ad ad

समाज


सन्दीपविरुद्धको मुद्दामा आज पनि थुनछेक, बहस किशोरीको उमेरमा केन्द्रित

सन्दीपविरुद्धको मुद्दामा आज पनि थुनछेक, बहस किशोरीको उमेरमा केन्द्रित

फाइल तस्बिर।


नेपालखबर
कात्तिक १७, २०७९ बिहिबार ९:९, काठमाडौँ

सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दामा बिहीबार पनि थुनछेक बहस हुने भएको छ। जिल्ला अदालत काठमाडौंमा सोमबार अभियोग पत्र दर्ता भएपछि मंगलबार सन्दीपको बयान गराइएको थियो। 

बुधबारदेखि नै थुनछेक बहस सुरु भएको हो। लामिछानेका तर्फबाट कानुन व्यवसायी धेरै भएकाले बहस लम्बिएको छ। बिहीबार बहस सकिए आदेश आउनेछ। 

पीडितको तर्फबाट जिल्ला सरकारी वकिल कार्यालयका चार जना वकिलले बहस गरेका छन्। यस्तै निजी चार कानुन व्यवसायीले पनि पीडित किशोरीको पक्षबाट बहस गरेका छन्। जिल्ला न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासमा सुनुवाई भइरहेको हो। बिहीबार सन्दीप लामिछानेका कानुन व्यवसायीले बहस गरेका छन्। यसअघि बुधबार सन्दीपका तर्फबाट दुई जना कानुन व्यवसायीले बहस गरेका थिए।

पीडित पक्षका कानुन व्यवसायीले बलात्कार भएको दाबी गरेका छन्। सन्दीपका कानुन व्यवसायीले भने बलात्कार नभएको र किशोरीको उमेर पनि १९ वर्ष पुगेको जिकिर गरेका छन्। यसअघि नागरिकताका आधारमा किशोरीको उमेर १८ वर्ष मात्रै रहेको दाबी गरिएको थियो। 

सन्दीप पक्षले भने किशोरीको उमेर १९ वर्ष रहेको प्रमाण पेश गरेको छ। सन्दीप पक्षले किशोरीको उमेर १९ वर्ष रहेको जन्मदर्ता, बसाईसराइको प्रमाण पत्र र सुरुमा विद्यालयमा भर्ना हुँदाको प्रमाण पेश गरेको छ। जसअनुसार किशोरीको उमेर १९ वर्ष पुगेको देखिन्छ। 

१८ वर्षभन्दा कम उमेर भए सहमतीमै भएको करणीलाई पनि बलात्कार मानिने भएकाले अदालतमा बहस उमेरमा केन्द्रित भएको छ।  

सन्दीप पक्षको बहस सकिए उनलाई थुनामा पठाउने वा थुनाबाहिर राखेर मुद्दाको टुंगो लगाउने भन्ने आदेश हुनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .