क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्ट जन्मेको दिनको सम्झनामा आज यस समुदायले क्रिसमस डे मनाउँदै छन्।
आजभन्दा दुई हजार २२ वर्षअघि डिसेम्बर २५ तारिखका दिन येशु ख्रिस्टको जन्म इजरायलको वेथलेहेममा भएको थियो। पवित्र आत्माबाट गर्भवती भई कुमारी मरियमबाट जन्मिएका येशु ख्रिस्टले तीन मुख्य खुसीयाली दिएको नेपाल ख्रिस्टियन महासङ्घका अध्यक्ष सीबी गहतराजले जानकारी दिए। उनले मुक्ति, प्रेम र शान्ति दिएको विश्वासमा क्रिश्चियन समुदायले आजको दिनलाई तीनवटै दिवसका रूपमा मनाउने गरेका छन्।
मानिसलाई प्रेम गरेर आएकाले प्रेम दिवस, शान्ति स्थापना गर्न आएकाले शान्ति दिवस र मुक्ति दिन आएकाले मुक्ति दिवसका रूपमा आजको दिनलाई मनाउने गरिएको उनले बताए। विश्वका धेरै मानिसले मनाउने क्रिसमस डे नेपालमा भने विसं २०६३ पछि महासङ्घले महोत्सवका रूपमा मनाउन थालेको हो।
दिवसका अवसरमा २०६३ देखि २०७४ सम्म सार्वजनिक बिदा दिइएको थियो। विसं २०७५ देखि २०७७ सम्म भने क्रिश्चियन धर्मावलम्बीलाई मात्र बिदा दिइएको थियो। विसं २०७८ देखि भने यस अवसरमा फेरि सबैलाई सार्वजनिक बिदा दिन थालिएको छ।
हाल नेपालमा ३० लाख क्रिश्चियन धर्मावलम्बी रहेको महासङ्घको दाबी छ। तेह्र हजारभन्दा बढी चर्च बनिसकेको पनि महासङ्घले बताइरहेको छ। महासङ्घ मूल समारोह समितिको आयोजनामा आज दिउँसो क्रिसमस महोत्सव २०७९ आयोजना गरिएको जनाइएको छ। कार्यक्रममा सरकारका प्रतिनिधि, मानवअधिकारवादीलगायतको उपस्थिति रहने अध्यक्ष गहतराजले जानकारी दिए।
पछिल्लो समय मुख्य सहरका प्रमुख स्थलमा क्रिसमस ट्री सजाउने गरेको देखिन्छ। विशेषगरी क्रिश्चियन समुदायका विदेशी पर्यटकलाई आकर्षित गर्न साज सज्जा गरिएको छ। पर्यटकीय क्षेत्र ठमेल, बौद्ध, पोखरा, सौराहालगायत स्थलमा क्रिसमसको रमझम बढी देखिएको छ। रासस
Shares
प्रतिक्रिया