ट्राफिक प्रहरीले अवस्था ठिक नभएका र धुँवा बढी फाल्ने १८ वटा सवारी साधनका चालकलाई कारबाही गरेको छ।
काठमाडौं उपत्यकाको कालिमाटी, कीर्तिपुर, बल्खु, सानेपा र सुकेधारामा आज गरिएको सवारी साधनको विशेष यान्त्रिक चेकिङका क्रममा ति सवारी साधन कारबाहीमा परेका हुन्।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका सह–प्रवक्ता प्रहरी उपरीक्षक अवदेश बिष्ट क्षेत्रीका अनुसार धुँवा बढी फाल्ने ११ वटा सवारी साधनलाई यातायात व्यवस्था कार्यालय एकान्तकुना र यान्त्रिक अवस्था ठिक नभएका ७ वटा सवारी साधनलाई सवारी परीक्षण कार्यालय टेकु’ पठाइएको छ।
अवस्था ठिक नभएका ५ वटा सवारी साधनको भने थप यान्त्रिक परीक्षण गर्नु पर्ने भएकाले ट्राफिक प्रहरी प्रभाग कीर्तिपुरले नियन्त्रणमा राखेको छ।
अवस्था ठिक नभएको सवारी साधन चलाउँदा यात्रुको जीवन जोखिममा पर्ने र सवारी दुर्घटना पनि बढ्ने भएकाले सम्भावित जोखिम कम गर्न ट्राफिक प्रहरीले पछिल्लो समय सवारी साधन चेकिङलाई तिव्रता दिएको जनाएको छ।
सम्पूर्ण यातायात व्यवसायी, सवारी धनी तथा चालकलाई सवारी साधन ठिक अवस्थामा राखेर सञ्चालन गर्न प्रहरी उपरीक्षक क्षेत्रीले आग्रह गरे।
त्यस्तै, बम्पर गार्ड नहटाएका २२३ वटा र ठूलो आवाज निकाली ध्वनी प्रदुषण गर्ने ३ वटा मोटरसाइकलका चालकलाई पनि ट्राफिक प्रहरीले आजै कारबाही गरेको छ।
Shares
प्रतिक्रिया