यतिबेला (आइतबार बिहान) देशका पहाडी भेगमा आंशिकदेखि सामान्य बदली (आकाशमा बादल) रही तराई क्षेत्रमा हुस्सु÷कुहिरो लागिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाले जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार आज दिउँसो प्रदेश १, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भेगमा आंशिकदेखि सामान्य बदली रही बाँकी स्थानमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १ र गण्डकी प्रदेशका पहाडी भेगका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना छ। प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी भेगका एक दुई स्थानमा हल्का हिमपातको पनि सम्भावना छ।
बुलेटिनअनुसार राति प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भेगमा आंशिकदेखि सामान्य बदली रही बाँकी स्थानमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी क्षेत्रका एक दुई स्थानमा हल्का हिमपातको पनि सम्भावना छ।
महाशाखाले आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श पनि जारी गरेको छ।
जसमा भनिएको छ : प्रदेश १ र गण्डकी प्रदेशको पहाडी भूभागका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहने र प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशको उच्च पहाडी भूभागको एक दुई स्थानमा हल्का हिमपातको पनि सम्भावना रहने तथा तराईका केही भूभागमा बिहानीपख हुस्सु/कुहिरो लाग्ने तथा देशका अधिकांश भूभागमा तापक्रम क्रमिक रूपमा घट्दै जाने सम्भावना रहेको हुनाले चिसोबाट बच्न आवश्यक सावधानी अपनाउन हुन अनुरोध छ।
यसैबीच आज बिहान ५:४५ बजेको मापनअनुसार काठमाडौ्रँ उपत्यकाको न्यूनतम तापक्रम ७.४ डिग्री सेल्सियस रहेको मौसमविद् बिनु महर्जनले जानकारी दिइन्।
Shares
प्रतिक्रिया