ad ad

समाज


आज चन्द्रग्रहण, कुन राशिलाई कस्तो फल?

आज चन्द्रग्रहण, कुन राशिलाई कस्तो फल?

फाइल तस्बिर


नेपालखबर
कात्तिक २२, २०७९ मंगलबार ७:१७, काठमाडौँ

कार्तिक शुक्ल पूर्णिमा अर्थात् आज (कात्तिक २२ गते) ग्रस्तोदित खग्रास चन्द्रग्रहण लाग्दैछ। 

साँझ ०५:११ बजे चन्द्रोदय हुँदादेखि नै ग्रहण लागेर नै उदय हुने भएकाले ग्रस्तोदित चन्द्रग्रहण भनिएको हो।

ग्रहणले पूरै चन्द्रमा ढाक्ने भएकाले खग्रास भनिएको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले प्रकाशन गरेको ‘राष्ट्रिय पञ्चाङ्गम्’ मा उल्लेख छ। साँझ ५:१३ बजे सूर्यास्त भएपछि ग्रहण स्पष्ट रुपमा देखिने छ। 

साँझ ५:२७ बजे ग्रहणको उन्मिलन हुने समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेलले बताए। साँझ ६:३४ बजे ग्रहण सकिन्छ। एक घण्टा २३ मिनेट नेपालबाट ग्रहण देखिनेछ। चन्द्रग्रहणको नौ घण्टाअघिदेखि सुतक लाग्ने धर्मशास्त्रका ग्रन्थमा उल्लेख गरिएको धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतमले बताए। 

आज बिहान ८:११ बजेदेखि बाल, वृद्ध र बिरामी बाहेकलाई भोजन निषेध गरिएको छ। बेलुकी ०६:३४ बजे ग्रहण सकिएपछि मात्र भोजन गर्न हुने पनि उनले बताए। ग्रहणका बेला जप, स्नान, ध्यान, पाठलगायत कर्म गर्दा फलदायी हुने शास्त्रीय वचन छ। यो ग्रहण जापान, कोरिया, चीन, भारत, क्यानडा, अलास्का आदि देशबाट खग्रास चन्द्रग्रहण देखिने छ। नेपाल, भारत, पाकिस्तान, आदि देशबाट भने साँझमा चन्द्रमा उदाउँदा ग्रहण लागिरहेको देखिनेछ। 

यसैबीच आज लाग्ने ग्रस्तोदित खग्रास चन्द्रग्रहण भरणी नक्षत्र र मेष राशिका व्यक्तिलाई अति कष्टदायक रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ। 

चन्द्रग्रहण मेष राशिलाई घात, वृष राशिलाई व्यय, मिथुन राशिलाई लाभ, कर्कट राशिलाई सुख, सिंह राशिलाई माननाश, कन्या राशिलाई कष्ट फल दिने योग रहेको समितिले प्रकाशन गरेको ‘राष्ट्रिय पञ्चाङ्गम्’मा उल्लेख गरिएको छ।

यसैगरी तुला राशिलाई स्त्रीपीडा, वृश्चिक राशिलाई सुख, धनु राशिलाई चिन्ता, मकर राशिलाई व्यथा, कुम्भ राशिलाई श्रीप्राप्ति र मीन राशिलाई क्षतिको फल मिल्ने पनि उल्लेख गरिएको समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेलले जानकारी दिए।

यसअघि कात्तिक ८ गते मङ्गलबार कार्तिक कृष्ण औँसीका दिन सूर्यग्रहण लागेको थियो। यसरी यो वर्षको कात्तिक महिनाका दुवै पक्षमा ग्रहण लाग्ने समितिले जनाएको छ। राससको सहयाेगमा

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .