयात्रामा यतिबेला चाउचाउ र प्लाष्टिकमा हालिएका खानेकुरा चलाउँदा पनि समस्या भएको उनले सुनाए। उनको कुरापछि आएका गुल्मीका शेषनाथ पौडेलले कहिल्यै पहिरो नजाने गाउँमा एक्कासी पहिरो आउन थालेको कथा सुनाउँदै पछिल्लो समय आरीबाट पानी घोप्ट्याएजस्तो गरि पानी पर्न थालेको किन होला? भन्ने प्रश्न गरे।

कार्यक्रमको सहजीकरण गर्दै परराष्ट्र मामिलाका डा. रुपक सापकोटाले वातावरणीय परिवर्तनले पारेको प्रभावले साना मान्छेको जीवनमा पारेको प्रभावबाटै यसले निम्त्याउने भयावह स्थितिको आँकलन गर्न सकिने बताए।

कार्यक्रममा बोल्दै गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले अतिवृद्धि, अनावृष्टिले पार्ने खाद्य संकटको प्रभाव कम गर्न हाम्रा रैथाने बीउ जोगाउनुपर्ने धारणा राखे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .